ad ad

समाज


निर्माणाधीन ब्रह्मदेव लिंक रोड भासियो (फोटोफिचर)

निर्माणाधीन ब्रह्मदेव लिंक रोड भासियो (फोटोफिचर)

गोकुल जोशी
भदौ १२, २०७६ बिहिबार ५:१३,

भारतीय सीमावर्ती बजार टनकपुर जोड्ने कञ्चनपुरको ब्रह्मदेव लिंक रोड निर्माणकै क्रममा भासिन थालेको छ।

भीमदत्त नगरपालिका ८ र १० जोड्ने खन्या खोलाको पक्की पुल नजिकैको कालोपत्रे सडक निर्माणाधीन अवस्थामा नै भासिन सुरु गरेको हो। पुल छेउमा करिब ३ मिटर चौडा र ३० मिटर लामो क्षेत्रमा सडक भासिएको छ ।

२०७६ जेठ महिनाबाट पहिलो चरणको निर्माण सम्पन्न भएर सञ्चालनमा आएको लिंक रोडको कालोपत्रे एक महिनामा नै भासिन थालेको हो। ठेकेदार र इन्जिनियरले काम गर्दा गरेकोे लापर्वाहीका कारण सडक निर्माण भएको छोटो समयमै भासिएको स्थानीयको आरोप छ। ‘जेठ महिनाबाट सञ्चालनमा आयो। असार नलाग्दै भत्कियो’, स्थानीय जयामती धामीले नोपलखबरसँग भनिन्।

संघीय सरकारको २१ करोड ४ लाख लागतमा निर्माण भइरहेको टनकपुर लिंक रोड निर्माणको जिम्मा राजेन्द्र निर्माण सेवाले पाएको थियो। वि.सं. २०७३ फागुनबाट निर्माण सुरु भएको लिंक रोडको पहिलो चरणको काम सम्पन्न भएको छ।

‘कालापत्रे गरेको केही समयमै सडक चर्किन थाल्यो’, स्थानीय रामसिंह धामीले भने। सडक निर्माणकमा क्रममा पुलको छेउमा खोलाको बालुवा भरेको र पछि बालुवा बग्दै र भासिँदै जान थालेपछि सडकमा भ्वाँङ परेको हो। खोलाको किनारमा बलियो खालको पर्खाल निर्माण नभएका कारण कालोपत्रे भासिएको स्थानीयहरुले बताएका छन्।

निर्माणको अवस्थामा ठेकेदार र इन्जिनियरले पर्खाल निर्माणमा कुनै ध्यान नदिँदा हालको अवस्था सृजना भएको स्थानीयको भनाइ छ। भीमदत्त नगरपालिका १, भासीदेखि ब्रह्मदेवसम्मको १२ कीमी सडक निर्माण लागि २०७३ फागुनबाट सुरु भएको २०७६ भदौ २५ भित्र निर्माण सम्पन्न गरिसक्नु पर्ने अवधि रहेको सडक डिभिजन कार्यालय महेन्द्रनगरले जनाएको छ।

पुल पनि भत्कियो
कालोपत्रे सडकसँगै खन्या खोलामाथिको पक्की पुलको वाल समेत भत्किएको छ। बर्षातको समयको पानीले पुलको वाल समेत बगाएर लगेको स्थानीय रामसिंह धामीले बताए। उक्त पक्की पुल दुई करोड २५ लाखको लगानी निर्माण भएको थियो।

एमके निरज जेभीसँग पुल निर्माणको सम्झौता भएको थियो। निर्माण सम्पन्न नभएको अवस्थामा नै पुलको वाल भत्किएपछि उक्त विनिंग वालका कारणले गर्दा नै कालोपत्रे सडक समेत भासिएको स्थानीय बताउँछन्।

पुल र सडक भासिएपछि आवतजावत गर्ने स्थानीयहरुलाई निकै समस्या भएको छ।सडक भासिएपछि हाल त्यहाँ निकै साँघुरो क्षेत्रफलमा मात्रै सडक बाँकी रहेको छ। उक्त सडकमा जोखिम मोलेर यात्रा गर्न बाध्य रहेको चालकहरुले गुनासो गरेका छन्। उक्त सडकखण्डमा ट्याक्टर चलाउँदै आएका चालक घुम्मन चौधरी सडक भत्किएको हुनाले सवारी साधन चलाउन निकै जोखिम हुने बताउँछन्। ‘हाम्रो धेरै जसो काम यसै सडकखण्डमा पर्ने गरेको छ। यहाँ सडक भासिदा सवारी साधन चलाउन निकै खतरा छ’, उनले भने, ‘रातिको समयमा त झनै समस्या छ, कति खेर दुर्घटना हुने थाहा नै हुदैन।’ स्थानीयवासीले ओहोरदोहोरमा कठिनाइ भएकाकारण पुल र सडके तत्काल मर्मत गर्न माग गरेका छन्।

ठेकेदारलाई ताकेता
सडक डिभिजन कार्यालय महेन्द्रनगरले खन्या खोलाको पुल निर्माणको जिम्मा पाएको एमके निरज जेभीलाई तत्काल पुल मर्मतका लागि पत्राचार गरेको जनाएको छ।

भदौ ४ गते पत्र लेखेर सडक डिभिजनले जेभीलाई पुल मर्मतको लागि ताकेता गरेको टनकपुर लिंक रोडको फिल्ड हेरिरहेका सडक डिभिजन कार्यालय महेन्द्रनगरका सव–ईन्जिनियर सनम खड्काले बताए। वर्षाको पानीले पुल र कालोपत्रे सडक भासिएको उनले जनाएका छन्। उनका अनुसार सडकको काम सम्पन्न भएर हस्तातरण भइनसकेको अवस्था छ। यस अवस्थामा झण्डै १३ महिनाको डीएलपी अर्थात मर्मतका लागि छुट्याएकाले यस अवधिमा ती त्रुटि देखिएका काम सच्याउँदै जाने उनले बताए।

पुल मर्मतका लागि पहिला पत्राचार गरेकोले पुलपछि मात्रै सडक मर्मत गरिने उनले जनाए। पुलको भत्किएको विनिंग वाल मर्मतका लागि ताकेता गरिएको छ। टनकपुर लिंक सडकमा कालोपत्रे गर्ने पहिलो चरण सकिएको सडक डिभिजन कार्यालयले जनाएको छ।

भारतीय पक्ष मौन
महाकाली सन्धिअनुसार ब्रह्मदेव नजिक टनकपुर ब्यारेजदेखि भासीसम्म १३ दशमलव २ कीमी सडक भारतले नै निर्माण गर्नुपर्ने हो। तर, लामो समयसम्म भारतीय पक्षले चासो नदिएपछि नेपाली पक्षले आफँैले सडक निर्माण गर्न लागेको हो। अहिले पनि टनकपुर ब्यारेजदेखि नेपाली सीमासम्मको १२ सय मिटर सडक निर्माणको काम भारतीय पक्षले सुरु गरेको छैन।

तत्काल मर्मत गर्छौः ठेकेदार
भत्किएको खन्या खोलामाथिको पुल तत्काल मर्मत गर्ने एमके निरज जेभीका लोक ठकुराठीले दाबी गरेका छन्। निर्माण सम्पन्न भएपनि मर्मतका लागि एक वषको अवधि हुन्छ त्यही अनुसार आफूहरुले पुल मर्मत गर्ने उनले बताए। डिपार्टमेन्टले उपलब्ध गराएको नक्सा अनुसार आफूहरुले संरचना निर्माण गरेको उनको भनाइ थियो।

पुलको उचाइ बढी तथा पुल नजिकै नाली निर्माण नहुँदा बर्षातको पानीले पुल भत्किएको उनको भनाइ थियो। बर्षा सकिएपछि तत्काल नै पुल निर्माण गरिने उनले बताएर त्यसपछि मात्र कालोपत्रे सडक मर्मत हुने जनाइएको छ। बर्षातको पानीले पुलको विलिंग वाल भत्किएपछि मात्र सडकको कालोपत्रे भत्किएको उनको दाबी छ ।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .