ad ad

समाज


परिस्थितिको समीक्षापछि मात्रै स्कुल र हवाई यातायातबारे निर्णय गरिने

परिस्थितिको समीक्षापछि मात्रै स्कुल र हवाई यातायातबारे निर्णय गरिने

नेपालखबर
साउन २१, २०७७ बुधबार १५:५५,

कोरोना संक्रमितको संख्या बढ्दै जाँदा सरकारले भदौ पहिलो साता परिस्थितिको समीक्षा गरेर मात्रै स्कुल र हवाई यातायात सञ्चालनबारे आवश्यक निर्णय गरिने जनाएको छ। यसअघि सरकारले यी क्षेत्र भदौ १ बाट सञ्चालन गर्ने बताएको थियो।

स्वास्थ्य मन्त्री भानुभक्त ढकालले स्कुल–कलेज र हवाई यातायात सञ्चालनबारे समीक्षापछि मात्र निर्णय गरिने बताए।

सरकारले बिहीबारदेखि नै सडक यातायातमा जोरबिजोर प्रणाली लागू गरिसकेको छ भने राति ९ बजेदेखि बिहान ५ बजेसम्म हिँडडुलमा रोक लगाएको छ।

बुधबार मन्त्रालयले सञ्चारकर्मीहरुसँग गरेको अन्तक्र्रियामा स्वास्थ्यमन्त्री ढकालले परिस्थिति नियन्त्रणबाहिर नगएको दाबी गरे।

‘मन्त्रालयले यसअघि साउन २५ गते संक्रमितको संख्या उच्चबिन्दुमा पुग्ने र भदौ २ गतेसम्म त्यो कायम रहने अनुमान गरेको थियो। तर हिजो (साउन २०) गतेसम्मको अवस्थामा हेर्दा संक्रमणको संख्या अनुमान गरिएको भन्दा कम छ,’ ढकालले भने, ‘हामीले शिक्षा, उडानसहितका विषयमा भदौ १ बाट सञ्चालनमा ल्याउने भएका थियौं। संक्रमणको अवस्था हेरेर त्यस विषयमा पनि समीक्षा हुने छ।’

पछिल्लो एक सातामा संक्रमितको संख्या वृद्धि निरन्तर रुपमा वृद्धि हुँदै गएको छ।

कार्यक्रममा स्वास्थ्य मन्त्रालयका सचिव लक्ष्मण अर्यालले पूर्ण लकडाउन नभई अनुशासित अवागमनका लागि मन्त्रालयले सिफारिस गरेको बताए।

‘६० प्रतिशत मोबिलिटी खुला गर्ने गरी जानुपर्छ भन्ने सुझाव दिएका छौं। जोरविजोर लागू गर्न सुझाव दिएका छौं,’ अर्यालले भने।

मन्त्रालयले गरेको अध्ययनमा साउन २५ देखि भदौ २ गतेसम्म संक्रमितको संख्या विकराल अवस्थामा ९१ हजार र मध्यम अवस्थामा ४९ हजार पुग्ने अनुमान गरिएको थियो।

मन्त्री ढकालले सोलोडोलो रुपमा लकडाउन गर्ने पक्षमा आफूहरु नभएको बताए। ‘पहिलो लकडाउनको शिक्षा हो–सालाखाला रुपमा लकडाउनले काम गर्दैन,’ ढकालले भने, ‘भारतसँग सीमा जोडिएको जिल्लाहरु उच्च जोखिममा छन्। त्यसमा संक्रमण नियन्त्रणका लागि उपाय अपनाउने छौं।’

संक्रमणको संख्या बढी भएको १४ वटा जिल्लामा निषेधाज्ञा जारी गरिएको छ।

मंगलबार मन्त्रालयले सार्वजनिक गरेको विवरणअनुसार देशभर २१ हजार ३ सय ९० जना संक्रमित भएका छन्। जसमध्ये ६ हजार १ सय ७४ जना आइसोलेसनमा छन्। कोरोनाको कारण हालसम्म ६३ जनाको मृत्यु भएको छ।

सचिव अर्यालले सरकारले संक्रमितको संख्या ४९ हजार र आईसीयूमा भर्ना हुनसक्ने १ हजार ५ सयसम्मका लागि आवश्यक तयारी गरेको बताए।

‘हालसम्म करिब एक सय जना मात्रै आईसीयूमा उपचार गराउनु पर्ने अवस्था भयो। बाँकीका लागि आवश्यक पर्ने औषधि र अन्य सामग्रीहरु उपलब्ध छ,’ अर्यालले भने।

तर, कार्यक्रममा स्वास्थ्यमन्त्री ढकालले लक्षणसहित पाको उमेरका बिरामी देखिनका थालेकाले अवस्था पहिलेभन्दा चुनौतीपूर्ण रहेको बताए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .