गर्मी अत्यधिक बढेपछि रुपन्देहीको बुटवल उपमहानगरपालिकाले नगर क्षेत्रका सबै विद्यालय २ दिन बन्द गर्ने निर्णय गरेको छ।
प्रमुख प्रशासकीय अधिकृत मित्रमणि खनालले सूचना जारी गर्दै आज र भोलि (वैशाख २० र २१ गते) नगर क्षेत्रका सबै विद्यालयमा बिदा दिने निर्णय भएको जानकारी दिएका हुन्।
‘केही दिनदेखि अत्यधिक गर्मी बढ्दै जानुका साथै तातो हावा चल्न थालेको कारण विद्यार्थीको स्वास्थ्यमासमेत गम्भीर असर पर्न सक्ने सम्भावना देखिएको हुँदा विद्यालयहरुले पाउने वार्षिक बिदाबाट कट्टी हुनेगरी वैशाख २० र २१ गते दुईदिन विद्यालयमा बिदा गर्नुहुन अनुरोध छ,’ खनालले जारी गरेको सूचनामा भनिएको छ।
खडेरी लम्बिँदा देशभर नै गर्मी बढ्दै गएको छ। गर्मीले विशेषगरी तराई मधेशको जनजीवन कष्टकर बनेको छ।
दिनभर एकनाससँग चर्को घाम लाग्दा तराईका जिल्लामा घर बाहिर निस्कँन सक्ने अवस्था छैन। हिजो (बुधबार) रुपन्देहीको भैरहवाको अधिकतम तापक्रम ४१ दशमल ४ डिग्री सेल्सियस मापन भएको छ।
Shares
प्रतिक्रिया