राष्ट्रिय क्रिकेट टोलीका पूर्व कप्तान पारस खड्काले मंगलबार अचानक अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास घोषणा गरे। अलराउन्डर पारसले आज बिहान सामाजिक सञ्जालमार्फत अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास घोषणा गरेका हुन्। आफ्नो सन्यासबारे पारसले नेपाल क्रिकेट संघ (क्यान) लाई समेत औपचारिक जानकारी दिइसकेका छन्।
उनले एउटा क्रिकेटरका रुपमा आफूले मन, वचन र कर्मले देशका लागि खेलेको बताएका छन्। ‘क्रिकेटरका रुपमा मैले आफ्नो मन, वचन र कर्मले कर्तव्यनिष्ठ भई देश र नेपाली क्रिकेट जगतको उत्थानका लागि सदैव भूमिका निर्वाह गरेँ’, उनले भने, ‘मेरो जीवनमा मैले देखेको सपना भनेको नै नेपाली क्रिकेटको उन्नति हो। तर यसका लागि सम्पूर्ण क्रिकेट समाज र सरोकारवालाको संयुक्त प्रयासको आवश्यकता छ। इमान्दारीसाथ काम गर्ने हो भने हामीले नेपाली क्रिकेटलाई अवश्य पनि एउटा नयाँ उचाइमा पुर्याउनेछौँ।’
उनले अन्तर्राष्ट्रिय क्रिकेटरका रुपमा यात्रा टुंगिए पनि आफ्नो सपना अझै बामे सरिरहेको बताएका छन्। ‘अन्तर्राष्ट्रिय क्रिकेटरका रुपमा मेरो यात्रा टुंगिएको छ तर नेपाली क्रिकेटको लागि मेरो सपना भने अझै बामे सर्दैछन्’, उनले अगाडि भनेका छन्, ‘मैदानभित्रका यी दुई दशक जीवन रहुञ्जेल, मिठो यादका रुपमा मसँग रहनेछन्। हामी सबैले मिलेर नेपाली क्रिकेटलाई नयाँ उचाइमा पुर्याउने छौँ भन्ने विश्वास लिएको छु।’
खेल करिअर
क्रिकेटबाट सन्यास लिएपछि पनि आफू व्यवस्थापकका रुपमा सक्रिय रहने उनले यसअघि नै बताइसकेका छन्। क्यान निलम्बनको समयमा पनि पारसले नेपाली क्रिकेटलाई एउटा उचाइमा पु¥याउन महत्वपूर्ण भूमिका निर्वाह गरेका थिए। खेलाडी छनोटदेखि व्यवस्थापकका रुपमा समेत पारसले काम गरिसकेका छन्।
सन् २००४ मा मलेसियाविरुद्ध अन्तर्राष्ट्रिय क्रिकेटमा डेब्यु गरेका पारसले २००८ देखि २०१९ सम्म नेपाली टोलीको कप्तानी सम्हालेका थिए। नेपाली क्रिकेटका सर्वाधिक सफल कप्तान तथा क्रिकेटर पारसको कप्तानीमा नेपालले पहिलो पटक २०१४ मा टि–२० विश्वकप खेलेको थियो।
पारसको कप्तानीमा नेपालले सन् २०१० मा पहिलो पटक डिभिजन पाँचको उपाधि जितेको थियो। उनकै कप्तानीमा नेपालले डिभिजन ५ देखि ३ सम्मका उपाधि उचालेको छ। उनकै नेतृत्वमा नेपालले सन् २०१८ मा पहिलो पटक ऐतिहासिक ओडिआई मान्यता पाएको थियो।
पारसले सन् २०१९ मा ओडिआईमा युएई र सिंगापुरविरुद्ध टि–२० आईमा शतक प्रहार गरेका थिए। टि २० आईमा लक्ष्य पछ्याउँदा शतक प्रहार गर्ने उनी पहिलो कप्तान पनि हुन्।
पारसले नेपालबाट १० ओडिआई, ३३ टि–२० आई, २ प्रथम श्रेणी, ४४ लिष्ट ए र ५६ टि २० क्रिकेट खेलेका छन्। पारसले पछिल्लो पटक गत वर्ष फागुनमा थाइल्यान्ड भएको एसिसी इस्टर्न रिजन टि–२० प्रतियोगिता खेलेका थिए।
अब व्यवस्थापक ?
२०७६ को असोजमा निर्वाचनमार्फत क्यानमा चतुरबहादुर चन्दको नेतृत्व आएपछि पारसले कप्तानबाट राजीनामा दिएका थिए। आइसीसीले क्यानमाथि लगाएको निलम्बन सशर्त फुकुवा गरेको २४ घण्टा बित्न नपाउँदै उनले राजीनामा दिएका थिए। क्यानसँगको सम्बन्धका कारण पारसले छिट्टै राजीनामा दिएको अनुमान थियो।
खेलेर मात्रै क्रिकेटको विकास नहुने बताउँदै आएका पारस व्यवस्थापनको नेतृत्वमा जान चाहन्छन्। त्यही कारण पनि पारसले राजीनामा दिएका हुन्। क्यानको विधान अनुसार कुनै पनि खेलाडी निर्वाचित हुँदै नेतृत्वमा पुग्न खेल जीवनबाट कम्तीमा दुई वर्षअघि नै सन्यास लिएको हुनुपर्छ। त्यसैको तयारी लागि पारसले सन्यास लिएको अनुमान धेरैले गरेका छन्।
सन्यास घोषणासँगै समर्थकहरुले सामाजिक सञ्जालमार्फत आश्चर्यसँगै दुःख व्यक्त गरेका छन्। उनीहरुले सन्यास फिर्ता लिन पनि आग्रह गरिरहेका छन्। पारसले अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास घोषणा गरेसँगै फरक फरक प्रतिक्रिया आएका छन्।
कसले के भने ?
नेपाल क्रिकेट संघ
पारस खड्काले अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिने घोषणा गरेका छन्। अहिलेसम्म पारसले पाएको उपलब्धीहरुका लागि सधैँ सम्झिने छौँ। राष्ट्र र क्रिकेटका लागि यतिका वर्ष गरेको योगदानका लागि धन्यवाद ! सुखद भविष्यको शुभकामना !
अखिल नेपाल फुटबल संघ
अविश्वसनीय अन्तराष्ट्रिय क्रिकेट करियरको लागि बधाई छ। आगामी यात्रा सुखद रहोस्।
ज्ञानेन्द्र मल्ल, कप्तान
राष्ट्रिय क्रिकेट टोली
तपाईंले एउटा क्रिकेट टोलीलाई मात्रै होइन, देशका लाखौँ मानिसलाई प्रेरित गर्नुभयो। तपाईं एक सच्चा, उत्कृष्ट लिडर र च्याम्पियन खेलाडी हो। तपाईंको योगदानको कतै तुलना गरेर सकिँदैन। क्रिकेट फिल्डमा तपाईँबिना पाइला चाल्नु कठिन काम हो। यी सबैका लागि धन्यवाद पारस, हामी अवश्य तपाईंलाई सम्झिरहने छौँ।
सुदीप पन्त, क्रिकेट समर्थक
पारस खड्का नाम नभएर एउटा ब्राण्ड हो। हाम्रा लागि दुई कुरा परिवर्तन हुँदैन, महानायक राजेश हमाल दाइ र क्याप्टेन पारस दाइ। किनभने यी दुई हाम्रो बाल्यकालका नायक थिए। जतिबेला पढाइले धोका दियो, खल्तीले धोका दियो, समाजले हेप्यो। राजेश दाइको स्क्रिन र पारस दाइको ब्याटले कहिल्यै धोका दिएन। मानसपटलमा रहेको त्यो बेलाको मनोस्मृतिले उत्प्रेरणाको काम ग¥यो, अहिले नोस्टाल्जियाको काम गरेको छ।
पारस दाइले फेसबुकमार्फत सन्यासको घोषणा त गर्नुभयो तर नेपाली ब्याटिङको मेरुदण्ड नै नभएपछि अब के हुन्छ ?
चितवन क्रिकेट
हजुरमा अझै धेरै खेल बाँकी नै थियो। यति छिट्टै यस बिषयमा सोच्नु पर्ने थिएन। हामी जस्ता क्रिकेट प्रेमी, समर्थकको एउटै आशा आज निभेको छ। खेल जीवन एक दिन अन्त्य हुनु सामान्य हो। तर यसरी यती छिट्टै हुनु सामान्य होइन। हजुरलाई नेपालको जर्सीमा फेरि विश्वकप खेलेको हेर्ने इच्छा अधुरै रह्यो। नेपाली क्रिकेटलाई खेलाडीका रुपमा दिनुभएको योगदान सधैँ अमर हुनेछ। धन्यवाद पारस दाइ, जय नेपाली क्रिकेट।
श्री सहदेव दाहाल, क्रिकेट समर्थक
नेपालमा राजनीतिज्ञ र पैसावालाको दबदबा हुँदा हुँदै पनि नेपाली क्रिकेटको हात छोपेर डिभिजन ५ देखि डिभिजन १ सम्म ल्याउनु र क्वालिफायरको पनि सम्भावना नभएको बेला विश्वकप खेलाउनु पारस खड्का जस्तो महान् कप्तानको अतुलनीय र अविस्मरणीय योगदान हुन्। कुनै मोह नगरी नयाँ खेलाडीका लागि आफ्नो कप्तानी छोड्नु सायदै कसैले गर्न सक्छ।
नजिकको तिर्थ हेला भनेझैं हामी विराट कोहली र स्टिब इस्मितको सफलता देखेर आफ्नो देशको क्रिकेटको विकासका लागि मैदानभित्र र मैदानबाहिर पारस खड्काले गरिरहेका योगदान बिर्सिन्छौं।
तसर्थ, पारस दाजुको यो निर्णय धेरै चाँडो आएको भान भएको छ, दाइको पुनरागमनको अपेक्षासहित हजुरको निवृत्त जीवन सफल रहोस् भन्ने कामना गर्दछु। हजुरले अवकाश ग्रहण गरे पनि नेपाली क्रिकेटको विकासका निम्ति हजुरको योगदान हाम्रो पुस्ता र भावी पुस्ताले सम्झिरहने छ। पारस भन्ने शब्द नेपाली क्रिकेटको पर्यायवाची भनेर सम्झिरहने छौं।
हेटौँडामा हजुरले बाचा गर्नुभएको थियो, ‘नेपाली क्रिकेटलाई एकदिन टेस्ट मान्यता राष्ट्र बनाएर मात्रै सन्यास लिने छु।’ त्यो सपना अधुरो भयो, दाजु, टेस्ट क्रिकेट खेल्ने तपाईंले देखाएको सपना तपाईंको सन्याससँगै कता कता विलय भएको जस्तो लागेको छ।
हजुर यो दुई दशक खेलाडी मात्रै रहनुभएन, कतिको आइडल, कतिको ढुकढुकी, कतिको मेन्टर, कतिको लभ रहनु भयो। हामी सबै सँधै हजुरलाई नेपाली क्रिकेटको भगवान भनेर पुकार्नेछौँ।
दिपेन्द्र न्यौपाने
८–९ वर्षको उमेरमा हातमा, काठका मुङ्ग्रा समातेर हिँड्दै गर्दा को जस्तो खेल्न चाहन्छस् भनेर सोध्दा एउटै जवाफ हुन्थ्यो, पारस दाइ। मैले क्रिकेट के हो भनेर बुझ्ने हुँदा डिभिजन ५ मा थियौँ, हामी अहिले कहाँ छौँ ?
अन्तर्राष्ट्रिय ओडिआई मान्यता प्राप्त राष्ट्र तपाईं र तपाईंको लिडरसिपबिना कुनै हालतमा सम्भव थिएन। नेपाली ब्याटिङमा पारस दाइको जति भर कसैको लाग्दैन, अझै पनि। पारस दाजु रहुञ्जेल आशा कायमै रहन्थ्यो। अझै याद छ
दाइ, बंगलादेशमा भएको टी २० विश्वकपमा घरमा बत्ती थिएन। रेडियोमा कमेन्ट्री सुनेका थियौँ नेपालले अफगानिस्तानविरुद्ध खेल्दा। धेरै खुसी हुने कारण बन्नु भएको छ पारस दाइ तपाईं, पारस दाइ तपाईँबिना अधुरो रहने छ हरेक पटक मैदानमा नेपाली टोली।
आज तपाईंको सन्यासले धेरै नेपाली विक्षिप्त छन्, आँसु छ धेरैको आँखामा, मेरोमा पनि। नेपाल र नेपाली टोली नेपाली राजनीतिबाट गलत अम्पाइरिङको सिकार भएको छ। केही शब्द छैन दाजु।
गणेश खनाल भन्छन्
किन रुवाउनुभयो दाजु, यति धेरै समर्थकलाई? खास कारण के हो ? आवाज उठाउनुस्, तपाईंको एक आवाजमा लाखौँको संख्याले साथ दिने छ। तपाईं यति छिट्टै सन्यास लिने खेलाडी होइन, तपाईंको अभाव नेपाली क्रिकेटमा खड्किरहन्छ। हजुरको यो निर्णयमा मेरो मन दुखेको छ, चित्त दुखेको छ।
Shares
प्रतिक्रिया