ad ad

समाज


असोजमै त्रिशूलीमा ‘बेपत्ता’ बैंकका म्यानेजरलाई ३५ दिन भित्र कार्यालयमा उपस्थित हुन सूचना!

नदीमा बिलाए कि अन्तै भागे भन्नेमै अन्योल
असोजमै त्रिशूलीमा ‘बेपत्ता’ बैंकका म्यानेजरलाई ३५ दिन भित्र कार्यालयमा उपस्थित हुन सूचना!

फाइल तस्बिर


सुनिता विष्ट
बैशाख ३१, २०८१ सोमबार १२:२२, हेटौँडा

गत असोजमा त्रिशूली नदीमा हामफालेर बेपत्ता भएका भनिएका निरञ्जन देवकोटालाई नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले ३५ दिनभित्र कार्यालयमा उपस्थित हुन भन्दै सूचना जारी गरेको छ। 

बैंकले एक पत्रिकामा सूचना जारी गर्दै देवकोटालाई ३५ दिनभित्र बैंकमा हाजिर हुन भनेकाे हो।
  
‘बैंकको स्वीकृतिविना बैंकलाई कुनै जानकारी नदिई कार्यालयमा अनुपस्थित रही हालसम्म पनि बैंकमा गैर हाजिर रही सम्पर्कमा नआउनु भएको एवं बैंकले खोजी गर्दासमेत फेला पार्न नसकेकाले सार्वजनिक सूचना जारी गरिएको छ,’ बैंकले साेमबार जारी गरेको सूचनामा भनिएको छ,  ‘३५ दिनभित्र कार्यालयमा अनुपस्थित हुनुको कारण र प्रमाणसहित बैंकमा उपस्थित हुन आउनुहोला, अन्यथा बैंकले तपाईं उपर बैंकका कर्मचारी सेवा बिनियमावली बमोजिक बैंकको सेवाबाट हटाउन लागि प्रक्रिया अघि बढाउने छ।’

१५ असोज २०८० मा देवकोटा त्रिशूली नदीमा हाम फालेर बेपत्ता भएका भनिएको थियो। त्यसयता उनी सम्पर्कमा आएका छैनन्। उनको स्थिति अझै अज्ञात छ। त्रिशूलीमा हेलिएको भनिएको ७ महिना बित्दा पनि परिवारले न त उनको सास पाएको छ, न त लास नै।
 
त्यतिबेला ३८ वर्षीय देवकोटा धादिङको गजुरी गाउँपालिका वडा नम्बर ५, घाटबेसीस्थित नयाँ पुलबाट त्रिशूलीमा हाम फालेर बेपत्ता भएको बताइएको थियो। 

उनले चढ्दै आएको बा.प्र. ०३–००५प ४१७६ नम्बरको एभेन्जर मोटरसाइकल भने त्रिशूलीको पुलमै भेटिएको थियो। देवकोटा त्रिशूलीमा हाम फालेको भन्ने खबर पाएपछि जिल्ला प्रहरी कार्यालय धादिङले ठूलो संख्यामा गोताखोरसहितको टोली लगाएर झण्डै एक महिनासम्म उनको खोजी गरेको थियो। तर उनलाई फेला पार्न सकेको थिएन। 

निरञ्जन मेगा बैंक, हेटौंडा शाखामा प्रबन्धकको पदमा कार्यरत थिए। 

मेगा बैंक र नेपाल इन्भेस्टमेन्ट बैंक गाभिएर इन्भेस्टमेन्ट मेगा बैंक भएपछि उनीमाथि मोटो रकम हिनामिनाको आरोप लागेको थियो। बैंकले देवकोटाको विषयमा अनुसन्धान थालेको विषय हेटौंडा शाखाबाटै चुहिएपछि त्यहाँका ग्राहकहरूलेसमेत उनीविरुद्ध उजुरी हाल्न थालेका थिए। 

उनीहरूले ऋण स्वीकृत गर्दा कमिसन लिएका केही प्रमाणहरू पेस गरेका थिए। बैंकले पनि उनलाई स्पष्टीकरण सोधेको थियो। सोही स्पष्टीकरण दिन उनी सो दिन काठमाडौं गएको पारिवारिक स्रोतको दाबी छ।

निरञ्जन काठमाण्डौं गएको उक्त दिन परिवारसँग सम्पर्क नभएको र प्रहरीले घटनाबारे जानकारी दिएपछि मात्रै आफूले छोराले आत्माहत्या गरेको कुरा थाहा पाएको उनका बुवा नारायण प्रसाद देवकोटा बताउँछन्।

शब पनि नभेटिएकोले उनको संस्कार भने नगरेको उनको भनाई छ। आफूमाथि आरोप लागेपछि देवकोटाले प्रबन्धक पदबाट राजीनामासमेत दिएका थिए। तर, उनको राजीनामा स्वीकृत गर्न बैंकले मानेकाे थिएन। 

उनले हिसाब मिलान नगरी राजीनामा स्वीकृत नगर्ने बैंकको अडान थियो। उनले दिएको राजीनामा स्वीकृत नभएको अनुसन्धानका क्रममा पाइएको प्रहरीले पनि पुष्टि गरेको छ।

यद्यपि, देवकोटा त्रिशूली नदीमा हेलिएका हुन् कि होइनन् भन्ने बिषयमा भने अझै स्पष्ट भैनसकेको प्रहरीले जनाएकाे छ। साँझको समयम घटना घटेको कारण स्पष्ट देख्न नपाएको तर नदीमा झ्वाम्म मान्छे हाम फाले जस्तो आवाज स्थानीय माझीहरुले सुनेको आधारमा खोजी गरिएको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .