ad ad

समाज


बाढीले क्षति गरेको तीन सातापछि कागबेनी पुगे गृहमन्त्री

उद्धार र राहत तीव्र बनाउन स्थानीय प्रशासनलाई निर्देशन
बाढीले क्षति गरेको तीन सातापछि कागबेनी पुगे गृहमन्त्री

कागबेनीको बाढीस्थलमा गृहमन्त्री श्रेष्ठ। तस्बिर : गृहमन्त्रीको सचिवालय


नेपालखबर
भदौ १९, २०८० मंगलबार १२:४४, काठमाडौँ

उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले मुस्ताङस्थित वारागुङ मुक्तिक्षेत्र गाउँपालिका(कागबेनी) बाढीबाट भएको क्षतिको मंगलबार स्थलगत अवलोकन गरेका छन्। 

अविरल वर्षासँगै साउन २८ गतेको स्थानीय कागखोलाको बाढीले ठूलो  क्षति पुर्‍याएको तीन सातापछि गृहमन्त्री अवलोकनका लागि पुगेका हुन्। 

बाढीले घर, कृषि उपज, सार्वजनिक एवम् व्यापारिक संरचना, होटल, पुल, विद्यालय, प्रहरी चौकी, पशुपंक्षी, सवारीसाधन, गुम्बा, कागबेनी श्रद्धास्थल, खानेपानी, सिँचाइ र नगद तथा अन्य भौतिक वस्तुसहित अर्बौंको क्षति गरेको  थियो। 

गृहमन्त्रीले त्यहाँ पुगेर तत्काल राहतमा वृद्धि र कागबेनी जस्तो ऐतिहासिक तिर्थस्थलको दीर्घकालीन पुनर्निर्माणको प्रतिबद्धता समेत जनाएका छन्। 

क्षतिको अवलोकनपछि प्रभावितसहित जनप्रतिनिधि र स्थानीय प्रशासनलाई संक्षिप्त सम्बोधन गर्दै गृहमन्त्री श्रेष्ठले तत्कालीन प्राथमिक आवश्यकलाई समाधान गर्दै प्राविधिक र योजनावीद् अध्ययन आधारित निष्कर्ष निकालेर कागबेनीको पुनर्निर्माण गरिने, रणनीतिक रुपले व्यवस्थित बस्ती बसाइने बताए।

त्यसक्रममा उनले खानेपानी, गुणस्तरीय खाद्यवस्तु र बसोबासमा कुनै कमजोरी हुन नदिन समेत स्थानीय प्रशासनलाई निर्देशन दिए।

संघीय, प्रदेश र स्थानीय सरकार वा संघसंस्थामार्फत सामान्य तत्कालीन राहत पुगे पनि त्यो पर्याप्त , व्यवस्थित र एकद्वार हुन नसकेको जनप्रतिनिधि तथा स्थानीयको गुनासो थियो। 

जनताको यस्तो दु:खबाट आफु पनि उत्तिकै दुःखित भएको र संघीय, प्रदेश र स्थानीय सरकारको उचित समन्वयमा आधारभूत सेवा, राहत र पुनर्निर्माणलाई व्यवस्थित बनाइने गृहमन्त्री श्रेष्ठले बताए।

माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्षसमेत रहेका श्रेष्ठले आजै पार्टीका स्थानीय नेताकार्यकर्तासँग समेत मुस्ताङमा संक्षिप्त भेटघाट ग‍रे। 

'जनतासँग माओवादी' तीन महिने अभियानले पार्टीमा उत्साह पैदा गरेको र सरकारले सुशासनका पक्षमा थालेका कामले जनतामा समेत उत्साह बढाएको उनले बताए।

तर भ्रष्टाचार र अपराधका शृङ्खला नियन्त्रण गर्दै सामाजिक न्याय आधारित गुणात्मक आर्थिक विकासको ध्येय पूरा गर्न माओवादी केन्द्र नै बलियो हुनुको विकल्प नभएको उनले बताए। 

 

 

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .