सर्लाही सदरमुकाम मलंगवामा नातिले चलाएको मोटरसाइकलले ठक्कर दिँदा हजुरआमाको मृत्यु भएको छ।
मलंगवा नगरपालिका १ भेडियाहीमा गएराति ८ बजे भारतीय नम्बर प्लेटको बीआर ३० के ६६८८ नम्बरको मोटरसाइकलको ठक्करबाट स्थानीय ६५ वर्षीया मलकिनया देवीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ।
सोही ठाउँका २४ वर्षीय लालकिशोर मण्डलले चलाएको मोटरसाइकलको ठक्करबाट गम्भीर घाइते भएकी वृद्धाको उपचारको क्रममा प्रादेशिक अस्पतालमा मृत्यु भएको डीएसपी दीपक श्रेष्ठले जानकारी दिए।
मण्डल मृतक महिलाका आफ्नै भतिजका छोरा हुन्। तीव्र गतिको कारण अनियन्त्रित भएको मोटरसाइकलले महिलालाई ठक्कर दिएको उनले बताए।
दुर्घटनापछि लालकिशोरलाई प्रहरीले पक्राउ गरेको छ। ‘मृतक वृद्धाको शव पोष्टमार्टमपछि भर्खरै आफन्तले बुझेर लगेका छन्,’ डीएसपी श्रेष्ठले भने।
यसैबीच सर्लाहीकै रामनगर गाउँपालिका–५, बिर्ता टोलस्थित हुलाकी सडकमा एम्बुलेन्सको ठक्करबाट मोटरसाइकलमा सवार तीन जना घाइते भएका छन्।
मलङ्गवाबाट बलरातर्फ जाँदै गरेको ज१झ ४११ नम्बरको एम्बुलेन्सले भारतीय नम्बरको बीआर ३० एफ ५४६१ मोटरसाइकललाई ठक्कर दिएको प्रहरीले जनाएको छ।
दुर्घटनामा परेका एम्बुलेन्स, मोटरसाइकल र एम्बुलेन्स चालक प्रहरी नियन्त्रणमा छन्।
Shares
प्रतिक्रिया