कञ्चनपुरको महाकाली अस्पताल र कैलालीको सेती प्रादेशिक अस्पताल कोरोना संक्रमितले भरिभराउ भएका छन्।
कोरोना भाइरसको दोस्रो लहरले अति प्रभावित भारतबाट आउनेलाई व्यवस्थापन गर्न नसक्दा संक्रमणको ‘हटस्पट’ बनिरहेको अवस्थामा अस्पतालका आइसोलेसन वार्ड बिरामीले भरिएका हुन्।
सुदूरपश्चिमका दुई प्रमुख अस्पताल महाकाली र सेती संक्रमितले ‘प्याक’ भए पछि बिरामीलाई व्यवस्थापन गर्न चुनौती थपिएको चिकित्सक बताउँछन्।
महाकाली अस्पतालमा ५० बेड क्षमताको कोरोना बिशेष आइसोलेसन वार्ड छ। त्यहाँ अहिले ६० जना संक्रमित उपचाररत छन्। लक्षण सहितका गम्भीर बिरामी बढ्दै गएपछि अन्य ३० वार्डलाई पनि अहिले कोरोना मध्यनजर गरेर आइसोलेसनमा परिणत गरिएको अस्पतालका कोभिड–१९ फोकल पर्सन डा. गोविन्द्र रोकायाले बताए।
‘लक्षण सहितका गम्भिर बिरामीको संख्या दिन प्रति दिन बढ्दै गएको छ। आइसोलेसन वार्ड भरिभराउ भएका छन्’ उनले नेपालखबरसंँग भने, ‘संक्रमित थपिँदै जाँदा बिरामीलाई कसरी व्यवस्थापन गर्ने भन्ने समस्या उत्पन्न भएको छ।’
उता सेती प्रादेशिक अस्पतालको आइसोलेसन पनि संक्रमितले भरिभराउ रहेको त्यहाँका सूचना अधिकारी दिलिप कुमार श्रेष्ठ बताउँछन्। उनका अनुसार ५५ शय्याको आइसोलेसनमा हाल ५२ जना संक्रमित भर्ना भएका छन्।
‘लक्षण सहितका गम्भीर बिरामीलाई मात्रै भर्ना गर्ने गरेका छौँ। कोभिड आइसोलेसन भरिभराउ भएको छ’ उनले नेपालखबरसँग भने, ‘गम्भीर प्रकृतिका संक्रमित बढ्दो क्रममा रहेकोले आइसोलेसन वार्ड अभाव हुने देखिन्छ। हामीले मन्त्रालयलाई यो जानकारीसहित पत्र पठाएका छौँ।’
हाल सेती प्रादेशिक अस्पतालमा तीन संक्रमितको भेन्टिलेटरमा राखेर उपचार भइरहेको छ। अस्पतालमा भर्ना भएका संक्रमितमध्ये आठ जना आइसोलेसनमा छन् भने २३ जना अक्सिजन आवश्यक पर्ने बिरामी रहेको सूचना अधिकारी श्रेष्ठले बताए।
यस्तै पहाडी जिल्लाको सबैभन्दा ठूलो अस्पताल डडेल्धुरा उप–प्रादेशिक अस्पतालको आइसोलेसन पनि संक्रमित भरिन थालेको छ। डडेल्धुरा उप–प्रादेशिक अस्पतालका सूचना अधिकारी टंक पन्तका अनुसार अक्सिजन सहितको ८ बेडकोन आइसोसनमा हाल ८ जना संक्रमित भर्ना भएका छन्।
‘पाँच बेड भेन्टिलेटर सहितको वार्ड पनि हामीसँग उपलब्ध छ। हामीले त्यसलाई उपयोग गरेका छैनौँ। गम्भीर प्रकृतिका बिरामी बढ्दै गए केहीलाई त्यहाँ व्यवस्थापन गर्न सकिन्छ’ उनले भने, ‘तर अहिले संक्रमणको फैलावटलाई हेर्दा यो अवस्थाले धान्न सक्ने अवस्था छैन।’
कञ्चनपुर र कैलालीमा दैनिक दुई सय जना कोरोनाका बिरामी थपिँदै गएका छन्।
कञ्चनपुरमा अक्सिजन अभाव
महाकाली अस्पतालमा बिरामी बढेपछि अक्सिजनको अभाव हुन थालेको छ। लक्षण सहितका गम्भीर खालका बिरामी बढ्दै गएपछि अक्सिजनको अभाव हुन थालेको अस्पतालका कोभिड–१९ फोकल पर्सन डा. रावलले बताए।
अक्सिजन प्लान्टले अस्पताललाई आवश्यकता अनुसार अक्सिजन दिन नसकेको उनले बताए।
‘आवश्यकता अनुसार आपूर्ति हुन नसकेपछि हामीले बाहिरबाट पनि मगाएका छौँ’ उनले भने, ‘संक्रमण बढ्दै जाँदा व्यवस्थापनको निकै समस्या आएको छ।’
उनका अनुसार अस्पताल भर्ना हुनेमध्ये ८० प्रतिशत बिरामी अक्सिजन आवश्यक पर्ने प्रकृतिका छन्।
महाकाली अस्पतालका चिकित्सक सहित कर्मचारीमा कोरोना संक्रमण भएपछि जनशक्ति अभाव हुँदा संक्रमितको उपचार तथा रेखदेखमा निकै समस्या सिर्जना भएको उनी बताउँछन्।
‘अस्पतालका ३ जना चिकित्सकसहित प्रशासन फाँटका अधिकांशमा संक्रमण पुष्टि भएपछि आइसोलेसनमा बस्नु भएको छ। त्यसले गर्दा जनशक्ति अभाव भएको छ’ उनले भने, ‘हामीले अन्य सेवामा बिरामीको फ्लो कम गराएर त्यहाँका डाक्टरले जेनचेत काम चलाउनु परेको छ।’
भारतबाट फर्किनेलाई व्यवस्थापन नगर्दा कोरोनाको ‘हटस्पट’ बन्दै कैलाली-कञ्चनपुर
प्रतिक्रिया