ad ad

समाज


लकडाउनमा अरु अपराध कम हुँदा पनि किन घटेन आत्महत्या?

लकडाउनमा अरु अपराध कम हुँदा पनि किन घटेन आत्महत्या?

उजिर कार्की
बैशाख २८, २०७७ आइतबार १४:९,

देश डेढ महिनायता लकडाउनमा छ। यो बेला अन्य अपराधका घटनामा ५० प्रतिशतभन्दा धेरैले कमी आएको छ। टेकुस्थित काठमाडौँ प्रहरीको हिरासत पहिलो पटक खाली भएको छ। तर, आत्महत्या गर्नेको संख्या भने घटेको छैन।

नेपाल प्रहरीको तथ्यांकअनुसार लकडाउन सुरु भएपछिको ४० दिनमा ५ सय ४८ जनाले आत्महत्या गरिसकेका छन्।

चैतभर ५ सय ३२ जनाले आत्महत्या गरेका थिए। त्यसअघि माघमा ५ सय ६४ र फागुनमा ५ सय ७७ जनाले आत्महत्या गरेका थिए।

पहिलेदेखि नै मानसिक तनावमा रहेका व्यक्तिहरुलाई लकडाउनले थप समस्या निम्त्याउँदा उनीहरुले आत्महत्याको बाटो रोजेको मनोविद् डा. करुणा कुँवर बताउँछिन्।

उसो त पछिल्ला हरेक वर्ष आत्महत्या गर्नेको संख्या बढ्दै गएको छ।

‘कतिपयले अहिले उपचार पाउन सकेका छैनन्। पहिलेदेखि नै डिप्रेसनमा रहेकाहरुलाई पनि लकडाउनले समस्या थपेको छ,’ डा. कुँवर भन्छिन्, ‘घरेलु तथा सामाजिक हिंसाले पनि आत्महत्यालाई मलजल गर्छ।’

अभावसँग जुध्न नसक्दा पनि कतिपयले आत्महत्याको बाटो रोज्ने गरेको कुँवरले बताइन्। गरिबी र भेदभाव पनि आत्महत्याको कारण बन्ने गरेका छन्।

‘आत्महत्या गर्नेहरु लामो समयदेखि जीवन–मरणको दोसाँधमा संघर्ष गरिरहेका हुन्छन्। अन्तिमसम्म पनि उनीहरुले बाँच्ने आधार खोजिरहेको हुन्छन्,’ कुँवरले भनिन्, ‘जब आशाको ठाउँ नै देखिँदैन, तब उसले आत्महत्या गर्छ।’

लकडाउनयता भवितव्यमा परी ज्यान गुमाउनेको संख्यामा पनि खासै कमी आएको छैन। लकडाउनका दिनमा २ सय ८२ जनाको ज्यान गएको छ। माघमा भवितव्यबाट २ सय ८७ र फागुनमा २ सय ९७ जनाको ज्यान गएको थियो। चैतमा सबैभन्दा बढी ३ सय ४ जनाको ज्यान गएको थियो।

त्यस्तै, लकडाउनमा फुटकर ज्यान ज्यानेको संख्या १ सय ५७ छ। जुन माघमा १ सय ५० र फागुनमा १ सय ४६ थियो।

अन्य अपराध र घटनामा कमी
लकडाउनका कारण देशमा आपराधिक घटना कम भएका छन्।

प्रहरीका केन्द्रीय प्रवक्ता डीआईजी निरज शाहीले मानिसहरुको चकलपहल कम हुँदा कतिपय अपराधका घटना कम भएको बताए।

गएको माघमा ३ हजार ८ सय ५० वटा अपराधका घटना भएकोमा फागुनमा ३ हजार ९ सय ६९ वटा अपराधका घटना प्रहरीमा दर्ता भएका थिए। तर चैतदेखि लकडाउन सुरु भएपछि अपराधका घटनामा पनि क्रमशः कम हुँदै गएको छ। देशभर चैतमा २ हजार ४ सय ३ वटा मात्रै अपराध भएको पाइएको छ।

लकडाउन सुरु भएपछिका ४० दिनमा अघिल्लो महिनामाभन्दा निक्कै कम अपराध तथा घटना घटेका छन्। लकडाउनका ४० दिनमा १ हजार ८ सय ८८ वटा मात्रै घटना भएको प्रहरीको तथ्यांक छ।

लकडाउन सुरु भएपछि चोरीको घटनामा भने उल्लेख्य मात्रामा कमी आएको छ। लकडाउन सुरु भएपछिका ४० दिनमा देशभर ५१ वटा मात्रै चोरी भएका छन्। चैतमा ९९ वटा चोरीका घटना भएका थिए। त्यसअघि माघमा २ सय ३९ र फागुनमा २ सय २८ वटा चोरीका घटना भएका थिए।

लकडाउनमा सांगठनिक अपराधमा पनि कमी आएको छ। मान्छेहरु जम्मा हुने र आपराधिक काममा संलग्न हुन यो समय प्रतिकुल भएकाले घटना हुन नपाएको प्रहरीको बुझाइ छ। लकडाउनमा चोरी दोब्बरले कम भएको छ।

यस्तै सामाजिक अपराधमा सबैभन्दा धेरै कमी आएको छ। ४० दिनमा देशभर ३ सय सामाजिक अपराध भएका छन्। लकडाउन पहिलेका महिनामा १२ सय बढी सामाजिक अपराध भएका थिए। माघमा १ हजार २ सय ३९ र फागुनमा १ हजार २ सय ९२ वटा यस्ता घटना भएका थिए।

लकडाउनमा सामाजिक रुपमा भेला हुन र सामाजिक गतिविधि बन्द गरिएकाले घटना पनि कम भएको र भएका घटना पनि समान्य खालका रहेको प्रहरीको दाबी छ।

यस्तै लकडाउनको समयमा सवारी दुर्घटना पनि कम भएको छ। यसअघि सवारी दुर्घटनामा हरेक महिना सरदर २ सय जनाले ज्यान गुमाउने गरेकामा लकडाउनका ४० दिनमा ५६ जनाको दुर्घटनामा ज्यान गएको छ।

लकडाउनमा सडक खुल्ला हुँदा लापरबाही तरिकाले सवारी चलाउँदा दुर्घटना भएको प्रहरी प्रवक्ता शाहीले बताए।

तर लकडाउन बढ्दै गए नयाँ खालका अपराध जन्मन सक्ने प्रहरीको आकलन छ। लकडाउन बढे मान्छेको समस्या थपिँदै जाने र अभाव बढ्ने भएकाले अपराधमा लाग्न सक्ने प्रहरीले अनुमान गरेको हो। यस्ता सम्भावनालाई मध्यनजर गर्दै आफ्नो क्षेत्रमा सुरक्षाका योजना बनाउन भनिएको प्रधान कार्यालयले जनाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .