ad ad

समाज


छिमेकीको उद्धारमा गए डुकुमान, उनकै सिंगो परिवार पहिरोले पुर्‍यो

३ दिनपछि भेटियो श्रीमती, २ छोरा र छोरीको शव
छिमेकीको उद्धारमा गए डुकुमान, उनकै सिंगो परिवार पहिरोले पुर्‍यो

सागर न्यौपाने
असोज १५, २०८१ मंगलबार २२:१८, काठमाडौँ

शुक्रबार दिउँसोदेखि पर्न थालेको झरी राति झन् बढ्न थाल्यो। कतवन हुँदै बग्ने ठोस्ने खोलाको गडगडाहट चर्किंदै गयो। मुसलधारे पानी रोकिने कुनै छेकछन्द थिएन।

मध्यराततिर पानी अझ बढेपछि ललितपुरको महांकाल गाउँपालिका वडा नम्बर २ मानिखेल बेँसीका बासिन्दा आत्तिन थाले। बिजुली अवरुद्ध, फोन लाग्न छोड्यो। ठोस्ने खोलाको बाढी पनि बढ्यो।

राति १ बजेतिर डुकुमान स्याङ्तानको घरभन्दा पचास मिटर तल रहेका ७ घरमा बाढी पस्न थाल्यो। सुतिरहेका श्रीमती, दुई छोरा र छोरीलाई छोडेर डुकुमान छिमेकीहरूको उद्धार गर्न तल झरे।

ती घरका मानिसलाई सुरक्षित स्थानमा ल्याइसकेका मात्र के थिए, डुकुमानले आफ्नै घर माथिबाट झरेको पहिरोले आफ्नै घर पुर्न थालेको देखे। 

उनी आफ्नो घर पुग्नै पाएनन्। पहिरो यति तीव्र गतिमा झर्यो कि उनी पुग्नुअघि नै उनको घर पुर्‍यो। ठोस्ने खोला छेउमा आइसकेको थियो। 

गुहार मागे। चिच्याए, अनि थचक्क भुँइमा बसेर रोए। 

‘मेरो सर्वस्व गुम्यो!’

डुकुमानको सर्वस्व अर्थात् श्रीमती राममाया स्याङतान, जेठा छोरा १४ वर्षीय अजय र ११ वर्षीय सुवास र ९ वर्षकी छोरी सलिनालाई पहिरोले पुर्‍यो।

ठोस्ने खोलाले सबैलाई बगाएको शंका गरेर उनी खोलामा खोज्न थाले।

शनिबार बेलुकाबाट वर्षा रोकियो। खोलाका किनारै किनार तलैसम्म पुगेर छिमेकीहरूले बेपत्ता चारैजनाको खोजी गरे। तर, फेला पार्न सकेनन्। 

तैपनि चारैजना कहीँकतै जिउँदै भेटिने आस उनलाई थियो। 

असोज १३ गते दिनभर खोज्दा पनि उनीहरू भेटिएनन्। डुकुमान निराश भए। विद्युत्, सडक र सञ्चार विच्छेदले समयमै प्रहरी आउन सकेन। 

सोमबार पनि खोजी कार्य जारी रह्यो। बल्ल पुगेको प्रहरी र छिमेकीले पहिरोले पुरेको घरमा खन्न थाले।

दिउँसो २/३ बजेतिर श्रीमतीसहित दुई छोरा र एक छोरी एकैठाउँमा पुरिएको अवस्थामा फेला परेको महांकाल गाउँपालिका वडा नम्बर २ का अध्यक्ष जोनीकुमार न्यासुरले जानकारी दिए। 

‘भर्‍याङमुनि चारैजना एकैठाउँमा थिचिएको अवस्थामा भेटियो,’ न्यासुरले नेपालखबरसँग भने, ‘राममायाले उद्धार माग्दै हात उठाएको देखिन्छ।’

माटो र ढुङ्गाले बनेको घरको चोटामा उनीहरू बस्थे। भान्सा तल थियो।

‘जब माथिबाट पहिरो आयो, भाग्दै गर्दा भर्‍याङमुनि पुगेपछि एकैपटक थिचेको हुनसक्छ, समयमै घर उत्खनन् गर्न पाएको भए बाँच्थे कि जस्तो लाग्छ,’ न्यासुरले थपे। 

काठमाडौँमा रहेका न्यासुर सडक बन्द भएपछि असोज १४ गते हिँडेरै वडामा पुगेका थिए।

‘सेना, प्रहरी, सशस्त्र र स्थानीयहरू उद्धारमा जुट्नुभएको थियो,’ न्यासुर भन्छन्, ‘उहाँहरूले भनेपछि घर खोतल्दा एउटै परिवारका ४ जना एकै ठाउँमा भेटियो।’

परिवारका ५ मध्ये अब डुकुमान एक्लै जीवित छन्। उनका बुबा, आमा, दाइको पहिल्यै मृत्यु भइसकेको छ। उनी तीन वर्ष वैदेशिक रोजगारमा बसेर पाँच महिनाअघि मात्र फर्केका थिए।

नेपाल फर्केपछि उनी ज्यालादारी गर्थे। वडाले केही योजनाहरूमा उनलाई काम लगाएको थियो। श्रीमती राममायाले खेती किसानी गर्थिन्। तरकारी लगाएकी थिइन्। केही चौपाया पालेका पनि थिए।

तर, शनिबार (असोज १२) डुकुमानको जीवनमा भयंकर ठूलो बज्रपात भयो। छिमेकी बचाउन गएका उनले आफ्नै परिवारका सबै सदस्य गुमाउन पुगे। अहिले उनी बेचैन छन्। बोल्न सक्तैनन्। 

‘परिवारमा अब उहाँको कोही बाँकी छैन, एक्लै हुनुभयो,’ नेकपा माओवादी केन्द्रका जिल्ला नेता एवं डुकुमानका छिमेकी बुद्ध नेगीले भने।

उनका अनुसार डुकुमानको घर मात्र होइन, त्यसभन्दा पचास मिटर तल खड्गेटोलमा रहेका ७ घरमा अहिले खोला हिँडेको छ। 

‘डुकुमानलाई अहिले छिमेकीले राखेका छन्, उहाँ धेरै निराश देखिनुहुन्छ। होसको कुरा गर्नै सक्नुभएको छैन,’ नेगीले थपे, ‘बेला बेला आफैँ झस्किनुहुन्छ। टोलाउनुहुन्छ।’

पहिरोले उनको घर, बारी पनि सबै तहसनहस पारेको छ। अब उनलाई खानबस्नकै समस्या पर्ने देखिएको नेगी बताउँछन्।

दुई दिनको लगातारको वर्षाले गएको बाढी र पहिरोमा परेर धेरै क्षति बेहोर्ने जिल्लामा पर्छ ललितपुर। त्यसमा पनि महांकाल गाउँपालिकाका अहिलेसम्म ९ जनाको मृत्यु भएको पुष्टि भएको छ। अझै दुईजना बेपत्ता छन्।

तर, पाँच दिनसम्म विद्युत्, सञ्चार नहुँदा उद्धारमा ढिलाइ भएको पीडित बताउँछन्। 

‘महांकालका २५ परिवार घरबारविहीन भए,’ नेगीले भने, ‘घाइतेहरू अझै छन्। अहिलेसम्म पालिका र वडाबाट कुनै सहयोग नै पाएका छैनन्। पीडितहरू स्थानीय सरकार खोज्दै हिँड्नुपरेको छ।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .