ad ad

समाज


घर–घरमा ‘बिरुडा’ राखेर सुदूरपश्चिममा गौरा पर्व सुरु

घर–घरमा ‘बिरुडा’ राखेर सुदूरपश्चिममा गौरा पर्व सुरु

गोकुल जोशी
भदौ ३, २०७६ मंगलबार ६:२४,

सुदूरपश्चिम प्रदेशमा सोमबारदेखि गौरा पर्व सुरु भएको छ । यस पर्वको पहिलो दिन सोमबार पञ्चमीका दिन महिलाले बिहानै स्नान गरी घर–घरमा बिरुडा राखेका छन्। पञ्चमीका दिनदेखि घर–घरमा बिरुडा राखेर गौरा पर्व सुरु हुने भीमदत्त नगरपालिका–१८ की कृष्णा भट्टले बताइन्।

घरको एक कोठामा गाईको गोबरले लिपेर तामा पित्तलका भाँडाको बाहिरपट्टि पाँच ठाउँमा गाईको गोबर र दूबो लगाई टीका र अक्षताले सिङ्गारेर धूपबत्ती बालेर पञ्चान्न गहुँ, मास, गहत, गोरस र कलौ भिजाएर राखेर भगवान् महेश्वरको आह्वान गर्ने कार्यलाई बिरुडा भनिन्छ।

त्यस दिन महिलाले माङ्गलिक गीतहरु गाउँदै गाउँका पँधेरो, खोला, नदीको मुहानमा बिरुडा भिजाउनाका साथै पञ्च वनस्पति (धान, साँउ, तिल, बेल र पाती) को पुत्ला बनाएर पँधेरामा राखी पूजा गर्ने र बिरुडा लिएर मङ्गल गीतसँगै घरमा ल्याएर राख्ने गर्छन्। विवाहित महिलाले गौरा पर्वमा व्रत बसी कण्ठसूत्र धारणा गर्नुपर्ने र पुरुषसरह गायत्रीजप गरी भोजनग्रहण गर्ने प्रचलन छ।

gaura 2

सप्तमीका दिन महिलाले दिनभरि व्रत बसेर आफ्नो परिवारको सुख, समृद्धि र चिरायूको कामना गर्दै गौरा राख्ने ठाउँमा महेश्वरको पूजा गर्ने चलनसमेत रहेको भीमदत्त नगरपालिका–१८ कटानकी वसन्ती भट्टले बताइन्।

सात गाँठो पारिएको दुर्वासहितको कण्ठसूत्र पञ्चगव्य अभिषेक गरी गौराको खुट्टामा राखिन्छ। अष्टमीका दिन रङ्गीचङ्गी कपडामा सजिएका महिलाले गौरा राख्ने ठाउँमा पञ्च वनस्पतिले बनाइएको गौराको प्रतिमालाई रेशमी कपडाले सिङ्गारेर महेश्वरको प्रतिमासँगै बाहिर ल्याएर आसनमा राखी आठ अध्याय र आठ खण्ड भएको अठेबाली परम्परागत फाग, गौराको गीतिकथा गाउँदै पूजा गरेर गौरा र महेश्वरलाई शिरमा राखी नाँच्ने गर्दछन्। यसै अवसरमा देउडा र ठाडो खेल खेलेर रमाइलो गरिन्छ।

gaura 3

गौराको प्रसादका रूपमा बिरुडा आफन्तलाई प्रसादका रूपमा बाँडिने र भोलिपल्ट गौरा खेल्ने खेलाउनुका साथै देउडा गीत गाएर रमाइलो गर्ने गरिएको भीमदत्त नगरपालिकाका स्थानीय गीता भट्टले बताइन्।

गौरा पूजा गरिसकेपछि झाँकीसहित पञ्च वनस्पतिबाट बनाइएको गौराको प्रतिमालाई झाँकीसहित विसर्जन गरिने उनको भनाइ छ । गौरा पर्वमा नयाँ कपडा लगाउनाका साथै सेल, पुरी र चामलको पीठोबाट बनेको माणा, खीर, मालपुवा, बटुकजस्ता शाकाहारी पकवान खाने गरिन्छ ।

gaura 4

यो पर्वका अवसरमा महेन्द्रनगर आसपासका क्षेत्रमा देउडा खेल समेत सुरु भएका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .