ad ad

समाज


आन्तरिक उडान र २ सय रेल सञ्चालन गर्दै भारत

आन्तरिक उडान र २ सय रेल सञ्चालन गर्दै भारत

नेपालखबर
जेठ ८, २०७७ बिहिबार १३:१९,

कोरोना भाइरस फैलिनबाट रोक्न लागू गरेको लकडाउनबीच भारतले आन्तरिक हवाई उडान र २०० वटा रेल सञ्चालन गर्ने तयारी गरेको छ। कोरोनाका कारण ठूलो क्षति ब्यहोरिरहेको भारतले सुरक्षा विधि अपनाउँदै यात्रु सेवा सञ्चालनमा ल्याउन लागेको हो।

रेल, स्वास्थ्य तथा गृह मन्त्रालयबीचको श्रृंखलाबद्ध छलफलपछि बिहीबार २०० वटा रेल सञ्चालनको निर्णय भएको भारतीय सञ्चार माध्यमहरुले जनाएका छन्। ‘जुन २० देखि थप २०० रेल सञ्चालनमा आउनेछन्। त्यसका लागि बुकिङ आज बिहीबार बिहानबाट सुरु भएको छ’, फर्स्टपोस्ट अनलाइनले लेखेको छ।

भारतले मे १ देखि नै श्रमिकका लागि रेल सञ्चालन गरेको थियो। १२ देखि नयाँ दिल्ली रुट भएर ३० वटा रेल सञ्चालन गरेको थियो। बिहीबार बुकिङ खुला भएका २०० रेल तीभन्दा बाहेक हुन्। बुधबार मध्यराति ट्विट गर्दै रेल्वे मन्त्रालयले यससम्बन्धी सूचना सार्वजनिक गरेको हो।

air india railway notice

कोरोना कहर सामाना गरिरहेको भारतले रेल यात्रुले अपनाउनु पर्ने सुरक्षाका कडा नियम बनाएको छ।

बीबीसी हिन्दीका अनुसार यात्राभन्दा अगाडि टिकट लिएका सबै यात्रुहरुको स्वास्थ्य परीक्षण परीक्षण हुनेछ। त्यसका लागि उनीहरु ९० मिनेट अगाडि रेल्वे स्टेशन पुग्नु पर्नेछ। कोरोना लक्षण नदेखिनेले मात्र यात्रा अनुमति पाउनेछन्। ‘परीक्षण क्रममा कोही अस्वस्थ देखिए पूरै पैसा फिर्ता दिइनेछ। यात्रा अनुमति दिइने छैन’, रेल मन्त्रालयको विज्ञप्तिमा भनिएको छ।

कोरोना सर्न सक्ने कुरालाई ध्यानमा राख्दै सिटमा रहने तौलिया तथा कम्बल हटाइने एवं पर्दा समेत झिकेर रेल सञ्चालन गर्ने तयारी गरिएको विज्ञप्तिमा उल्लेख छ।

यात्रुले पालना गर्नुपर्ने नियमअनुसार यात्रा क्रममा सबैले अनिवार्य मास्क लगाउनु पर्नेछ। सामाजिक दूरी राखेर सिट प्लानिङ हुनेछन्। गन्तव्यमा पुगेपछि यात्रुहरुले प्रदेश सरकारका नियम पालना गर्नुपर्ने जनाइएको छ।

air india railwayभारतको रेल सेवा सञ्चालन हुँदा धेरैले यात्रा सुविधा पाउनेछन्। तस्विरः गेट्टी इमेजेज

कसरी खुला हुँदैछ आन्तरिक उडान?
भारतमा जेठ १२ देखि आन्तरिक हवाई उडान सञ्चालन हुँदैछ। भारतीय नागरिक उड्डयन मन्त्रालयले यात्राका क्रममा विमान कम्पनी र यात्रुले अपनाउनुपर्ने फरक—फरक नियम जारी गर्दै उडान सञ्चालनको तयारी गरेको हो।

भारतसँग आन्तरिक उडान गर्ने १३० विमानस्थल छन्। आन्तरिक र अन्तर्राष्ट्रिय दुवै उडान गर्ने ३४ विमानस्थल रहेका छन्। यो संख्या सेना र उडान स्कूलबाहेक हो। भारतसँग एयर इन्डियासहित ७ वटा ठूला विमान कम्पनीहरु छन्। एयर डेक्कनसहित ४ वटा क्षेत्रीय विमान कम्पनीहरु छन्। लकडाउनका कारण उडान ठप्प हुँदा वायुसेवा कम्पनीहरुले ठूलो घाटा खेपिरहेका छन्।

सेवा सञ्चालनका लागि भारतीय उड्डयनमन्त्रालयद्वारा जारी निर्देशिकाअनुसार विमान यात्रुहरुको थर्मल स्क्रिनिङ गरिनेछ। यात्रुका सामानको विमानस्थलमा पूर्ण रुपमा स्यानिटाइज गरिनेछ। नागरिक उड्डन मन्त्रालयले जारी गरेको निर्देशिकामा सबै ब्यागलाई लगेजको रुपमा पठाउन भनिएको छ। सामान्य अवस्थामा ‘हेन्ड क्यारी’ र ‘लगेज’ छुट्याइन्छ।

air india1मास्कमा उडान कर्मचारीः कोलकातास्थित नेताजी सुभासचन्द्र बोस विमानस्थलमा एयर इन्डियाका उडान कर्मचारी। तस्विर: द टेलिग्राफ

यात्रुले पालना गर्नुपर्ने निर्देशिकाअनुसार सबै यात्रुले मास्क र ग्लोब्स अनिवार्य रुपमा लगाएको हुनुपर्नेछ। सामाजिक दूरीको नियम उल्लंघन गर्न पाइने छैन।

इकोनोमिक्स टाइम्स अनलाइनअनुसार दिल्लीस्थित अन्तर्राष्ट्रिय विमानस्थलमामा युभी डिसइन्फेक्सन प्रणाली सेटअप गरिएको छ। त्यसले विमानबाट आउने सबै ब्यागेजलाई किटाणुमुक्त पार्नेछ। सबै ट्रलीहरु समेत किटाणुमुक्त बनाउने टनेलबाट पास गराइनेछ। दिल्ली भारतको सबैभन्दा बढी कोरोना प्रभावित सहर मध्ये एउटा हो। बिहीबारसम्म त्यहाँ कोरोनाबाट १७६ जनाको मृत्यु भएको छ, ११ हजार बढी संक्रमित छन्।

स्वास्थ्यमन्त्रालयका अनुसार भारतमा बिहीबार दिउँसोसम्म कोरोनाका कारण ३ हजार ४३४ जनाले ज्यान गुमाएका छन्। देशभरि १ लाख १२ हजार ३५९ जना संक्रमित भएका छन्।

इकोनोमिक्स टाइम्स अनलाइनअनुसार दिल्लीसहित मुम्बई, हैदरवाद, बेङ्ग्लुरु विमानस्थलमा पनि यात्रुको थर्मल स्क्रिनिङसहितका सुरक्षा प्रणाली स्थापित गरिएका छन्। भारतका संघीय नागरिक उड्यनमन्त्री हरद्विपसिंह पुरीले आन्तरिक उडान पुनःसञ्चालन सुरक्षा सावधानी अपनाएर सञ्चालन गर्न लागिएको दाबी गरेका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .