ad ad

समाज


कर्णाली राजमार्ग अवरुद्ध : जुम्लाबाट ल्याइएको ४५ ट्रक स्याउ ५ दिनदेखि बाटोमै अलपत्र (तस्बिरहरू)

कालिकोटमै रोकियो १ सय ७ टन स्याउ
कर्णाली राजमार्ग अवरुद्ध : जुम्लाबाट ल्याइएको ४५ ट्रक स्याउ ५ दिनदेखि बाटोमै अलपत्र (तस्बिरहरू)

दिनेश बुढा
भदौ १६, २०८१ आइतबार १५:४७, सुर्खेत

गत बुधबार (भदौ १२) राती परेको अविरल वर्षापछि आएको पहिरोले कर्णाली राजमार्गका विभिन्न क्षेत्रमा सडक अवरुद्ध बनेको छ। कर्णाली राजमार्गको दैलेख–कालिकोटका अधिकांश स्थानहरूमा सडक अवरुद्ध भएको हो।

बाढीपहिरोले राजमार्ग अवरुद्ध हुँदा जुम्लाबाट बेच्नका लागि ल्याइएका स्याउका करिब ४५ ट्रक ५ दिनदेखि अलपत्र परेका छन्। 

जिल्ला प्रहरी कार्यालय कालिकोटका अनुसार, कालिकोटको खाडाँचक्र नगरपालिका–३ मा कर्णाली राजमार्ग अन्तरगत ताडी बसपार्कमा ४५ स्याउका ट्रक अलपत्र परेका हुन्। 

जिल्ला प्रहरी कार्यालय कालिकोटका प्रवक्ता एवं प्रहरी निरीक्षक पोषण थापाले जुम्लाबाट बजारमा पठाउनका लागि आएका स्याउका ४५ ट्रक कालिकोटमै रोकिएका जानकारी दिए।

‘गत बुधबारदेखि अवरोध सडक खुलाउने प्रयास भइरहेको छ। खाडाँचक्र नगरपालिका–३ को ताडीमा जुम्लाबाट आएका स्याउका ४५ मिनीट्रक रोकिएका छन्। एक/दुई दिनमा बाटो बनेपछि सुर्खेततर्फ जान्छन्,’ उनले भने।

साथै, प्रहरी निरीक्षक थापाले स्याउ हालसम्म नबिग्रिएका र केही स्याउ त्यहाँका स्थानीयहरूले किनेर खाने गरेका छन्।

प्रहरी निरीक्षक थापाकाअनुसार ताडीमा जम्मा रोकिएका ४६ ट्रकमा ४५ ट्रक स्याउका, जुम्ला र मुुगुबाट आएका ६ वटा बस चार दिनदेखि रोकिएका छन्। 

१०७ टन स्याउ अलपत्र
यस्तै, कालिकोटमा अलपत्र परेका स्याउ १०७ टन (करिब सात करोड बराबरको) रहेको कृषि विकास कार्यालय जुम्लाले जनाएको छ। 

कृषि विकास कार्यालय जुम्लाका कार्यालय प्रमुख बालकराम देवकोटाले जुम्ला जिल्लाका विभिन्न स्थानीय पालिकाबाट लोड गरेर पठाइएका स्याउ १०७ टन र करिब सात करोड मूल्य बराबरको रहेको जानकारी दिए। 

उनका अनुसार, ती ४५ ट्रकमा बोकेका स्याउमा जुम्लाको सिंजा गाउँपालिका, हिमा गाउँपालिका, तातोपानी गाउँपालिका, तिला गाउँपालिका, कन्कासुन्दरी गाउँपालिकाका विभिन्न ठाउँका रहेका छन्। 

‘जुम्लाका सबै पालिकामा स्याउ उत्पादन हुन्छ। यहाँको स्याउ सुर्खेत, नेपालगञ्ज, बुटवल, चितवन, विराटनगर, काठमाडौँमा पुग्छ,’ प्रमुख देवकोटले भने, ‘प्राय जुम्लाका स्याउ तराईका सबै ठाउँमा जान्छ। हालसम्म सात करोड बढीको स्याउ बाहिरिएको छ।’

यस्तै, प्रमुख देवकोटाले एक हप्तासम्म स्याउ नबिग्रिने बताए।

‘स्याउ तत्काल कुहिँदैन। तर, गुणस्तरहीन कार्टुन प्रयोग भएको हुन्छ। हामीले गुणस्तरीय कार्टुन प्रयोग गर्न सुझाव दिएपनि किसानहरुले आफ्नै तरिकाले प्याकिङ्ग गर्नुभएको हुन्छ। सस्तो खालको कार्टुन प्रयोग भएपछि स्याउ छिटो बिग्रिन्छ,’ उनले भने। 

यसवर्ष जुम्लामा १४ हजारदेखि १५ हजार मेक्ट्रिटन स्याउ उत्पादन हुने अनुमान गरिएको बताए। भदौ महिनादेखि असोज दोस्रो हप्तासम्म स्याउ टिपेर जुम्लाको सकिन्छ। 

एकतर्फी सडक सञ्जाल 
गत बुधबारदेखि अवरुद्ध कर्णाली राजमार्गको दैलेख–कालिकोट खण्डको विभिन्न ठाउँको पहिरो हटाएर एकतर्फी सकडक सञ्चालनमा आएको छ। 

सडक डिभिजन कार्यालय जुम्लाले कालिकोट–दैलेखकोबीचमा आएको पहिरोले अवरुद्ध सडक एकतर्फी खुलेको जनाएको छ। 

कार्यालय प्रमुख इन्जिनियर चेतनकुमार मण्डलले कालिकोट जिल्लाको खाँडाचक्र नगरपालिका–२ हुल्म बजारदेखि कालिकोट जिल्लाकै शुभकालिका गाउँपालिका–१ गगनेखोला, शुभकालिका–१ कै गगने र दही खोलासम्म सानो गाडीहरु जाने एकतर्फ बाटो खुलाएको जानकारी दिए। 

उनका अनुसार, यी विभिन्न ठाउँमा सडक भास्सिएको, खोलाले सडकलाई कटान गरेको, पहिरोले सडक पुरेका कारण सडक अवरुद्ध भएको थियो।

तीन दिनसम्म लागेर सडक डिभिजन कार्यालय जुम्लाले हेभी इक्वीपमेन्टहरूको प्रयोग गरेर बाटो खुलाएको हो। 

यस्तै, कर्णाली राजमार्ग अन्तर्गत दैलेख जिल्लाको आठबीस नगरपालिका–७ मालचौरमा लेदोसहितको पहिरो खसेर १२ गते बेलुकादेखि अवरोध बनेको सडकको शनिबारदेखि सडक डिभिजन कार्यालय बाटो खुलाउने कार्य अगाडि बढाएको छ। 

कर्णाली राजमार्ग अन्तर्गतको दैलेख र कालिकोटका विभिन्न ठाउँमा पहिरो खसेर सडक अवरुद्ध बन्दा यात्रुहरूले सास्ती पाएका छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .