ad ad

समाज


गण्डकीमा कोरोना संक्रमितको संख्या बढ्दै, उपचार कहाँ?

गण्डकीमा कोरोना संक्रमितको संख्या बढ्दै, उपचार कहाँ?

वाशुदेव मिश्र
जेठ २५, २०७७ आइतबार ७:४७,

 पछिल्लो समय  काेराेना संक्रमितको संख्या बढ्दै गएपछि गण्डकी प्रदेशमा उनीहरुलाई कहाँ राख्ने भन्ने समस्या देखिएको छ। गण्डकीमा हालसम्म क्वारिन्टनको समस्या नदेखिए पनि आइसोलेसन बेडको भने अभाव हुने देखिएको छ।

चैत १५ गते पहिलो संक्रमण देखिँदा त्यहाँ भेन्टिलेटरको अभाव थियो। बल्लतल्ल रातारात आइसोलेसन वार्ड बनाएर संक्रमितको उपचार भएको बागलुङमा मात्रै हालसम्म २९ जना संक्रमित देखिएका छन्। तीमध्ये २ जना उपचारपछि घर फर्केका छन्।

आइतबारमात्रै बडिगाड गाउँपालिकाको भानु माध्यमिक विद्यालयको क्वारिन्टाइनमा ५ जना, बुद्ध माध्यमिक विद्यालयमा ४ जना र ढोरपाटन नगरपालिकाको अधिकारीचौरमा रहेका १ जनामा संक्रमण पुष्टि भएको छ। संक्रमितमध्ये २७ जनालाई आइसोलेसन बेड चाहिन्छ। तर, जिल्लामा अहिले १६ जना अट्ने आइसोलेसन वार्ड छ। जसोतसो त्यहाँ २४ जना राख्न सकिन्छ।

यता स्याङ्जाको अवस्था पनि उस्तै छ। सबैभन्दा बढी ३७ जनामा संक्रमण देखिएको स्याङ्जामा जिल्ला अस्पतालको अवस्था पनि उस्तै छ। त्यहाँ जम्मा १० वटा आइसोलेसन बेड छ। तीमध्ये ६ वटामा संक्रमित बसिरहेका छन्। एक जनालाई स्याङ्जाले पोखरा पठाए पनि अहिले पश्चिमाञ्चल स्वास्थ्य विज्ञान प्रतिष्ठानले उतै फिर्ता पठाएको छ। स्याङ्जा जिल्ला अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डाक्टर सुशील मरासिनीका अनुसार अहिले जिल्लाकै हेलुमा रहेको कालिका सामुदायिक अस्पतालमा ६० बेड क्षमताको आइसोलेसन तयार गरिएको छ। त्यहाँ १८ जना रहेको उनले जानकारी दिए। ‘जिल्लामा आईसीयू भने छैन’, उनले टेलिफोनमा भने,‘ ६० जनासम्म हामीले धान्न सक्छौं, त्यसपछि त घरघरमै राख्ने हो।’

प्रदेश र स्थानीय तहको सहयोगमा ६० बेडको आइसोलेसन बनेको हो। गोर्खामा पहिलो पटक आइतबार एकैचोटी ११ जनामा संक्रमण देखियो। उनीहरु सबैलाई आइसोलेसनमा राख्नुपर्ने छ। गोर्खामा आइसोलेसनको संख्या ३५ छ। संक्रमित बढेमा कहाँ राख्ने भन्ने टुंगो छैन।

गण्डकी प्रदेशमा हालसम्म जम्मा २९३ वटा मात्रै आइसोलेसन बेड रहेको दावी गरिएको छ। तीमध्ये कास्कीमा १११, स्याङ्जामा ४, लमजुङमा ५, गोरखामा ३५,पवर्तमा २०, म्याग्दीमा ६, बागलुङमा ९, नवलपुरमा २४, मनाङमा ७, मुस्ताङमा ६ र तनहुँमा १० वटा मात्रै रहेका छन्।

प्रदेशअन्तर्गतका सबै अस्पतालहरुमा आईसीयू निर्माणका लागि नीतिगत निर्णय भई प्रक्रिया अघि त बढेको छ तर काम भएको छैन। संक्रमितको उपचार गराउन भन्दै अहिले प्रदेशले मनाङ र मुस्ताङमा २/२ वटा र बाँकी जिल्ला अस्पतालमा ५/५ बेडको आईसीयू बनाउने निर्णय गरेको गरे पनि बागलुङमा बाहेक त्यो निर्णय कार्यान्वयमा आइसकेको छैन।

प्रदेशमा क्वारिन्टइन बेड भने ४ हजार ७२ वटा रहेको दावी गरिएको छ। भएका सबै विश्व स्वास्थ्य संगठनको मापदण्ड अनुसारका भने छैनन्। कोरोना संक्रमण फैलनुअघि पोखराको पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा १३ वटा र गण्डकीका निजी अस्पतालमा १८८ वटा आईसीयू छन्। प्रदेशले सञ्चालन गर्ने तयारी गरेको लेखनाथ सामुदायिक लायन्स अस्पतालमा १० वटा आईसीयू निर्माण गर्ने तयारी भएको छ। प्रदेश सरकारले अस्पतालमा पूर्वाधार जोड्न ३ करोड २० लाख रुपैयाँ छुट्याइएको छ। तर, काम नहुँदै संक्रमित बढ्दा खतरा पनि उत्तिकै बढेको छ।

गण्डकी स्वास्थ्य निर्देशनालयका निर्देशक डाक्टर विनोदविन्दु शर्माले पनि संक्रमण बढ्दै जाँदा आइसोलेसन बेड कम भएको स्वीकारे। उनले गोर्खामा आइसोलेसन बेड थप्न जनशक्ति परिचालन गरिएको, नवपुरमा ७ वटा भएकोमा १ सय वटा बनाइएको, बागुलङमा आइसोलेसन भरिएको र त्यहाँ क्याम्पसमा राख्ने तयारी गरिएको, पर्वतमा वैकल्पिक बनाउन लागिएको र लमजुङमा पनि यस्तै तयारी भएको जनाए। ‘हामी तयारीमा छौँ, स्याङ्जामा पहिला १० वटा थियो, त्यहाँ ८० वटा बनाउँदैछौं, तनहुँमा १० वटा थियो, जीपी कोइरालामा ८० वटा बनाइसकेका छौं’, उनले भने, ‘आईसीयू त आवश्यक प¥यो भने संक्रमितमध्ये एक सय जनामा २/३ जनालाई चाहिने हो, त्यसको चिन्ता छैन तर वेवास्था भने गरिएको छैन, तयारी हुँदैछ।’

गण्डकीमा हालसम्म ११३ जनामा संक्रमण देखिएको छ। मनाङ, मुस्ताङमा अहिलेसम्म संक्रमण नै देखिएको छैन। लमजुङ पनि अहिलेसम्म संक्रमण नेदेखिएको जिल्ला हो। यद्यपि, गण्डकी स्वास्थ्य निर्देशनालयले काठमाडौंमा देखिएको एक संक्रमणलाई आफ्नै प्रदेशको मानेको छ।

म्याग्दीमा २ जनामा संक्रमण देखिएपछि थप संक्रमण देखिएको छैन। तनहुँको संख्या पनि २ मात्रै छ। नवलपुरमा १७, कास्कीमा ५ जना संक्रमित भएको प्रदेश स्वास्थ्य निर्देशनालयको तथ्यांक रहेको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .