घोषणादेखि नै शंकाको घेरामा थियो नेपाल टी २० लिग। क्रिकेटको कार्यकारी निकाय नेपाल क्रिकेट संघ (क्यान) ले भारतीय कम्पनी सेभेन थ्री स्पोर्टस्सँग कमर्सियल एन्ड स्ट्रेजेटिक पार्टनरका रुपमा सहकार्य थालेदेखि नै अनेक प्रश्न जन्मिएका थिए।
यी दुईबीचको सहकार्यको सुरुवातले नै नेपाल टी २० लिगलाई शंकाको घेरामा पारिसकेको थियो। खेलको तालिका पटक पटक सरेदेखि पनि शंकामा थप बल मिलेको थियो।
अन्तिम पटक तोकिएको मितिमा एक दिनपछि मात्रै यो लिग कीर्तिपुरस्थित क्रिकेट मैदानमा सुरु भएको थियो। सुरुमै घोषणा गरिएको फ्रेन्चाई टोलीमध्ये एउटाले त्यसबेलासम्म नाम फिर्ता लिइसकेको थियो। केहीबाहेक सहभागी फ्रेन्चाइज टोलीको पारदर्शितामा पनि शंकाले हेरिएको छ।
सुरु नहुँदै शंका गरिएको नेपाल टी २० जब सुरु भयो, त्यसपछि हरेक दिन नयाँ नयाँ विवादका श्रृंखला बढ्दै गए।
कुनै कीर्तिमान वा राम्रो प्रदर्शनका कारण नभएर विवादै विवादले लिग आलोचनाको केन्द्र बन्दै गयो। लिग चलिरहँदा कमेन्टेटरमध्ये एक सचिन तिमल्सिनाले स्पट बेटिङ भएको दाबी गर्दै अलग भएको घोषणा गरे।
उनको भनाइको सत्यताको पनि जाँच होला। तर, काठमाडौं नाइट्सको नेतृत्व गरिरहेका राष्ट्रिय क्रिकेट टोलीका पूर्व कप्तान ज्ञानेन्द्र मल्लले आफ्नो टोलीका एक खेलाडीलाई म्याच फिक्सिङको प्रस्ताव आएको खुलासा गरेपछि शंकामा झनै बल पुग्यो।
मल्लको यो भनाइले टी २० लिगमा गलत काम भइरहेको आशंका बढिरहँदा आईसीसीको टोली नै नेपाल आएको छ। यद्यपि ज्ञानेन्द्रले आफूहरुले नियमानुसार एसियूमा रिपोर्ट गरेको जानकारी दिएको बताएका छन्।
सचिन र ज्ञानेन्द्रको भनाई सार्वजनिक भइरहँदा राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान पारस खड्काले नेपाल टी २० लिगमा स्पट फिक्सिङ जस्तो अपराध भएको खबरले आफू स्तब्ध भएको सामाजिक सञ्जालमा लेखे।
यी सब घटनाक्रमपछि क्यानले छानबिन प्रक्रिया अघि बढाउने जिम्मेवारीबाट चुकेर म्याच फिक्सिङ र स्पट फिक्सिङ जस्तो गम्भीर आरोपलाई भ्रामक र मिथ्था सूचना भन्दै ढाकछोपमा लागेको छ।
यो लिगको अर्को विवादित विषय खेलाडीको पारिश्रमिक पनि हो। लिगका ६ मध्ये २ टोलीले मात्रै खेलाडीलाई भुक्तानी दिन सुरु गरेका थिए। अन्य टोलीले पारिश्रमिक नदिएपछि दुई दिन त खेल समयमा सुरु हुन सकेन।
विदेशी खेलाडीलाई श्रम स्वृकीतिबिना सहभागी गराउँदै सुरु भएको नेपाल टी २० लिगमा विस्तारै म्याच फिक्सिङको आरोपले प्रवेश पाएको थियो।
यससँगै पारिश्रमिक नपाएपछि केही खेलाडी र एक टोलीका प्रशिक्षक नै स्वदेश फर्केको चर्चा चल्यो। सेभेन थ्री स्पोर्टसका अधिकारी जतिन आलुवालिया भारत फर्केपछि लिग नै नहुने अवस्था बनेको थियो। क्यानले आफैँ जमानी बसेपछि मात्रै खेलाडी खेल्न तयार भएका थिए।
विगतमा तीन फ्रेन्चाइज (एभरेष्ट प्रिमियर लिग, धनगढी प्रिमियर लिग र पोखरा प्रिमियर लिग) ले आर्जेको चर्चा र इज्जतमा पनि नेपाल टी २० ले दाग लगाइदिएको छ।
आफैँले अग्रसरता लिएको टी २० लिगको विवादको दलदलमा क्यान आफैँ फस्दै गएको छ। क्यानसँग न कुनै कुराको प्रष्ट जवाफ छ, न जिम्मेवारी बहन गर्न तयार छ।
बिनाश्रमस्वीकृति विदेशीलाई खेलाएकोदेखि म्याच फिक्सिङबारेसमेत सरकारले पनि चासो देखाएको छ। यसअघि फ्रेन्चाइज लिग यति धेरै विवादमा परेकै थिएन।
यो पटक पनि खेलाडीले हान्ने चौका, छक्काको वर्षा र उनीहरुले लिने विकेटको चर्चा हुनुपर्ने थियो। तर, यस पटक खेलको चर्चा कम, आलोचना र विवाद धेरै हुने परिस्थिति आएको छ।
यसअघिका चर्चित लिगलाई बेवास्ता गर्दै देशमा एक मात्रै आधिकारिक लिग गर्ने घोषणा गरेको क्यान आफैँ चौतर्फी आलोचनाको शिकार भइसकेको छ। उसको शिरमा अहिले जसभन्दा बढी अपजस छ।
क्यान आफैँले गरेको लिग विगतकाभन्दा उत्कृष्ट हुने अपेक्षा थियो। तर, लिग अन्त्यतिर पुग्दा विवादै विवादको दलदलमा परेको छ। पछिल्लो समय विश्व क्रिकेटमा टी ट्वान्टी लिग लोकप्रिय भइरहँदा क्यान भने यसकै कारण अर्को संकटतर्फ पुगेको छ।
Shares
प्रतिक्रिया