नेपाल पत्रकार महासंघले कारोना संक्रमणले उत्पन्न गराएको अहिलेको संकटपूर्ण अवस्थामा केही सञ्चारगृहहरुले श्रमजीवी पत्रकारहरुलाई कामबाट हटाउने, पारिश्रमिक घटाउने र बेतलबी बिदा दिने क्रम बढेको भन्दै त्यसप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।
संक्रमणको उच्च जोखिम मोलेर जनतालाई सूचना प्रवाह गर्ने काममा अहोरात्र खटिरहेका सञ्चारकर्मीको व्यावसायिक सुरक्षाको सम्मान गर्न महासंघले सम्बन्धित पक्षसँग आग्रह गरेको छ।
‘कोरोना संक्रमणले उत्पन्न गराएको लकडाउन लगायतका कठिन परिस्थितिमा कुनै पनि सञ्चार प्रतिष्ठान आफ्ना कर्मचारी र कामदारप्रतिको दायित्वबाट पन्छिन मिल्दैन भन्ने महासंघको निष्कर्ष छ’ महासंघले भनेको छ, ‘महासंघ श्रमजीवी पत्रकारलाई कामबाट हटाउने कार्य तत्काल रोक्न, पारिश्रमिक नपाएका पत्रकारहरुलाई पारिश्रमिक उपलब्ध गराउन, खाइपाइ आएको पारिश्रमिक नघटाउन र बेतलबी बिदामा नराख्न आग्रह गर्दछ। अन्यथा महासंघ कानुनी लगायतका सबै संघर्षमा जान बाध्य हुने प्रष्ट पार्न चाहन्छ।’
साथै अहिलेको विषम परिस्थितिमा श्रमजीवी पत्रकार र सञ्चार प्रतिष्ठानहरुलाई राहत र सहुलियत उपलब्ध गराउन पनि महासंघले सरकारसँग जोडदार माग गरेको छ।
लकडाउनको समयमा प्रेसको दुरुपयोग गरी सवारी साधन र ज्याकेट प्रयोग गर्ने प्रवृत्ति बढेको भन्दै अनाधिकृत रुपमा प्रेसको दुरुपयोग गर्ने व्यक्तिलाई चेकजाँच गरी कारवाही गर्न पनि महासंघले सम्बन्धित निकायसँग आग्रह गरेको छ।
प्रतिक्रिया