गुल्मीको सत्यवतीमा मलामी बोकेर घाटबाट फर्किरहेको जिप भिरबाट खस्दा १ जनाको मृत्यु भएको छ। दुर्घटनामा अन्य १२ जना घाइते भएका छन्।
जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी उपरीक्षक (एसपी) राजन भुजेलले केहीबेरअघि नेपालखबरलाई दिएको जानकारी अनुसार गएराति पौने १२ बजे सत्यवती गाउँपालिका ४ मा जिप दुर्घटनामा परेको हो।
जिप सडकबाट झण्डै ४० मिटर तल खसेको छ।
‘स्थानीय रुद्रवेणी घाटमा मृतकको दाहसंस्कार सकेर घर फर्किंदै गरेका मलामी सवार जिप दुर्घटनामा परेको हो,’ एसपी भूजेलले भने, ‘दुर्घटनाामा ७५ वर्षीय मनबहादुर फुम्जालीको मृत्यु भएको छ। जिपमा सवार अन्य १२ जना घाइते छन्। घाइते सबै खतरामुक्त छन्।’ मृतक फुम्जालीको ठेगाना खुल्न बाँकी रहेको उनले बताए।
मलामी लिएर लिम्घातर्फ फर्किने क्रममा लु १ च ४३२० नम्बरको पिकअप जीप मौरीओडारस्थित शाहघाट लिम्घाको भित्री सडकमा दुर्घटनामा परेको हो।
‘चालकले ब्रेक फेल भएर जिप सडकबाट खसेको बताएका छन्,’ उनले भने, ‘घाइते धेरैको स्थानीय जोहाङ प्राथमिक स्वास्थ्य केन्द्रमा उपचार भइरहेको छ। अलि बढी चोट लागेका चारजनालाई थप उपचारको लागि पाल्पा पठाएका छौँ। सबै खतरामुक्त नै हुनुहुन्छ।’
दुर्घटनामा सम्बन्धमा थप अनुसन्धान जारी रहेको उनले बताए।
Shares
प्रतिक्रिया