दोस्रो संस्करणको पोखरा प्रिमिएर लिग (पीपीएल)को चौँथो दिनको दोस्रो खेलमा विराटनगर टाइटन्स विजयी भएको छ।
बुधबार पोखरा क्रिकेट रङगशालामा भएको खेलमा पोखरा पल्टनलाई ४५ रनले पराजित गर्दै विराटनगरले पहिलो जीत हात पारेको हो। १ सय ४६ रनको लक्ष्य पछ्याएको पोखराले १० विकेट गुमाउँदै केवल एक सय रन बनाउन सक्यो। पोखराका लागि रोहित कुमार पौडेलले सर्वाधिक ३२ रन बनाए।
टस हारेर यसअघि ब्याटिङको निम्तो पाएको विराटनगरको लागि पुनित मेहराले सर्वाधिक ६१ रनको महत्वपूर्ण योगदान दिए। पाँचौ ब्याटसम्यानको रुपमा पिच पुगेका पुनितले २६ बलमा ५ चौका र ४ छक्का प्रहार गर्दै ६१ रन बनाएका थिए। खेलको म्यान अफ दि म्याच विराटनगरका पुनित मेहरा घोषित भए।
तीन खेल खेलेको पोखरा पल्टन दुई खेलमा हार र एक खेलमा जित हात पार्दै लिग तालिकाको पाँचौं स्थानमा रहेको छ। समान खेल खेलेका काठमाडौं गोल्डेन वारियर्स भने नेट रन रेटको आधारमा दोस्रो स्थानमा रहेको छ। काठमाडौं दुई खेलमा हार र एक खेलमा जित निकाल्दै रन रेटको आधारमा दोस्रो स्थानमा रहेको हो। काठमाडौंको नेट रन रेट १.११३ रहेको छ भने पोखराको माइनस ०.६९३ रहेको छ।
राउन्ड रोविनको आधारमा खेलाइएको खेलमा एक खेल खेलेको चितवन राइनोज नेट रन रेटको आधारमा शीर्ष स्थानमा रहेको छ। चितवनको नेट रन रेट १.९३१ रहेको छ।्
दुई खेल खेलेको विराटनगर टाइटन्स एक खेलमा जित र एकमा हार व्यहोर्दै नेट रन रेट १ अंकका साथ तेस्रो स्थानमा छ। एक खेल खेलेको बुटवल ब्लास्टर्स एक खेलमा जित निकाल्दै जिरो अंकका साथ चौथो स्थानमा रहेको छ भने दुई खेल खेलेको एक्सपर्ट धनगढी माइनस २.७३ अंकका साथ तालिकाको अन्तिममा रहेको छ।
प्रतिक्रिया