ad ad

समाज


शक्तिशाली अम्पुन चक्रवात जमिनमा प्रवेश गर्दै, तीन दिन वर्षा र हिमपातकाे सम्भावना

शक्तिशाली अम्पुन चक्रवात जमिनमा प्रवेश गर्दै, तीन दिन वर्षा र हिमपातकाे सम्भावना

नेपालखबर
जेठ ७, २०७७ बुधबार १:३५,

बंगालको खाडीमा विकसित अम्पुन नामकरण गरिएको शक्तिशाली आँधी (चक्रवात) को ‘अप्रत्यक्ष’ प्रभावका कारण आज (बुधबार) देखि तीन दिन अर्थात् (शुक्रबार) सम्म पश्चिमी क्षेत्रबाहेक देशका विभिन्न स्थानमा हावाहुरी, चट्याङसहित वर्षा तथा हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

महाशाखााका मौसमविद् वरुण पौडेलका अनुसार यसले विशेषगरी पूर्वी क्षेत्रमा बढी प्रभाव पारिरहेकाे छ। साथै काठमाडौंलगायत मध्य क्षेत्रमा पनि यसको बादल आइरहेकाे छ।

 

‘विशेषगरी पूर्वी क्षेत्रमा आज गड्याङगुडुङ, चट्याङ र हुरीबतासहित मध्यमसम्म वर्षा हुने सम्भवना छ,’ मौसमविद् पौडेलले बुधबार बिहान नेपालखबरसँग भने, ‘काठमाडौंलगायत मध्य क्षेत्रमा पनि मौसम बदली तथा वर्षा हुने देखिएको छ।’

पूर्वी क्षेत्रमा दिनभर नै मौसम अँध्यारै रहन्छ भने काठमाडौंलगायत मध्य क्षेत्रका स्थानमा भने बीचबीचमा घाम पनि देखिने उनकाे अनुमान छ। 

माैसमविद् पाैडेलका अनुसार नेपालमा अम्पुनको मुख्य प्रणाली नै प्रवेश गरेको होइन। मुख्य प्रणाली प्रवेश गर्थ्याे भने धेरै ठूलो क्षति हुन सक्थ्यो।

‘यसको अप्रत्यक्ष प्रभाव अर्थात् चक्रवातको बाहिरी घेरोका बादल मात्र नेपालमा प्रवेश गरेको हो,’ उनले भने, ‘यसैको प्रभावले अब तीन दिनसम्म देशका पूर्वी र मध्य क्षेत्रमा मौसम बदली भई वर्षा र हिमपात हुने सम्भावना देखिएको हो।

मौसमविद् पौडेलका अनुसार बंगालको खाडीमा रहेको चक्रवात आज दिउँसोतिर पश्चिम बंगालको तटीय क्षेत्र (पश्चिम बंगाल-बंगलादेश कोस्ट) मा प्रवेश (ल्यान्डफल) गर्दै छ। 

‘त्यसपछि यसले कुन दिशा र कस्तो रूप लिन्छ, त्यसले नेपाल पर्ने थप प्रभाव निर्धारण गर्छ, त्यो हामी अपडेट गर्नेछौं,’ मौसमविद् पौडेलले भने।

उनका अनुसार अहिले अम्पुन चक्रवात उत्तर-उत्तर पूर्व सरिरहेको छ। यसैकारण यसको प्रभाव नेपालको पूर्वी भागमा बढी पर्ने भएको हो।

‘मध्य भागसम्म पनि पर्छ तर सुदूरपश्चिम कर्णालीतिर यसको प्रभाव पर्दैन,’ उनले भने, ‘विशेषगरी प्रदेश १ र २ मा यसको बढी प्रभाव पर्ने देखिन्छ।’ वर्षाका कारण पूर्वी क्षेत्रका खोलानालामा बाढीसमेत आउने सम्भावना रहेको उनले बताए।

नवलपरासीदेखि पूर्व अम्पुन चक्रवातको प्रभाव पर्ने उनको अनुमान गरिएको माैसमविद् पाैडेलले जानकारी दिए।

बुधबार बिहान ६ बजे माैसम पूर्वानुमान महाशाखाले आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श जारी गर्दै भनेकाे छ: 

हाल देशमा स्थानीय वायुको प्रभावसँगै अम्पुन चक्रवातको अप्रत्यक्ष प्रभावले बदलीसँगै पूर्वी भूभागका धेरै स्थान, मध्य भूभागका केही स्थान र पश्चिमी भूभागका थोरै स्थानमा मेघगर्जन/चट्याङ/हावाहुरीसहित हल्कादेखि मध्ययम वर्षाको सम्भावना छ। साथै हिमाली भूभागमा हिमपातको समेत सम्भावना छ। जसका कारण खोलानालामा जलप्रवाहमा समेत बढोत्तरि हुने सम्भावना रहेकाले आवश्यक  सतर्कता अपनाउन हुन अनुरोध छ।

महाशाखाले बुधबार बिहान गरेकाे आगामी तीन दिनको मौसम पूर्वानुमान

जेठ  गते (बुधबार)

दिउँसोः  देशको  पूर्वी  भू-भागमा  पूर्ण बदली तथा मध्य भू-भागमा सामान्य  बदली रही पश्चिमी भू-भागमा आंशिक बदली रहनेछ। पूर्वी भू-भागका धेरै स्थान, मध्य भू-भागका केही स्थान र पश्चिमी भू-भागका थोरै स्थानमा मेघगर्जन/चट्याङसहित  हल्कादेखि मध्यम वर्षाको  सम्भावना छ। पूर्वी तथा मध्य उच्च हिमाली भू-भागका केही स्थान साथै पश्चिमी  उच्च हिमाली भू-भागका थोरै स्थानमा हल्कादेखि मध्ययम हिमपातको समेत सम्भावना छ।

रातीः  देशको  पूर्वी  भू-भागमा  पूर्ण बदली तथा मध्य भू-भागमा सामान्य  बदली रही पश्चिमी भू-भागमा आंशिक बदली रहनेछ। पूर्वी भू-भागका धेरै स्थान, मध्य भू-भागका केही  स्थान  र पश्चिमी भू-भागका  १-२ स्थानमा मेघगर्जन/चट्याङ/हावाहुरीसहित हल्कादेखि मध्यम वर्षाको  सम्भावना छ। पूर्वी तथा मध्य उच्च हिमाली भू-भागका केही स्थान साथै पश्चिमी उच्च हिमाली भू-भागका थोरै स्थानमा हल्कादेखि मध्यम हिमपातको समेत सम्भावना छ।

जेठ  गते (बिहीबार)

दिउँसोः देशको  मध्य तथा पूर्वी  भू-भागमा  पूर्ण बदली रही पश्चिमी भू-भागमा आंशिक बदली रहनेछ। मध्य तथा पूर्वी    भू-भागका केही स्थान र पश्चिमी भू-भागका १-२ स्थानमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। पूर्वी तथा मध्य उच्च हिमाली भू-भागका केही स्थान साथै पश्चिमी उच्च हिमाली भू-भागका १-२ स्थानमा  हल्कादेखि मध्यम हिमपातको समेत सम्भावना छ।

रातीः  देशको  पूर्वी  भू-भागमा पूर्ण बदली तथा मध्य भू-भागमा सामान्य बदली रही पश्चिमी भू-भागमा आंशिक बदली रहनेछ। मध्य तथा पूर्वी भू-भागका केही स्थान र पश्चिमी भू-भागका १-२ स्थानमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। पूर्वी तथा मध्य उच्च हिमाली भू-भागका केही स्थानमा हल्कादेखि मध्यम हिमपातको समेत सम्भावना छ।

जेठ  गते (शुक्रबार)

दिउँसोः देशको  पूर्वी  भू-भागलगायत मध्य र पश्चिमी पहाडि भू-भागमा सामान्यतया बदली रही बाँकी भू-भागमा आंशिक बदली रहनेछ। पूर्वी भू-भागका केही स्थान साथै मध्य र  पश्चिमी पहाडी भू-भागका थोरै स्थानमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ।

रातीः  देशको  पहाडी भू-भागमा सामान्य  बदली रही बाँकी भू-भागमा आंशिक बदली रहनेछ। पहाडी भू-भागका १-२ स्थानमा मेघगर्जन/चट्याङसहित हल्का वर्षाको सम्भावना छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .