चेक रिपब्लिकलाई पराजित गर्दै डेनमार्क यूईएफए युरोकपको सेमिफाइनलमा प्रवेश गरेको छ।
शनिबार राति भएको तेस्रो क्वार्टरफाइनल खेलमा डेनमार्कले चेक रिपब्लिकलाई २–१ गोल अन्तरले पराजित गर्दै अन्तिम ४ मा स्थान पक्का गरेको हो।
डेनमार्कले फाइनल प्रवेशका लागि अन्तिम क्वार्टरफाइनल खेलको विजेतासँग खेल्नेछ। अन्तिम क्वाटरफाइनलमा आजै राति इंग्ल्यान्ड र युक्रेन भिड्नेछन्।
खेलको पहिलो हाफमा २–० ले पछि परेको चेकले दोस्रो हाफमा गोल गर्दै खेलमा फर्कने संकेत गरेपनि सफल हुन सकेन।
खेलको पाँचौ मिनेटमा नै डेनमार्कले सुरुवाती अग्रता लिएको थियो। डेनमार्कका थोमस डिलेनीले गोल गर्दै टोलीलाई सुरुवाती अग्रता दिलाएका थिए।
४२ औं मिनेटमा भने डेनमार्कले अग्रता दोब्बर पार्यो। जोकिम माहलेले दिएको क्रसलाई कास्पर डोलबर्गले गोल गर्दै डेनमार्कलाई २–० अग्रता दिलाए।
दोस्रो हाफको सुरुवातमा नै चेक रिपब्लिकले खेलमा फर्कने संकेत गरेको थियो।
दोस्रो हाफको चौथो मिनेटमा नै चेकका प्याट्रिक सिकले गोल गर्दै खेललाई २–१ को स्थितिमा ल्याए।
त्यसपछि खेलमा थप गोल हुन नसक्दा चेक रिपब्लिक अन्तिम ८ बाट नै बाहिरियो।
Shares
प्रतिक्रिया