सरकार र नेपाल शिक्षक महासंघबीच भएको सहमतिबाट असन्तुष्ट देशभरका राहत शिक्षकको आन्दोलन काठमाडौंमा जारी छ।
एक साता बितिसक्दा पनि देशभरका राहत शिक्षकहरु पालैपालो काठमाडौंमा ओर्लिएर आन्दोलन गरिरहेका छन्।
नेपाल राहत शिक्षक केन्द्रीय समितिको अगुवाइमा उनीहरुले कहिले सिठ्ठी जुलुस्, कहिले सडकमै सुतेर प्रदर्शन त कहिले नाचगानसहित आन्दोलन जारी राखेका छन्।
बुधबार पनि राहत शिक्षकहरुले काठमाडौंको माइतीघरदेखि नयाँबानेश्वरसम्म प्रदर्शन गरे। त्यसक्रममा महिला राहत शिक्षकहरुको जोश बेग्लै थियो।
केही शिक्षकहरु साथीको काँधमाथि चढेर नारा लगाइरहेका थिए। प्रहरीको कडा सुरक्षाबीच राहत शिक्षकहरुले आन्दोलन नरोक्ने छनक दिएका हुन्।
मंगलबार मात्रै सत्तारुढ नेपाली कांग्रेसका सभापतिसहितका नेताहरुले आन्दोलित राहत शिक्षकहरुसँग पनि छलफल गरेका थिए। त्यहाँ राहत शिक्षकहरुले माग पूरा नभएसम्म पछि नहट्ने र विद्यालय पनि नजाने अडान लिएका छन्।
सरकार र शिक्षक महासंघबीच ६ बुँदे सहमतिले आफूहरुलाई अपमान गरेको उनीहरुको भनाइ छ।
राहत शिक्षकहरुले शिक्षक महासंघले धोका दिएको बताएका छन्। उनीहरुले ४० हजार राहत शिक्षक, बाल विकासका शिक्षक र पेन्सन पीडित शिक्षकहरु आफूहरुसँग आन्दोलित रहेको बताएका छन्।
Shares
प्रतिक्रिया