सीमानाकामा लक्षण भएकालाई मात्र एन्टिजेन जाँच गर्ने र अरूलाई त्यसै छाड्ने नीतिबारे
-कोरोना भाइरसको संक्रमण भइसकेपछि लक्षण देखिन वा लक्षण नदेखिए पनि एन्टिजेन वा पीसीआर जाँचमा पोजिटिभ देखिन २ देखि १४ दिनसम्म लाग्न सक्छ। अर्थात् आज सीमामा प्रवेश गर्दा कसैलाई लक्षण नभए पनि हप्ता दिनपछि उसलाई लक्षण देखिने वा लक्षण नदेखिए पनि उसले सास फेर्दा भाइरस हावामा फ्याँकिने र अरूलाई सर्ने सम्भावना हुन्छ। आज पीसीआर वा एन्टिजेन टेस्ट नेगेटिभ भयो भन्दैमा उसबाट अरूलाई रोग सर्ने सम्भावना छैन भन्नै मिल्दैन। त्यसै कारण केही हजार वर्षअघिदेखि नै मान्छेहरूले संक्रमण हुन सक्ने क्षेत्रबाट आउनेलाई क्वारेन्टिनको प्रचलन सुरु गरेका थिए।
–कोरोना भाइरसको संक्रमण भइसकेका (र, जाँच गरे पोजिटिभ देखिने) व्यक्तिहरूमै पनि फरक समुदायमा गरिएका विभिन्न अध्ययनले देखाएअनुसार एकतिहाइदेखि दुई तिहाइसम्म संक्रमितलाई सुरुदेखि अन्त्यसम्मै लक्षण पटक्कै नहुन सक्नेरहेछ। यद्यपि तिनीहरूबाट रोग अरूलाई सर्न भने मजाले सक्ने रहेछ। यस्तालाई अंग्रेजीमा presymptomatic भनिन्छ। त्यस्तै लक्षण हुनेहरूमै पनि सबैभन्दा संक्रामक अवस्थाचाहिँ लक्षण सुरु हुनुभन्दा २४ घन्टाअगाडिको समय हुँदोरहेछ। यस्तो लक्षण देखिनुपूर्वको अवस्थालाई अंग्रेजीमा presymptomatic भनिन्छ। अर्थात् सीमामा अहिले लक्षण नै नभएका थुप्रै व्यक्ति यस्ता asymptomatic वा presymptomatic संक्रमित हुन सक्छन्, जसलाई परीक्षण गरेको भए पोजिटिभ देखिन्थ्यो। तिनलाई परीक्षण नै नगरी निर्वाध प्रवेश गर्न दिँदा बाटोमै वा आफ्ना गाउँघर पुगेपछि तिनीहरूबाट सम्पूर्ण समुदायभरि संक्रमण फैलिन सक्ने सम्भावना छ।
–धेरै आँकडामा देखिसकिएको छ कि एन्टिजेन जाँच छिटो र प्राविधिक हिसाबले सजिलो भए पनि संक्रमित पहिचान गर्न सक्ने यसको क्षमता सबै परिस्थिति नियन्त्रण गरिएको प्रयोगात्मक परिवेशमा पनि ८० प्रतिशतभन्दा केही बढी मात्र छ र त्यस्तो सबै मापदण्ड अक्षरशः पालना नहुने ‘रियल-वर्ल्ड सेटिङ’हरूमा यो जाँचले संक्रमितको ठूलो हिस्सालाई नेगेटिभ देखाउन सक्छ। त्यसैले सीमानाकामा अहिल्यै पोजिटिभ भएकालाई अरूबाट छुट्याएर राख्न त यसको प्रयोजन हुन्छ, तर कोभिडको जस्तै लक्षण भएकै कुन व्यक्ति कोरोना भाइरस-संक्रमित छैन र निर्वाध घर जान पाउँछ भनेर छुट्याउने मापदण्ड यसलाई बनाए ठूलो समस्या हुने निश्चित छ।
प्रश्न : अनि के गर्ने त?
उत्तर : सीमापारीबाट आउने सबैलाई क्वारेन्टिन राख्नैपर्छ। बरु १४ दिन सकिँदैन भने ७ वा १० दिन मात्रै राखौं र त्यसपछि पीसीआर गरौं। यदि नेगेटिभ पीसीआर आयो भने घर पठाउन/पुर्याउन सकिन्छ।
प्रश्न : कसरी गर्ने? मान्छेहरू नाका नभएका खुला सीमाबाट हुलका हुल प्रवेश गरिरहेका छन् त ! फेरि लाखौंलाई क्वारेन्टिन र पीसीआरको व्यवस्थापन त धेरै खर्चिलो हुन्छ नि ?
उत्तर : क्वारेन्टिनमा मान्छे आउने इन्सेन्टिभ हुनुपर्यो। सफा, स्वस्थ, सुरक्षित र कमसेकम बस्न कष्टकर नहुने बनाउन सक्नुपर्यो। अहिले क्वारेन्टिनको व्यवस्थापन र पीसीआर जाँचका लागि केही अर्ब रुपैयाँ खर्च गर्न लोभ गरेर महामारी नियन्त्रणका लागि गर्न सकिने कामलाई अठोट र आँट नदेखाउनु भनेको पछि लकडाउनलाई झन् अवश्यम्भावी, लामो र कष्टपूर्ण बनाउने सुनिश्चित गर्नु हो र अन्तमा खर्बौंमा त्यो अकर्मण्यता र लाछीपनाको मूल्य चुकाउनुपर्नेछ।
राज्यले अरू के गर्ने?
–धेरै काम होलान्, तर गर्नैपर्ने एउटा मुख्य काम– अहिले देशको सीमाभित्रै पनि दिनदिनै पहिचान भइरहेका नयाँ संक्रमित र अरू पनि सुरक्षित हुने गरी आइसोलेसनमा बस्ने व्यवस्था मिलाउने, तिनको राम्रोसँग कन्ट्याक्ट ट्रेसिङ गर्ने र पहिचान भएका सम्पर्कमा आएका व्यक्तिलाई पनि यथोचित् क्वारेन्टिन र पीसीआर जाँचको व्यवस्था गर्ने। पछि आउने नयाँ र सायद थप चुनौतीपूर्ण भेरिएन्टका नयाँ उभारका लागि पनि त्यति त गर्न सक्ने जनस्वास्थ्य संयन्त्र बनाउनैपर्नेछ। अहिले राज्यले सीमामा र सीमाभित्र यत्ति मात्र गर्नुको महत्त्व बुझिदिए महामारी अनियन्त्रित रूपमा बढ्न पाउने थिएन।
प्रतिक्रिया