दुर्लभ वन्यजन्तु गैंडा मारेर खाग चोरेको अभियोगमा १० वर्ष जेल सजाय र १ लाख रुपैयाँ जरिवाना तोकिएका एकजना अभियुक्त २५ वर्षपछि पक्राउ परेका छन्।
२०५५ कात्तिक २८ गते चितवन राष्ट्रिय निकुञ्जको क्षेत्रभित्र खाल्डोमा पारेर गैंडालाई मारेर खाग काटेर लगेको अभियोगमा दोषी ठहर ४४ वर्षीय यमबादुर बानियाँ भरतपुरबाट समातिएका हुन्।
वन्यजन्तु कसुर मुद्दामा चितवन राष्ट्रिय निकुञ्ज कार्यालयको २०५७ माघ २५ गतेको फैसलाले कालिका नगरपालिका २ बस्ने बानियाँलाई १० वर्ष कैद र एक लाख रुपैयाँ जरिवाना ठहर भएको थियो।
तर उक्त सजाय तोकिनुअघि नै फरार रहेका बानियाँलाई केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) को टोलीले भरतपुर-१० चौबिसकोटी चोकबाट पक्राउ गरेर चितवन राष्ट्रिय निकुञ्जको कार्यालय कसरामा बुझाएको हो।
अन्य चारजना पनि समातिए
त्यसैगरी उक्त गैंडा मारेर खाग तस्करी प्रकरणमा अन्य तीनजना पनि पक्राउ परेका छन्। निकुञ्जका संरक्षण अधिकृत गणेशप्रसाद तिवारीका अनुसार गैंडा मारेको अभियोगमा बानियाँसँगै अरु चारजना पनि पक्राउ परेका हुन्।
चितवन निकुञ्ज कार्यालय र निकुञ्ज सुरक्षार्थ खटिएको खड्ग दल गणको संयुक्त टोलीले जिल्ला प्रहरी कार्यालय मकवानपुरको सहयोगमा शनिबार काले बानियाँ क्षेत्री, विष्णु कार्की र जिल्ला प्रहरी कार्यालय काभ्रेको सहयोगमा पाँचखालबाट शनिबार नै हरि कार्कीलाई प्रकाउ गरिएको तिवारीले बताए।
उनीहरु सबैलाई जिल्ला कारागार कार्यालय भरतपुरमा चलान गरिएको छ।
निकुञ्जको अमृते पोष्टबाट करिब डेढ किलोमिटर पूर्वस्थित पन्ना खोला नजिक गैंडा खाल्डोमा पारेर खाग काटेको अवस्थामा २०५५ कात्तिक २८ गते निकुञ्जका कर्मचारीले मृत गैंडा फेला पारेका थिए।
Shares
प्रतिक्रिया