नर्भिक अस्पतालले सरकारले तोके अनुसारको अक्सिजन पनि प्राप्त नभएको बताएको छ।
कोरोना महामारी बढेसँगै अक्सिजन अभाव हुन थालेपछि सरकारले अस्पतालहरुलाई कोटा निर्धारण गरेको थियो।
वर्तमान असहज अवस्था भएता पनि उपलब्ध सीमित साधनस्रोतमा बिरामीहरुको उपचारमा कुनै कमी नरहोस अस्पताल प्रयत्नशील रहेको नर्भिकले जनाएकोछ।
'राज्यको अनुदार नीतिले झन समस्यालाई बल्झाएको छ र तोकिएको कोटाअनुसार अक्सिजनसमेत उपलब्ध हुन सकेको छैन', नर्भिकद्वारा जारी विज्ञप्तिमा भनिएको छ, 'यो अवस्था यसै गरि जारी रहने हो भने अकल्पनीय घटना घटन सक्ने अनुमान सहजै गर्न सकिन्छ।'
नर्भिकले ‘कोभिड अस्पताल’को रुपमा रुपान्तरण गरि सेवा प्रदान गरिरहेको छ।
'अक्सिजन लगायत अन्य उपचार सामग्री उपलब्ध भए सम्म बिरामीको उपचार सेवामा कुनै कमी हुन दिने छैनौ। साथै, स्थिति हाम्रो काबु बाहिर नजाओस भनि हामी प्रयत्नशील पनि छौं,' अस्पतालले भनेको छ।
सरकारका सम्बद्ध निकायहरूका साथै सबै पक्षलाई संवेदनशील भएर कोभिडविरुद्धको लडाईमा अत्यन्त सुझबुझ र विवेकशील भै आ–आफ्नो दायित्व निर्वाह गरिदिन समेत अस्पतालले आह्वान गरेको छ।
प्रतिक्रिया