कोरोना संक्रमणबाट पोखरामा सशस्त्र प्रहरीमा कार्यरत २५ वर्षीय युवाको ज्यान गएको छ।
बागलुङ जिल्लाको गलकोट नगरपालिका वडा नम्बर ९ का ती युवाको गएराति ११ः३० बजेतिर पोखराको मणिपाल शिक्षण अस्पतालमा निधन भएको गण्डकी स्वास्थ्य निर्देशनालयले पुष्टि गरेको छ।
असोज २५ गते अस्पताल भर्ना भएका ती युवामा असोज २७ गते कोरोना पुष्टि भएको थियो। उनी सशस्त्र प्रहरी बल मुस्ताङमा कार्यरत थिए। मृतक युवा प्रहरीमा कोरोनाबाहेक अन्य कुनै रोग नभएको अस्पतालले जनाएको छ।
कोरोनाबाट गण्डकीमा सुरक्षाकर्मीको मृत्यु भएको यो पहिलो घटना हो। उनको निधनसँगै गण्डकीमा कोरोनाबाट मृत्यु हुनेको संख्या ४७ पुगेको छ।
कोरोना संक्रमणकै कारण यसअघि दुई सैनिकको ज्यान गएको छ। ज्यान गुमाउने सैनिक रामेछाप र तनहुँका हुन्। उनीहरुमा दीर्घ रोगसमेत थियो।
यता गण्डकी स्वास्थ्य निर्देशनालयका अनुसार गण्डकीमा कोरोना संक्रमितको संख्या ५ हजार ४७१ पुगेको छ। निर्देशनालयले उपलब्ध गराएको पछिल्लो विवरण अनुसार परीक्षणबाट पोखराको मेट्रोसिटी अस्पतालमा कार्यरत एक चिकित्सकसहित ३७ जनामा संक्रमण पुष्टि भएको छ। मेट्रोसिटीमा उपचाररत पर्वतको कुश्माकी एक ३८ वर्षीया महिलामा पनि संक्रमण देखिएको छ।
गण्डकीमा पछिल्लो पटक संक्रमित भएकामध्ये १७ जना नवलपरासीका छन्। गोरखाका ९ जना, लमजुङ र स्याङ्जाका ४÷४ जना, बागलुङका २ जना एवं कास्की र पर्वतका १÷१ जनामा संक्रमण पुष्टि भएको हो।
Shares
प्रतिक्रिया