राष्ट्रिय क्रिकेट टोलीका स्पिनर सन्दीप लामिछानेले एसीसी प्रिमियर कपअन्तर्गत ओमानविरुद्धको खेलमा एक विकेट लिएसँगै दुर्लभ विश्व कीर्तिमान आफ्नो नाममा गराएका छन्।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा सन्दीपले ओमानका आदिल साफिकको विकेट लिएसँगै विश्व कीर्तिमान आफ्नो नाममा दर्ता गराएका हुन्।
सन्दीपले १२ ओभरको तेस्रो बलमा साफिकलाई पेवेलियनको बाटो देखाएका थिए। साफिक ३३ बलमा १३ रन बनाएको अवस्थामा एलबीडब्लु धरापमा परेका हुन्।
योसँगै सन्दीपले ओडिआइ क्रिकेट इतिहासमा सबैभन्दा छिटो १ सय विकेट लिने विश्व कीर्तिमान आफ्नो नाममा गरेका हुन्। सन्दीपले ४२ खेलमा एक सय विकेट लिँदै अफगानिस्तानका रसिद खानको कीर्तिमान तोडेका हुन्।
यसअघि ओडीआईमा सर्वाधिक छिटो सय विकेट पूरा गर्ने कीर्तिमान अफगानिस्तानका राशिद खानको नाममा थियो। रसिदले ४४ खेलमा सय विकेट लिएका थिए।
सर्वाधिक छिटो सय विकेट लिने खेलाडीको दोस्रो स्थानमा रहेका अस्ट्रेलियाका मिचेल स्टार्कले छन्।
उनले ५२ खेलमा सय विकेट लिएका थिए। त्यस्तै पाकिस्तानका सक्लैन मुश्ताकले ५३, न्युजिल्यान्डका शेन बोन्ड र बंगलादेशका मुश्ताफिजर रहमानले ५४ खेलमा एक सय विकेट लिएका थिए।
सन् २०१८ मा नेदरल्यान्ड्सविरुद्धको खेलमा ओडीआईमा डेब्यु गरेका सन्दीपले २२ खेलमा ५० विकेट पूरा गरेका थिए। ओडीआइमा नेपालबाट एक सय विकेट लिने सन्दीप पहिलो बलर हुन्।
सन्दीपपछि ओडिआईमा सर्वाधिक विकेट लिने खेलाडीको दोस्रो स्थानमा सोमपाल कामी छन्। सोमपालले ४४ खेलमा ६१ विकेट लिइसकेका छन्। करण केसीले ३८ खेलमा ५६ विकेट आफ्नो नाममा गरेका छन्।
Shares
प्रतिक्रिया