ad ad

समाज


नगरपालिकाको लापरबाही : संक्रमित युवा मलामी गए, बनिबुतो गर्दै गाउँ-गाउँ डुले

नगरपालिकाको लापरबाही : संक्रमित युवा मलामी गए, बनिबुतो गर्दै गाउँ-गाउँ डुले

नेपालखबर
जेठ २८, २०७७ बुधबार ६:३,

सर्लाहीको हरिवनमा आरडिटी गरेर छाडिएका आठ जनामा कोरोना संक्रमण देखिएको छ। हरिवन नगरपालिकाले आरडिटी गरेर छाडेकामध्ये आठ जनाको पिसिआर परीक्षण गर्दा कोरोना पुष्टि भएको हो।

काठमाडौंको टेकुस्थित जनस्वास्थ्य प्रयोगशालामा गरिएको पिसिआर परीक्षणमा आठ जनामा कोरोना पुष्टि भएको हरिवन नगरपालिकाका मेयर गणेश प्रसाईंले जानकारी दिए।

‘मंगलबार साँझ प्राप्त रिपोर्टअनुसार हामीले एक सताअघि आरडिटी गरेर छाडेका २९ मध्ये आठ जनामा कोरोना भाइरस पोजेटिभ देखिएको छ,’ मेयर प्रसाईंले नेपालखबरसँग भने, ‘हामीले मंगलबार राति नै सबै संक्रमितलाई नगरपालिकाकै आइसोलेसनमा राखिसकेका छौँ।’

हरिवन ८ का तीन जना, हरिवन ११ का दुई जना तथा २, ३ र ४ नम्बर वडाका एक/एक जनामा कोरोना पोजेटिभ रिपोर्ट आएको हो।

रिपोर्ट नआउँदै नगरपालिकाले संक्रमितलाई घर पठाएको भनेर अहिले स्थानीयले असन्तुष्टि व्यक्त गरिरहेका छन्। मंगलबार संक्रमण पुष्टि भएका आठ जनालाई नगरपालिकाले एक साताअघि आरडिटी गरेर घर पठाएको थियो।

नगरपालिकाले पिसिआर रिपोर्ट नआउन्जेल होम क्वारेन्टाइनमा बस्नु भनेर उनीहरुलाई घर पठाएको भए पनि केही संक्रमितले त्यसको पालना नगरेको स्थानीयले बताएका छन्।

हरिवन ८ पुरानो बजारका एक संक्रमित युवा घर फर्किएपछि मलामी जानेदेखि बनीबुतो गर्नसमेत हिँडेको पाइएको छ। उनी नगरपालिकाको क्वारेन्टाइनबाट घर आएपछि एक सातासम्म गाउँगाउँमा डुलेका हुन्।

‘नगरपालिकाले छाडेपछि उनी कहिल्यै होम क्वारेन्टाइनमा बसेनन्, गाउँगाउँमा डुलिरहे,’ एक छिमेकीले भने, ‘केही दिनअघि छिमेकका एक वृद्धको मृत्यु हुँदा उनी मलामी पनि गए। दिनहुँ बनिबुतो गर्न हिँडिरहेका छन्। उनैलाई संक्रमण देखियो भन्दा गाउँका सबै त्रसित भएका छन्।’

मेयर प्रसाईंले भने संक्रमितलाई होम क्वारेन्टाइनमा बस्नु भनेर छाडिएको बताए। ‘हामीले आरडिटी गरेर छाड्दा उनीहरुलाई होम क्वारेन्टाइनमा बस्नुस् भनेका थियौं,’ उनले भने, ‘रिपोर्ट आउन ढिलाई हुँदा समस्या भएको हो, तर संक्रमित कसैलाई पनि लक्षण देखिएको छैन।’

हरिवन नगरपालिकाले भारतबाट आएकालाई सामूहिक रुपमा क्वारेन्टिनमा राख्दै आएको छ। अहिले हरिवन ११ बासाटोलमा नगरपालिकाको निर्माणाधिन भवनलाई नगरपालिकाले क्वारेन्टाइनको रुपमा प्रयोग गर्दै आएको छ।

हरिवन नगरपालिकाको क्वारेन्टाइनमा हाल ७६ जना बसिरहेका छन्। उनीहरु सबै भारतबाट आएका मेयर प्रसाईंले जानकारी दिए। यसअघि काठमाडौंको कालिमाटीमा स्वाब परीक्षण गर्दा संक्रमण पुष्टि भएका हरिवन १० सुखेपोखरीका एक संक्रमित युवा भने निको भएर घर फर्किसकेका छन्।

 

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .