ad ad

समाज


बिनापरीक्षण डिस्चार्ज हुनेहरुको चिन्ताः बिरामी परेको बेला उपचार पाइएला त?

बिनापरीक्षण डिस्चार्ज हुनेहरुको चिन्ताः बिरामी परेको बेला उपचार पाइएला त?

यज्ञराज जोशी
जेठ २६, २०७७ सोमबार १०:१५,

अस्पताल भर्ना भएका तर १४ दिनसम्म लक्षण नदेखिएका कोरोना संक्रमितलाई अर्को परीक्षण नगरी डिस्चार्ज गर्न थालिएको छ। स्वास्थ्य मन्त्रालयले जारी गरेको नयाँ निर्देशिका अनुसार उनीहरुलाई घरमै क्वारेन्टिनमा बस्ने सुझाव दिँदै पठाउन थालिएको छ।

तर, घरमा क्वारेन्टिनको सुविधा नभएको तथा आवश्यक परे उपचार समेत नपाइने हो कि भन्ने चिन्ता डिस्चार्ज भएकाहरुमा देखिएको छ।

सुरुमा आइसोलेसनमा रहेका कोरोना संक्रमितहरुहरुको २ पटक पीसीआर विधिबाट गरी रिपोर्ट निगेटिभ नआउन्जेल डिस्चार्ज नगर्ने नीति सरकारले लिएको थियो। तर, संक्रमितको संख्या बढ्दै गएपछि स्वास्थ्य मन्त्रालयले जेठ २० मा नयाँ निर्देशिका जारी गर्दै १४ दिन क्वारेन्टिनमा बिताइ सकेपछि लक्षण नदेखिएकाहरुलाई निगेटिभ रिपोर्ट बिनै धमाधम डिस्चार्ज गर्न थालेको हो।

आइतबारमात्रै दाङको कोरोना विशेष अस्पताल बेलझुण्डीबाट १० जना संक्रमित डिस्चार्ज भए। अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. सर्वेश शर्माका अनुसार केहीको कोरोना रिपोर्ट निगेटिभ आएको हो भने केहीलाई मापदण्ड बमोजिम लक्षण नदेखिएको भन्दै डिस्चार्ज गरिएको हो।

यसअघि शनिबार बुटवलको कोरोना विशेष अस्थायी अस्पतालले पनि २७ जनालाई लक्षण नदेखिएको भन्दै रिपोर्ट निगेटिभ नआइकनै घर पठाएको थियो। त्यसअघि सेती प्रादेशिक अस्पतालले समेत ६ जनालाई त्यसैगरी डिस्र्चाज गरिसकेको छ।

स्वास्थ्य मन्त्रालयको निर्देशिकाअनुसार यसरी डिस्चार्ज भएकाहरुले घरमा आइसोलेसनमा बस्नुपर्ने जनाएको छ। उनीहरुलाई हावा खेल्ने तथा प्रर्याप्त प्रकाश आउने छुट्टै कोठामा बस्न भनिएको छ।

त्यस्तै, बाहिर ननिस्कने र आवश्यक सामाग्री परिवारका सदस्यहरुमार्फत मगाउने, पर्याप्त मात्रामा पानी, झोलिलो र पोषिलो खानेकुरा खाने, प्रयोग गरेको भाँडाकुँडा सुरक्षित रुपमा सफा गर्ने र राम्रो सुकेपछिमात्रै प्रयोग गर्ने गर्नुपर्छ।

स्नानघर, शौचालयको छुट्टै व्यवस्था मिलाउने, सामूहिक रुपमा प्रयोग गर्नुपर्ने अवस्थामा राम्रोसँग सरसफाइ गर्ने, व्यक्तिगत सामाग्रीहरु अरुलाई प्रयोग गर्न नदिने, हातधुने साबुन र पञ्जाको पर्याप्त व्यवस्था गर्नुपर्ने, दिनमा कम्तीमा ३ पटक ज्वरो जाँच गरी रेकर्ड राख्ने, हरेक दिन दुईपटक आफ्नो स्वास्थ्य अवस्थाबारे सम्बन्धित स्वास्थ्यकर्मीलाई फोन तथा एसएमएसबाट जानकारी गराउने गर्नुपर्छ।

तर हाल लक्षण नदेखिएपछि घर पठाइएका अधिकांश बिरामीले सरकारले तोकेको यस्तो मापदण्ड पूरा गर्न सक्दैनन। त्यसैले अस्पतालबाट घर फर्कंदा पनि उनीहरु खुलेर खुसी हुन सकेका छैनन। त्यसमाथि अस्पताल नजिक नहुँदा तत्काल समस्या आइपरे उपचार पाइने हो कि होइन भन्ने चिन्ताले पनि उनीहरुलाई सताएको छ।

‘लामो समय अस्पतालमा बसें। स्वास्थ्यमा पनि केही समस्या देखिएन,’ ३ दिनअघि बुटवलको कोरोना अस्पतालबाट डिस्चार्ज भएका कपिलवस्तुको यशोधराका एक संक्रमितले भने, ‘डाक्टरले ठिक भइसक्यो, एक हप्ता घरमा अलग्गै बस्नु भनेका छन्। तर घरमा बस्दा केही समस्या आइपर्‍यो भने बेलैमा अस्पताल जान पाइने हो कि होइन, चिन्ता छ।’

गाउँपालिकाका अध्यक्ष गिरजेशकुमार पाण्डेयले लक्षण नदेखिएर घर पठाइएकाहरुको घरमै पुगेर आफूहरुले दिनको एक पटक निरीक्षण गर्ने गरेको बताए।

‘उहाँहरु १८–२० दिन अस्पताल बसेर आइसक्नु भयो। कसैको स्वास्थ्यमा पनि केही समस्या छैन,’ अध्यक्ष पाण्डेयले भने, ‘हामीले उनीहरुलाई केही समस्या देखिए तत्काल फोन गर्नु भनेर नम्बर दिएका छौं। केही समस्या भए गाउँपालिकाको एम्बुलेन्समा राखेर अस्पताल पुर्‍याउँछौँ।’

यता जेठ ८ गते आएर धनगढीस्थित सेती प्रादेशिक अस्पतालको आइसोलेसनमा बसेका बैतडी शिवनाथ गाउँपालिकाका ४ जनालाई पनि होम क्वारेन्टिनमा बस्न भन्दै डिस्चार्ज गरिएको छ। अस्पतालबाट डिस्चार्ज भएपनि उनीहरु दुई दिनपछिमात्रै बैतडीस्थित घर फर्कन पाए।

बैतडी जाने साधनको व्यवस्थापन नहुँदा थप दुई दिन उनीहरुले अस्पतालमै कटाउनुपरेको थियो। तर, आइतबार भने गाउँपाालिकाले नै एम्बुलेन्स पठाएर उनीहरुलाई घरसम्म पुर्‍याएको छ।

‘अस्पतालबाट घर आउन पाउँदा त खुसी छु। स्वास्थ्य पनि ठिकै छ। तर, तलमाथि केही भयो भने समयमै अस्पताल जान पाइने हो कि हैन भन्ने चिन्ता छ,’ शिवनाथका एक संक्रमितले भने, ‘धनगढीजस्तो सुविधा भएको ठाउँबाट यहाँ आइपुग्न त दुई दिन लाग्यो। झन् यहाँ दुर्गममा आवश्यक पर्दा समयमै अस्पताल पुग्न पाइने हो कि नाइँ!’

गाउँपालिकाका अध्यक्ष कर्णसिंह साउदले संक्रमितहरु आफ्नो सम्पर्कमा रहेका कुनै समस्या आए तत्काल स्वास्थ्यकर्मीको व्यवस्था गरिने जनाए।

‘उनीहरुले हाम्रो अलग्गै घर छ। अलग्गै बस्छौं भनेपछि घरमै राखिएको छ,’ अध्यक्ष साउदले भने, ‘उनीहरु घरमा बसेका छन् कि छैनन् भनेर पनि हामी निगरानी गर्छौँ र स्वास्थ्यमा केही समस्या देखिए तत्काल स्वास्थ्यकर्मीको व्यवस्था गर्नेछौं।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .