लिंग पहिचान गरेर भ्रुण हत्या गरेको आरोपमा सर्लाही प्रहरीले एक भारतीय युवकलाई पक्राउ गरेको छ।
जिल्ला सदरमुकाम मलंगवाबाट भारतको बिहार प्राप्तको शिवहर नारायणपुर ३ बस्ने ३२ वर्षीय हरिशचन्द्र कुमार सुँडीलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका सूचना अधिकारी डीएसपी दीपेन्द्र पन्जियारले जानकारी दिए।
‘मलंगवा नगरपालिका-८ स्थित नेपाल भारत सीमा क्षेत्रबाट उनी पक्राउ परेका हुन्,’ पन्जियारले नेपालखबरसँग भने, ‘स्थानीय क्लिनिकमा अवैध ढंगले गर्भपतन गरेर निकालिएको भ्रुण पोलेथिन झोलामा राखेर फाल्न जाँदै गर्दा उनी पक्राउ परेका हुन्।’
तीन दिनअघि नै उनी पक्राउ परेका भएपनि प्रहरीले ढिलोगरी जानकारी दिएको हो। उनले आफ्नै श्रीमतीको गर्भपतन गरिएको दाबी गरेका छन्। उनले मृत शिनु जन्मिएको बयान दिएका प्रहरीले जनाएको छ।
प्रहरीले गर्भपतन गराउने क्लिनिकको नाम भने सार्वजनिक गरेको छैन।
सर्लाही सदरमुकाम मलंगवाका कतिपय क्लिनिकले मोटो रकम असुलेर अवैध ढंगले गर्भपतन गराउँदै आएका छन्।
एक महिनाअघि पनि प्रहरीले मलंगवा बजार क्षेत्रको सडकमा गर्भपतन गरेर फालिएको अवस्थामा नवजात शिशुको शव फेला पारेको थियो।
Shares
प्रतिक्रिया