पोखरा महानगरपालिकाले आन्तरिक पर्यटनलाई टेवा दिन जनप्रतिनिधिहरुको लागि पनि ५ दिने ‘पर्यटन बिदा’ को घोषणा गरेको छ।
पर्यटन प्रवर्धनका लागि कर्मचारीलाई बिदा दिँदै आइएकोमा महागनरले आर्थिक वर्ष २०७८/०७९ को नीति तथा कार्यक्रममा जनप्रतिनिधिहरुको लागि पनि ५ दिने बिदा दिने घोषणा गरेको हो।
जनप्रतिनिधिहरुले पाउने पर्यटन बिदाको लागि कति रकम छुट्याएको छ स्पष्ट छैन तर महानगरको यो घोषणाबाट जनप्रनिधिहरुले ५ दिन घुम्न जाँदाको खर्च पाउने भएका छन्।
महानगर प्रमुख मानबहादुर जिसीले बुधबार नीति तथा कार्यक्रम सार्वजनिक गर्दै आगागी आर्थिक वर्षको लागि ‘नयाँ योजना घोषणा गर्ने हैन, क्रमागत योजना सम्पन्न गरी उपभोक्तालाई सुम्पने नीति लिएको’ घोषणा गरेका छन्।
वडा कार्यालय तथा महानगरको प्रशासनिक भवन निर्माणलाई विशेष प्राथमिकता दिइएको नीति तथा कार्यक्रममा स्वास्थ्य, कृषि एवं पशु सेवा केन्द्र, सामुदायिक भवनहरु निर्माणमा पनि जोड दिएको छ।
मेयरको रुपमा अन्तिम नीति तथा कार्यक्रम ल्याएका मेयर जिसीले पोखराको बाहिरी चक्रपथ निर्माण, मुख्य नगरक्षेत्रमा भवन बनाउँदा अण्डर ग्राउण्ड पार्किङ अनिवार्य गर्ने घोषणा पनि गरेका छन्।
मापदण्ड खुकुलो गर्ने तयारी
महानगरले फिर्के, विजयपुर, सुइखेत, भोटी,स्यानी, स्याङ्खुदी खोला, छोरेपाटनको गुप्तेश्वर गुफा क्षेत्र र फुस्रेखोला क्षेत्रको नयाँ मापदण्ड बनाउने घोषणा पनि गरेको छ।
पोखराको बीचमा बग्ने फिर्केदेखि गुप्तेश्वर गुफा क्षेत्र महानगरकै बढी अतिक्रमित क्षेत्र हो। भौगोलिक रुपले सो क्षेत्रमा ठूला संरचना बनाउन नमिल्ने भूगर्भवीदहरुको सुझाव विपरित त्यहाँ ठूला–ठूला संरचना निर्माण भइरहेका छन्।
फिर्के क्षेत्रको अवस्था पनि त्यस्तै छ। स्थानीयहरुले सो क्षेत्रमा कायम रहेको १० मिटरको मापदण्ड घटाएर १ मिटर कायम गर्नुपर्ने माग राख्दै आएका छन्।
२०६० सालमा महानगरले फिर्केको मापदण्ड ६ मिटर कायम गरेको थियो। २०७२ सालको भूकम्पपछि त्यसलाई बढाएर १० मिटर बनाइएको थियो।
प्रतिक्रिया