क्यानाडामा पनि कोरोना विरुद्धको फाइजर–बायोएनटेक खोप लगाउने तयारी सुरु भएको छ। अमेरिकाले सोमबारदेखि नै आफ्ना नागरिकलाई यो खोप लगाउन सुरु गरिसकेको छ।
क्यानाडामा पहिलो चरणको खोप आइतवार स्वदेश भित्रिएको प्रधानमन्त्री जस्टिन ट्रुडोले जानकारी दिएका छन्।
सामाजिक सञ्जाल ट्वीटरमा उनले लेखेका छन्, ‘फाइजर-बायोएनटेकको कोरोना विरुद्धको खोपको पहिलो चरणको आयात गरिएको छ।’ उनले गएको बिहीबार पहिलो चरणमा तीस हजार मात्रा खोप केही दिनमै स्वदेश भित्र्याइने जानकारी दिएका थिए।
त्यसअघि क्यानडाको स्वास्थ्यसम्वन्धी नियमक निकायले खोप ल्याउनु उपयुक्त हुने निश्कर्ष निकाल्दै खोप ल्याउन अनुमति दिएको थियो। खोप ल्याउनका लागि आवश्यक बजेटको व्यवस्था पनि क्यानडाको केन्द्रीय सरकारले गरिसकेको छ।
क्यानडाले यो डिसेम्बर महिना भित्रमा दुई लाख ४९ हजारभन्दा बढी खोप स्वदेश भित्र्याउँदै छ। यो खोपले एक लाख २४ हजार ५०० नागरिकलाई यसै बर्षमा सेवा दिने क्यानडा सरकारको योजना छ।
कोरोना भाइरसका कारण क्यानडामा अहिलेसम्म चार लाख ६० हजार ७४३ जना सङ्क्रमित भएका छन् भने १३ हजार ४३१ जनाको मृत्यु भएको छ। ऐजेन्सी
प्रतिक्रिया