राजधानी काठमाडौँसहित देशका मुख्य ठूला शहरका अस्पतालमा शय्या अभाव हुन थालेपछि हेलिकोप्टरमार्फत संक्रमितलाई चितवन ल्याउन थालिएको छ । भरतपुरका अस्पतालमा अक्सिजन र शय्याको अभाव हालसम्म नदेखिएपछि अन्यत्रबाट यहाँ सङ्क्रमित ल्याउने क्रम बढेको हो।
जिल्लाको सरकारी भरतपुर अस्पताल, चितवन मेडिकल कलेज र कलेज अफ मेडिकल साइन्सेजमा कोभिड उपचार हुँदै आएको छ । भरतपुरकै विपी कोइराला मेमोरियल क्यान्सर अस्पतालले पनि क्यान्सरका बिरामी र कर्मचारी सङ्क्रमित भएमा राख्नका लागि २० शय्याको कक्ष तयार गरेको छ। यी सबै अस्पतालका आफ्नै अक्सिजन प्लान्ट भएकाले हालसम्म अक्सिजनको अभाव देखिएको छैन।
चितवन मेडिकल कलेजका प्रमुख कार्यकारी निर्देशक प्रताप देवकोटाका अनुसार हालसम्म काठमाडौँबाट दुई, नेपालगञ्जबाट दुई, दाङ र भैरहवाबाट एक÷एक सङ्क्रमितलाई हेलिकोप्टरबाट चितवन ल्याएको छ। शनिबार मात्रै एक सङ्क्रमितलाई काठमाडौँबाट हेलिकोप्टरमार्फत यहाँ ल्याइएको उनले जानकारी दिए।
एम्बुलेन्स र अन्य साधन प्रयोग गरी धेरै टाढाबाट चितवन आउने सङ्क्रमितको सङ्ख्या ठूलो छ । ‘यसरी आउनेको यकिन तथ्याङ्क त छैन तर ठूलो सङ्ख्यामा काठमाडौँलगायतका ठूला शहरबाट सङ्क्रमित यहाँ आएका छन्,’ देवकोटाले भने।
स्वास्थ्य कार्यालय चितवनका प्रमुख दीपक तिवारीले बिरामी थाम्न मुस्किल हुन थालेको बताए। ‘अब थप बिरामी उपचार गर्न कठिन होलाजस्तो छ । सके र भएसम्म हामी जुटिरहेका छौँ,’ उनले भने।
चितवनका प्रमुख जिल्ला अधिकारी प्रेमलाल लामिछानेले जटिल बिरामीलाई मात्रै चितवन पठाइदिन छिमेकी जिल्लामा अनुरोध गरेको बताए। आज मात्रै मकवानपुर, नवलपरासी पूर्व र पश्चिम तथा रुपन्देहीका प्रमुख जिल्ला अधिकारीलाई टेलिफोन गरेर सामान्य अवस्थाका बिरामीलाई त्यहीँ व्यवस्थापन गरी जटिल मात्रै पठाइदिन अनुरोध गरेको उनले जानकारी दिए।
सामान्य अवस्थाका सङ्क्रमित आएर शय्या भरिएमा जटिल बिरामीलाई उपचार दिन कठिन हुने भएकाले यस्तो आग्रह गरिएको उनको भनाई छ। जिल्लाका अन्य निजी अस्पतालले पनि आइतबारदेखि सङ्क्रमितको उपचार थाल्दैछन्। अस्पतालहरुलाई वैकल्पिक स्वास्थ्यकर्मीको टिम तयार गरेर राख्न भनिएको छ।
जिल्लाका अस्पतालमा कोभिडको उपचार गराउन आउने ५० प्रतिशत हाराहारी बाहिरी जिल्लाका छन्। स्वास्थ्य कार्यालय चितवनले दिएको जानकारीअनुसार जिल्लाका अस्पतालमा ३५६ सङ्क्रमितको उपचार भइरहेको छ । तीमध्ये चितवन मेडिकल कलेजमा १४९, भरतपुर अस्पतालमा १३१, कलेज अफ मेडिकल साइन्सेस शिक्षण अस्पतालमा ५१, क्यान्सर अस्पतालमा एक र अन्य अस्पतालमा २४ जनाको उपचार भइरहेको कार्यालयले जनाएको छ।
पछिल्लो २४ घण्टामा चितवनका विभिन्न अस्पतालमा र अस्पताल ल्याउँदै गरेको अवस्थामा १४ जनाको मृत्यु भएको छ । जनस्वास्थ्य अधिकृत गीताञ्जली ढकालका अनुसार भरतपुर अस्पतालमा छ, चितवन मेडिकल कलेजमा दुई, कलेज अफ मेडिकल साइन्सेजमा तीन, क्यान्सर अस्पतालमा एक र राप्ती नगरपालिकाबाट अस्पताल ल्याउँदै गर्दा बाटोमा एक जनाको मृत्यु भएको छ। रासस
प्रतिक्रिया