काठमाडौंको खुलामञ्च अतिक्रमण गरी बनाइएका टहराहरु भत्काइएको छ।
बुधबार बिहान काठमाडौं महानगरपालिकाले डोजर लगाएर टहराहरु भत्काएको हो।
महानगरले अतिक्रमण गरी बनाएका संरचना तीन दिनभित्र भत्काएर खुलामञ्च खाली गरिने जनाएको छ। संरचना भत्काउने कामको संयोजन महानगरका नगर प्रहरी नायब उपरीक्षक दिनेश अर्याल गरिरहेका छन्।
खुलामञ्चमा वीर अस्पताल र दरबार हाइस्कूलको भवन पुनर्निर्माण गर्न आवश्यक निर्माण सामग्रीहरु राखिएको थियो भने त्यहाँ काम गर्ने मजदुरहरु टहरा बनाएर बसेका थिए। यी दुवै संरचना निर्माण सम्पन्न भएपनि खुलामञ्चमा निर्माण सामग्री र मजदुर बस्ने टहरा हटाइएको थिएन।
केही समयअघि नागरिक अभियान्ताहरुले खुलामञ्च खाली गर्न माग गर्दै सरकारलाई दबाब दिएका थिए। हाल खुलामञ्च खाली नभएका कारण राजनीतिक दलका सभाहरु प्राय: सडकमै हुने गरेका छन्।
प्रतिक्रिया