दक्षिण अमेरिकी देशहरूबीच हुने कोपा अमेरिका फुटबल प्रतियोगिताको समूह चरणको ड्र सार्वजनिक भएको छ।
सन् २०२४ जुनमा आयोजना गर्ने गरी निर्धारित कोपा अमेरिकाको खेल तालिका शुक्रबार सार्वजनिक भएको हो।
अमेरिकामा आयोजना हुन लागेको यो प्रतियोगितामा दक्षिण अमेरिकाबाट १० देश र उत्तर तथा मध्यअमेरिकाबाट ६ देश खेल्दैछन्।
यो प्रतियोगितामा दक्षिण अमेरिकाबाट अर्जेन्टिना, बोलिभिया, ब्राजिल, चिली, कोलोम्बिया, इक्वाडोर, पराग्वे, पेरु, उरुग्वे र भेनेजुएलाले खेल्नेछन्। उता उत्तर तथा मध्य अमेरिकी देशबाट नेशन्स लिग र प्लेअफबाट ६ देश आउँदैछन्।
उत्तर अमेरिकाबाट कोनकाकाफ नेशन्स लिग २०२३-२५ को शीर्ष ४ मा पर्ने आयोजक अमेरिकासहित मेक्सिको, जमैका र पानामा सिधै छानिएका छन्। अरु दुई देश प्लेअफबाट आउनेछन्।
ड्र अनुसार डिफेन्डिङ च्याम्पियन अर्जेन्टिनाले समूह चरणमा पूर्वच्याम्पियन चिलीको सामना गर्नुपर्ने भएको छ। यस समूहमा पेरु पनि छ। उता प्लेअफबाट आउने कोनकाकाफ क्षेत्रको पाँचौँ टिम पनि यस समूहमा हुनेछ। जुन क्यानाडा र ट्रिनिडाड एन्ड टोबागोमध्ये एक हुनेछ।
उता समूह बी मा मेक्सिको, इक्वाडोर, भेनेजुएला र जमैका छन्। समूह सी मा आयोजक अमेरिका, उरुग्वे, पानामा र बोलिभिया छन्।
समूह डी मा ब्राजिल, कोलम्बिया र पाराग्वे छन्। यस समूहमा प्लेअफबाट कोनकाकाफ क्षेत्रबाट होन्डुरस र कोस्टारिकामध्ये एक देश आउनेछ।
कोपा अमेरिकाको चार समूहका विजेता र उपविजेता सिधै क्वार्टरफाइनल जाने छन्। सन् २०२४ को कोपा अमेरिकाको पहिलो खेल २०२४ जुन २० मा अर्जेन्टिना र प्लेअफबाट आउने कोनकाकाफ क्षेत्रको पाँचौँ देशबीच हुनेछ। यो प्रतियोगिताको फाइनल भिडन्त जुलाई १४ का लागि निर्धारित गरिएको छ।
Shares
प्रतिक्रिया