ad ad

समाज


लकडाउनले नछोएका यी पेसाकर्मी, कसरी गरिरहेछन् आफ्नो सुरक्षा?

लकडाउनले नछोएका यी पेसाकर्मी, कसरी गरिरहेछन् आफ्नो सुरक्षा?

लक्ष्मी जि.सी
चैत २४, २०७६ सोमबार २:१६,

कोराना भाइरस (कोभिड-१९) को संक्रमण फैलिन नदिन सरकारले लकडाउन देशभर गरेसँगै सक्रिय जीवन बिताइरहेका नागरिककाे दिनचर्या बदलिएको छ। बाहिर हिँडडुल गर्नेहरू यतिबेला घरमै कैद भएका छन्।

तर कतिपय मानिस यस्ता पेसामा छन्, जो यो अप्ठ्यारो समयमा पनि घरबाहिर निस्कन तथा बस्न बाध्य छन् अर्थात् डिउटीमै व्यस्त छन्। 

स्वास्थ्य, सुरक्षा, सञ्चार, खाद्यान्न, खानेपानी क्षेत्रमा काम गर्नेहरू अहिले पनि आफ्नो काममै क्रियाशील छन्। कोरोनाको यस्तो सन्त्रासबीच यसरी काममै व्यस्त उनीहरूले कसरी आफ्नो स्वास्थ्य तथा जीवनको सुरक्षा गरिरहेका छन्रु पढौँ, स्वास्थ्य, सञ्चार र सुरक्षा क्षेत्रमा क्रियाशील तीन जनाका अनुभव-

पहिलाभन्दा धेरै काम: अनिता बिन्दु, सञ्चारकर्मी: 
कोभिड-१९ को संक्रमितकाे संख्या बढ्दै गएपछि त्यसबाट जोगिन नेपाल टेलिकमले सूचनामूलक सन्देश दिने निर्णय गर्‍याे। त्यसमा मैले आवाज दिएकी छु। यो समयमा टेलिकमले सतर्कताकाे सन्देश दिन जुन काम गरेको छ, त्यो एकदम प्रभावकारी छ।

आवाज मेरो हुनु वा अर्काको हुनु खासै ठूलाे कुरा होइन। टेलिकमको प्रयास आफैँमा महत्वपूर्ण छ। मलाई आफ्नो आवाज सुन्दा खास नौलो लाग्दैन। यसअघि पनि धेरै विज्ञापन, डकुमेन्ट्रीमा आवाज दिइसकेको छु। तर यो बेला मोबाइल धेरै प्रयोग भइरहेकाले पनि होला, धेरै रेस्पोन्स पाइरहेको छु। अहिले परिवारको हालखबर सोध्न पनि धेरै मोबाइलकै प्रयोग भैरहेको छ। त्यसैले पनि यसको प्रभाव बढी देखिन्छ।

कोरोनाबाट बच्न अपनाउनुपर्ने सावधानीबारे टेलिकममा आवाज दिइसकेपछि यसको प्रभाव मैले प्रत्यक्ष देख्ने अवसर पनि पाएँ। एकपटक मेडिकल गएको थिएँ। एक जना बूढी आमा भन्दै हुनुहुन्थ्यो- ‘खोक्दा कुइनाले मुख छोप्नुपर्छ, हात धोइरहनुपर्छ भनेर मुबाइलले भनेको छ।’ त्यो सुनेर साँच्चै खुसी लाग्यो। पाका मान्छेसम्म पनि सन्देश पुगेछ, प्रभाव परेछ। साथीहरूले पनि राम्राे भएकाे सुनाउँछन्, खुसी लाग्छ।

म सञ्चार कर्ममा छु। नेपाल टेलिभिजनमा काम गर्छु। दिनचर्या पहिलेजस्तै हो।अहिले पहिलेभन्दा अझ व्यस्त छु। लकडाउन भनेर घरमा बस्ने अवस्था छैन। आकस्मिक सेवा पनि पर्‍याे। सूचना पनि दिन पर्‍याे। त्यसैले यो बेला अरू समयभन्दा धेरै काम गर्नु परिरहेछ।

यतिबेला परिवारका अन्य सदस्य घरमै बस्नुभएको छ। म मात्र बाहिर निस्कने हो। घरमा बस्दा आइसोलेसनमा बसे झै एक्लै बस्छु। अफिसमा पनि स्यानिटाइजर लगाउने बेलाबेलामा साबुन पानीले हात धुन्छु। घरमा पुगेपछि तातोपानीले नुहाएर मात्र भित्र पस्छु।

दैनिक शारीरिक अभ्यास गर्छुः  सावित्रा भण्डारी, फुटबल खेलाडी, शसस्त्र प्रहरी बल 
यो समयमा हाम्रो खेल गतिविधि ठप्प छ। खेल्न नपाउँदा अलिक आत्तिएजस्तो हुनेरहेछ। यो हामीले आफ्नो चाहनाले आएको समय होइन। यो कठिन समयलाई हामी सबैले धैर्यतापूर्वक व्यक्तिगत स्वास्थ्यमा ध्यान दिन जरुरी छ। फिट हुनुपर्छ पर्छ।

त्यसैले म दिउँसो ४ देखि साढे ५ बजेसम्म शारीरिक अभ्यास गर्छु। अहिलेको अवस्थामा केही नगरी बस्ने हो भने पछि खेल्न कठिन हुन्छ। फिट त जुनसुकै पेसामा हुनेले रहनुपर्छ। हामी खेलाडीले त झन् आफूलाई फिट राख्नैपर्छ।

केही समय म उपत्यकाभन्दा बाहिर थिएँ। अफिस (एपीएफ) ले बोलाएपछि फर्किएकी छु। म खेलाडीसँगै एउटा राष्ट्रसेवक पनि हुँ। त्यसैले देशले चाहेको र मागेका बेला उपस्थित हुनु मेरो कर्तव्य हो। म कर्तव्य पूरा गर्न सधैँ तयार छु। अफिसले जतिबेला बोलाउँछ, त्यसबेला हामी तयार रहनुपर्छ।

बिरामीलाई अप्ठेरोे नहोस् भनेर भाइबर ग्रुप: प्रज्वलमान श्रेष्ठ, मेडिकल डाइरेक्टर, ब्लुक्रस अस्पताल 
हाम्रोमा ओपीडी सेवा बन्द छ। आकस्मिक मात्र खुला छ। बिरामीलाई अप्ठेरोे नहोस् भनेर भाइबर ग्रुप खोलेका छौं। त्यसमा डाक्टरसँग सम्पर्क व्यवस्था मिलाएका छौं। सुरुमा हामीले आफ्ना स्टाफका लागि कपडाको २ वटा मास्क बाँड्यौं। स्यानिटाइजर पनि हाम्रै एक्सपर्ट ग्रुपले बनायाे। अहिलेसम्म त्यसले नै धानेको छ।

यो बेला परिवारमा एक किसिमले तनावको वातावरण छ। बिरामीको उपचारपछि अन्य स्वास्थ्यकर्मीलाई पनि घर फर्किंदा अस्पतालमै बस्न भन्नुहुन्छ। यसले मानसिक तनाव हुन्छ। अहिले स्वास्थ्यकर्मीहरुले बिरामीलाई जाँचेनन् भन्ने आरोप छ। यो ९५ प्रतिशत गलत हो।

हामीले जुनसुकै अवस्थामा पनि उपचार गर्छौं भनेर काम गरिरहेका हुन्छाैँ। स्वास्थ्य सामाग्री नहुँदाको अवस्थामा बिरामीलाई जाँच्दा थप समस्या आउन सक्ने कारण नजाँचेको भने हुन सक्छ। ज्वरो आएको बिरामी सिटामोल खाएर जाँच्दिनुहोस् भनेर आउँछन्।

त्यसले पनि कतिपय अवस्थामा समस्या भएको छ। उपचारमा आउनेले पनि आफ्नो ‘मेडिकल हिस्ट्री’ बताउदिनुपर्छ। विदेशबाट आएको वा अन्य केही भए बताउनुपर्छ। यस्तोमा बिरामीले पनि ध्यान दिनुपर्छ। यो बेला आफ्नै सुरक्षाबारे भन्नुपर्दा भने निकै दुःख लाग्छ। न पीपीई पाएका छौ न मास्क। 

सरकारका नीति परिपक्व छैन। समयमै खबर पाउँदा पनि सरकारले कदम चाल्न सकेन। सरकारले समयमै हवाई उडान बन्द र बोर्डर सिल गर्न सकेन। त्यसका कारण बिरामी आएका हुन्। नेपालमा ढिला गरी बिरामी देखिरहेका छन्। २ हप्ता पुग्न लाग्यो यसले केही कमी भएको छ। सरकारले पनि पीपीई निष्पक्ष रुपमा बाँड्नुपर्छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .