ad ad

खेल


सुखमय खेल जीवनकाे बिट मार्दै कमल

सुखमय खेल जीवनकाे बिट मार्दै कमल

यज्ञराज जोशी
मंसिर २२, २०७६ आइतबार ११:९,

कमल अधिकारीले दुई दशकको भारोत्तोलन खेल जीवनलाई जारी १३औं दक्षिण एसियाली (साग) सँगै टुंग्याउने निर्णय लिएका छन।

४३ वर्षे कमलले यस सागमा राष्ट्रिय कीर्तिमानसहित कास्य पदक जितेका थिए। पुरुष ६७ केजी तौल समूहमा कमलले कूल २५२ केजी तौल उठाउँदै कास्य पदक हात पारेका हुन्। उनले स्न्याचमा ११२ र क्लीन एण्ड जर्कतर्फ १४० तौल वहन गरेका थिए।

kamaladhikari2१३औं सागमा कास्यपदक प्राप्त गरेपछि कमल अधिकारी

यस सागमा उनीबाट स्वर्णको अपेक्षा राखिएको थियो। तर, कास्यमा सीमित भएका उनी खेल जीवन टुंग्याउने निर्णयमा पुगेका हुन्।

‘मैले आजै सन्न्यास लिने ठाँनेको थिएँ। तर संघले मानेन। अर्को महिना बस्ने साधारण सभामा सन्न्यासको प्रस्ताव ल्याउन भनिएको छ,’ पोखरामा रहेका कमलले नेपालखबरसँग भने, ‘सन्न्यासले साधारण सभामा औपचारिकता पाए पनि मैले सागसँगै खेल जीवन टुंग्याउने ठानिसकेको छु।’

स्वर्ण नजिते पनि कमल सागको प्रदर्शनबाट असन्तुष्ट भने छैनन्। ‘मैले सक्दो प्रयास गरेको हुँ। स्वर्ण जित्न सकिन तर राष्ट्रिय कीर्तिमानसहित कास्य जित्न पाउँदा सन्तुष्ट छु।’

सुखमय खेल जीवन
आफ्नो खेलजीवनलाई कमलले ‘सुखमय खेल जीवन’ को संज्ञा दिए। यस सागअघि उनी अन्तर्राष्ट्रिय प्रतियोगितामा नेपालका लागि भारोत्तोलनमा स्वर्ण जित्ने एक्लो खेलाडी थिए।

दसौं सागमा उनले उक्त सफलता हात पारेका थिए। आफ्नो खेल जीवनको अविस्मरणीय क्षण त्यही भएको अधिकारी बताउँछन। ‘मेरो खेल जीवन सुखमय नै रह्यो। पदकहरु प्राप्त गरेँ। देशको नाम राख्न सकेँ,’ उनले भने, ‘मेरो अविस्मरणीय क्षण भनेको दसौं सागमा हासिल गरेको स्वर्ण पदक नै हो। त्यो मेरो र भारोत्तोलनबाट देशले पाएको ठूलो उपलब्धी हो।’

सागको १२औं संस्करणमा आइपुग्दा नेपाललाई सर्वाधिक पदक दिलाउने खेल भारात्तोलन थियो। भारोत्तोलनले दिएका १०९ पदकमध्ये एकमात्रै स्वर्ण कमलका नाममा थियो।

पहिलो संस्करणदेखि नै भारोत्तोलनका खेलाडीले पदक दिलाएका थिए। सन् १९९३ को छैटौं सागमा यो खेल समावेश थिएन भने ११औं संस्करणमा नेपाल पदकविहीन भएको थियो। त्यसबाहेक सबै संस्करणमा नेपालले कुनै न कुनै पदक दिलाएको थियो।

सागको १०औं संस्करणमा नै कमलले स्वर्ण जितेका थिए। यसपटक कमलले चौथो पटक साग खेलेका हुन्। नवौं सागमा डेब्यु गरेका उनले दसौं सागमा स्वर्ण जितेका थिए। ११औं संस्करणमा भने उनी पदकविहीन भए। १२औं सागमा शान्ति मिसनमा भएकाले उनले सहभागिता जनाएनन्। यसपटक भने उनले राष्ट्रिय कीर्तिमानसहित कास्य पदक जिते।

त्यसबाहेक कमल ओलम्पिकसहित चार एसियाड खेल्ने एक्लो नेपाली खेलाडी हुन्। गतवर्ष भदौमा भएको १८औं एसियाली खेलकुदअन्तर्गत कमलले आफ्नै नाममा रहेको राष्ट्रिय कीर्तिमानमा सुधार गरेका थिए।

kamaladhikari3 1

कमलले यस सागमा ५ सय ९७ जना सहभागी नेपाली खेलाडीहरुको प्रतिनिधित्व गर्दै उद्घाटन समारोहको मार्चपासमा देशको झण्डा बोकेका थिए। यसअघि पनि तीनपटक उनले एसियन गेम्समा देशको झण्डा बोकिसकेका छन्।

‘देशको प्रतिनिधित्व गर्दै झण्डावहन गर्न पाउनु खेलाडीका लागि गौरवको क्षण हो। त्यो अवसर पटक पटक पाउँदा म निकै खुशी छु। देशले पनि मैले गरेको मेहनतको कदर गरेको जस्तो लागेको छ,’ कमलले सुनाए।

खेलजीवनबारे के गर्ने भन्ने निर्णय कमलले लिइसकेका छैनन। नेपाली सेनाका जागिरे कमल भन्छन्, ‘अब के गर्छु भन्ने ठ्याक्कै योजना बनाइसकेको छैन।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .