आइसिसी विश्वकप लिग २ त्रिकोणात्मक एक दिवसीय सिरिजमा घरेलु टोली यूएईविरुद्ध पहिले ब्याटिङमा उत्रेर दबाबमा परेको नेपाललाई अहिले सन्दीप लामिछाने र भीम सार्कीले सम्हालिरहेका छन्।
ओपनरसहित टपअर्डरका अन्य पाँच ब्याटर गुमाएपछि दबाबमा परेको नेपालको स्कोर अहिले सन्दीप र भीमको जोडीले १०० रनमाथि पुर्याएका छन्।
चौथो र छैटौँ क्रममा क्रिजमा आएका दुवैजनाले जोखिम नमोली खेलिरहँदा एक समय संकटमा परिसकेको नेपालले २७ ओभर खेल्दै १०९ रन बनाइसकेको छ।
नेपालका लागि चौथो क्रमका भीमले ४९ बलमा २६ रन बनाइसकेका छन्। उनले २ चौका पनि हानेका छन्।
अर्कातिर छैटौं क्रममा आएका नेपालका बलर सन्दीप लामिछानेले पनि भीमलाई साथ दिँदै ३० बलमा २२ रन बनाइसकेका छन्। उनले १ चौका हानेका छन्।
यसअघि नेपालका ओपनर आशिफ शेख सस्तैमा आउट भए। उनी १४ बलमा केबल ६ रन बनाएको अवस्थामा क्याच आउट भए
आशिफ आउट भएपछि ज्ञानेन्द्र मल्ल पनि २६ बलमा ११ रन बनाउँदा एलबीडब्लु धरापमा पर्दै पवेलियन फर्किए।
त्यसपछि ३२ बलमा ३२ रन जोडेको अवस्थामा कुशल मल्ल पनि बोल्ड हुन पुगे।
कप्तान रोहित पौडेल पनि आजको खेलमा चल्न सकेनन्। उनले ५ बल खेलेर केबल १ रन बनाउँदै आउट भए।
त्यसपछि खेलको १७ औँ ओभर चलिरहेका बेला दीपेन्द्र सिंह ऐरी पनि पवेलियन फर्किए। उनी केबल चार रन बनाएर आउट भए।
नेपालले आजको खेलमा टोलीमा एक खेलाडी परिवर्तन गरेको छ। ओपनर कुशल भुर्तेलको स्थानमा तीव्र गतिका बलर प्रतिश जिसीले मौका पाएका छन्।
आजको खेलमा यूएईलाई उसकै घरेलु मैदानमा हराउने नेपालको योजनामा धक्का लाग्ने देखिएको छ। सिरिजको पहिलो खेलमा नेपाल यूएईसँग ६८ रनले पराजित भएको थियो।
Shares
प्रतिक्रिया