सामाजिक शिक्षा विषय शिक्षकबाट प्रेरित भएर शिक्षण पेसा रोजेकी अञ्जु लामा माध्यमिक तह अंग्रेजी विषय शिक्षक हुन्। एक दशकअघि शिक्षक सेवा आयोग पास गरेर स्थायी शिक्षक भएकी लामा ज्ञानोदय माध्यमिक विद्यालय, काठमाडौँमा पढाउँछिन्।
महेन्द्र माध्यमिक विद्यालय, भीमफेदीमा कक्षा ६ मा पढ्दै गर्दा एक दिन शिक्षकले भविष्यमा के बन्ने हो भनेर सोधेपछि उनले आफू पनि शिक्षक बन्ने जवाफ दिइन्। विद्यालयमा अरु शिक्षकहरू पनि थिए। तर सामाजिक शिक्षकलाई नै उनले रोलमोडल ठानिन्।
‘महेन्द्र माध्यमिक विद्यालय, भीमफेदीमा सानुमाया मिस राम्रो पढाउनुहुन्थ्यो र धेरै माया गर्नुहुन्थ्यो। उहाँप्रति छुट्टै खालको सम्मान जाग्थ्यो,’ लामा भन्छिन्।
स्थायी भएर ज्ञानोदय मावि आउनुअघि उनले भीमफेदीमा निजी स्रोत र राहत दरबन्दीमा ८/९ वर्ष शिक्षण गरिन्। अञ्जु लामा आफ्नो पेसामा रमाएकी छन्। खुसी छिन् र गर्व गर्छिन्।
उनी भन्छिन्, ‘विद्यार्थीसँग अन्तर्क्रिया गर्दा मलाई रमाइलो लाग्छ। कक्षाकोठामा जानेबित्तिकै आफ्ना समस्या नै भुल्छु। पढाइमा कमजोर तर अरु क्षेत्रमा विद्यार्थी राम्रो हुन सक्छन्। तिनलाई प्रेरित गर्न पाउँदा गर्व र खुसी लाग्छ।’
उनी विद्यार्थीहरूलाई विभिन्न परियोजना कार्य गराउँछिन्। यस्ता परियोजना कार्य मार्फत विद्यार्थीको रुचि र सीप पहिचान गर्न सकिने अनुभव छ। यस्तै एक खाना बनाउनुपर्ने परियोजना कार्यमा एक विद्यार्थीले यति मीठो परिकार बनाए कि सबैले उनको प्रशंसा गरे।
‘सबैले मलाइ पढाइमा कमजोर भन्छन् भनेर सायद ऊ भित्रभित्रै खुम्चिरहेको थियो होला। तर उसले आफ्नो सीप उजागर र पहिचान गर्ने मौका पायो। अहिले १२ कक्षामा होटल म्यानेजमेन्ट पढिरहेको छ। यसरी ट्रयाक समातेको देख्दा गर्व लाग्छ,’ उनी भन्छिन्।
अरुलाई सामान्य लाग्न सक्ने तर विद्यार्थीको जीवनमा सकारात्मक प्रभाव पार्न पाउँदा यो पेसामा गर्व लाग्ने उनले बताइन्।
विद्यार्थीसँग तिनको मातृभाषामा बोल्दा उनीहरूसँग घुलमिल भई पढाइमा प्रेरित गर्न सकिने उनको अनुभव छ। स्नातक तह सकिएपछि भीमफेदीमा पढाउँदा तामाङ समुदायका विद्यार्थी थिए। गाउँमा कसैको विवाह वा कुनै अरु अवसरका बेला विद्यार्थीहरू अनुपस्थित हुन्थे। यो समस्या कसरी समाधान गर्ने भन्ने उनलाई लागिरहन्थ्यो।
‘म आफू पनि तामाङभाषी भएकोले उनीहरूसँग मातृभाषामा कुराकानी गर्न थालेँ। उनीहरू मसँग झ्याम्मिन र नजिक हुन थाले। अनि पढाइमा प्रेरित र सहयोग गर्न थालेँ। उनीहरू नियमित हुन थाले। एसएलसीमा सबै विद्यार्थी अंग्रेजीमा पास भए,’ उनले भनिन्।
त्रिभुवन विश्वविद्यालयबाट एमफिल गरेकी अञ्जु लामा विद्यार्थीलाई प्रश्न गर्न उत्साहित गर्छिन्। यसका लागि उनी कक्षाकोठामा वातावरण बनाउँछिन्। विद्यार्थीले जति धेरै प्रश्न गर्छन्, उति नै उनीहरू विषयवस्तुभित्र छिर्दैछन् भनेर बुझ्नुपर्ने उनको ठम्याइ छ। कक्षाकोठामा विद्यार्थीले कत्तिको प्रश्न गर्छन्, त्यसबाट उनी स्वमूल्यांकन पनि गर्ने गर्छिन्।
उनी भन्छिन्, ‘यदि विद्यार्थीले प्रश्न गरेनन् भने शिक्षकले आफ्नो शिक्षण शैली परिवर्तन गर्न आवश्यक छ भन्ने बुझ्नुपर्छ। विद्यार्थी शान्त भएर बसेको कक्षाकोठा राम्रो होइन। अब शिक्षक मात्र बोल्ने अर्थात् लेक्चर विधि मात्र प्रयोग गरियो भने विद्यार्थीले शिक्षकलाई पत्याउँदैनन्।’
विद्यालयभित्रको काम गर्ने वातावरणले पनि शिक्षकलाई प्रभाव पार्ने उनको बुझाइ छ।
‘मेहनत गरेर काम गर्नेलाई फलानो फलानो शिक्षकले मेहनत गरिरहेका छन् है भन्दिए मात्र पुग्छ। कुनै पुरस्कार चाहिँदैन। गर्ने र नगर्नेलाई एउटै दृष्टिकोणबाट हेरिनुहुँदैन,’ उनले प्रष्ट पारिन्।
करिब २ दशकको शिक्षण पेसाको कमाइ के हो? यो प्रश्नमा उनको उत्तर यस्तो छ, ‘विद्यालयबाट पढाइ सकेर गए पनि विभिन्न अवसरमा आफ्नो विद्यार्थीले सम्झेर कल गर्छन्। सन्चो बिसन्चो सोध्छन्। विद्यार्थीले आफ्नो बाटो समातेका छन्। प्रगति गरेका छन्। शिक्षण पेसाको अमूल्य सम्पत्ति भनेको यही हो।’
एउटा शिक्षक अभिभावक पनि बन्नुपर्ने, परामर्शकर्ता पनि बन्नुपर्ने, सबै विद्यार्थीको नतिजा उत्कृष्ट दिलाउनुपर्ने लगायतका दबाब, सेवा सुविधा तथा मानमर्यादा कम भयो भन्ने गुनासोका कारण शिक्षण सेवामा वितृष्णा जागेको पनि पाइन्छ। कतिपय स्थायी शिक्षकले पेसा छाडेर निजामतीतिर गएको अवस्था पनि छ।
‘शिक्षकलाई बसी बसी खाएको भनिन्छ। नतिजा बिग्रे सारा दोष शिक्षकमाथि थोपरिन्छ। विद्यार्थीको पारिवारिक पृष्ठभूमि, विद्यार्थीको मेहनत नपुगेर वा शिक्षकले नपढाएर पनि हुन सक्छ,’ शिक्षक लामा भन्छिन्, ‘सेवासुविधा कम छ। तीन महिनामा एकचोटि तलब आउँछ। यो क्षेत्रमा बसौँ बसौँ लाग्ने सेवा सुविधा दिने र शिक्षकलाई देशको मेरुदण्डको दर्जा सरकारले बनाइदिए शिक्षण पेसामा खडेरी लाग्दैन।’
(शिक्षा विमर्श श्रृंखला हेर्न/पढ्न यो पेजमा जानुहोस्)
प्रतिक्रिया