म्याग्दीमा डमबहादुुर पुन पूर्वलाहुरे हुन्। लाहुरबाट फिरेपछि उनी सामाजिक काममा लागे। म्याग्दीको घोडेपानीमा होटल खोले। होटल पनि मज्जाले चल्यो।
सामाजिक कामले उनलाई लोकप्रिय मात्रै बनाएन, अघिल्लो स्थानीय चुनावमा अन्नपूर्ण गाउँपालिकाको अध्यक्ष नै बनाइदियो। जनताले डमबहादुर र कांग्रेस दुबैलाई पत्याए, उनी कांग्रेसको तर्फबाट गाउँपालिका अध्यक्ष बने। अन्नपूर्ण हिमालको फेदमा रहेका उनै डमबहादुरले सोमबार गण्डकीका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङसँग मितेरी साइनो गाँसे।
लमजुङका पूर्वशिक्षक समेत रहेका गण्डकीका मुख्यमन्त्रीसँग यसअघि भेट हुँदा दुबैको कुरा मिल्यो। राजनीतिक रुपले फरक पार्टी र ओहोदामा भए पनि उनीहरुले मित लगाउने निधो गरे।
म्याग्दीको अन्नपूर्ण गाउँपालिका– २ भुरुङतातोपानीमा सोमबार साँझ आयोजित एक कार्यक्रममा मुख्यमन्त्री गुरुङ र गाउँपालिका अध्यक्ष पुनले पारिवारिक वातावरणमा मितेरी साइनो लगाए। पूर्व समझदारी अनुसार मुख्यमन्त्री गुरुङ म्याग्दी गएको बेला एक अर्काले टिका, माला र नेपाली ढका टोपि लगाएर ‘मित’ साइनोमा जोडिए।
जनप्रतिनिधि भएपछि केही कार्यक्रममा मुख्यमन्त्री गुरुङसँग सँगै हुने अवसर मिलेको र धेरैले दुई भाइजस्तै भनेर चिनाउन थालेपछि आफूहरुबीचको भावनात्मक सम्वन्ध बढेको अध्यक्ष पुनले बताए।
अघिल्लो वर्ष अन्नपूर्ण गाउँपालिकाले आयोजना गरेको प्रथम अन्नपूर्ण पर्यटन महोत्सवकै अवसरमा मुख्यमन्त्री गुरुङ र गाउँपालिका अध्यक्षबीच मितेरी साइनो लगाउने तय भइसकेको थियो।
आफ्नो काम पट्याउन, शक्ति आर्जन गर्न मित लगाउने चलन नेपालको लागि नयाँ हैन। पछिल्लो पुस्तामा भने आत्मियता बढाउने मितेरी साइनो हराउँदै गएको छ।
जनजाति पृष्ठभूमिका मुख्यमन्त्री गुरुङ र गाउँपालिका अध्यक्ष पुनले मित लगाएर यो संस्कृति बचाउने प्रयत्न गरेका छन्।
Shares
प्रतिक्रिया