ad ad

समाज


गल्याङ नगरपालिकाले सुरु गर्‍याे  ‘नगरकी छोरी’ कार्यक्रम

गल्याङ नगरपालिकाले सुरु गर्‍याे  ‘नगरकी छोरी’ कार्यक्रम

नेपालखबर
मंसिर २२, २०८० शुक्रबार ८:५, स्याङ्जा

स्याङ्जाको गल्याङ नगरपालिकाले आफ्नो नगरभित्र छोरी जन्मिए बैंक खाता खोली नगद पाँच हजार जम्मा गरिदिने कार्यक्रम सुरुवात गरेको छ। 

चालु आर्थिक वर्ष २०८०/८१ को नीति, कार्यक्रम तथा बजेट विनियोजन गरी ‘नगरकी छोरी’ कार्यक्रम कार्यान्वयनमा ल्याएको हो।

गल्याङभित्रका एघार वडामा चालु आर्थिक वर्षमा जन्मिएका छोरीहरूको नाममा गल्याङस्थित गरिमा विकास बैंकमा खाता खोलिदिने र सो खातामा नगद पाँच हजार नगरपालिकाले जम्मा गरिदिने उपप्रमुख हेमा न्यौपानेले जानकारी दिइन्।

‘नगरपालिकाले छोरीहरूको प्रोत्साहनका लागि ‘नगरकी छोरी’ कार्यक्रम सञ्चालनमा ल्याएको छ,’ उनले भनिन्, ‘चालु आर्थिक वर्षबाट सुरु भएको यो कार्यक्रमलाई अब निरन्तरता दिँदै जाने छौँ।’ छोरी जन्मिनासाथै जनप्रतिनिधि, नगर तथा बैंकका कर्मचारी घरमै पुगेर प्रक्रिया पूरा गरी छोरीको नाममा बैंक खाता खोल्ने गरिएको छ।

बिहीबार गल्याङ–३ स्थित एक दलित समुदायकी सुत्केरी आमाले छैटौँ छोरीका रूपमा जन्मदिएकी नवजात शिशुको नाममा खाता खोलेर ‘नगरकी छोरी’ कार्यक्रमको थालनी भएको हो।

‘हाम्रो गाउँ समाजमा छोराछोरीप्रतिको विभेद न्यूनीकरण हुँदै गए पनि आंशिकरूपमा कायमै छ’, उपप्रमुख न्यौपानेले भनिन्, ‘नगरपालिकाले सुरु गरेको ‘नगरकी छोरी’ कार्यक्रम विशेषगरी छोरीलाई प्रोत्साहन र हौसला दिनका लागि बढी महत्त्वपूर्ण हुने विश्वास लिएका छौँ।’

नगरपालिकाले छोरीको नाममा खोलिदिएको खातामा रहेको रकम १८ वर्ष उमेर नपुग्दासम्म झिक्न पाइँदैन। यो कार्यक्रमले छोरी जन्मिएसँगै बचत गर्ने बानीको विकास गर्न उत्प्रेरित गरेको छ। 

‘नगरपालिकाले सुरुमा खाता खोलेर रकम जम्मा गरिदिन्छ, पछिका दिनमा छोरीको नाममा घरपरिवारले थप रकम जम्मा गरिदिँदै जाँदा १८ वर्षमा ठूलो रकम प्राप्त हुन्छ,’ उनले भनिन्, ‘तत्काल छोरीको प्रोत्साहनका लागि भए पनि पछि गएर आर्थिकरूपमा पनि यसले सवलतातर्फ लैजान्छ।’ 

नगरपालिकामा ‘उपप्रमुखसँग सुत्केरी पोषिलो झोला कार्यक्रम’ र ‘गर्भवतीलाई अण्डा वितरण’ कार्यक्रम सञ्चालनमै छन्। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .