सुदूरपश्चिम प्रदेशलाई ८ विकेटले पराजित गर्दै कोशी प्रदेश प्रधानमन्त्री कप महिला टी२० राष्ट्रिय क्रिकेट प्रतियोगिताको प्लेअफमा पुगेको छ।
बिहीबार भएको खेलमा कोशी प्रदेशले पाँचौँ जित निकाल्दै शीर्ष चारमा रहेर प्लेअफमा स्थान पक्का गरेको हो। पराजित सुदूरपश्चिमले पनि प्लेअफमा स्थान बनाएको छ।
सुदूरपश्चिमले दिएको १ सय १९ रनको लक्ष्य कोशीले १७.४ ओभरमा २ विकेटको क्षतिमा भेट्टायो। कोशीको जितमा रुविना क्षत्री र काजोल श्रेष्ठले अर्धशतक पूरा गरे।
रुविनाले ५५ बलमा ८ चौका र १ छक्कासहित ५१ रनमा नटआउट रहिन्। काजोल श्रेष्ठ ४८ बलमा ८ चौका हान्दै ५४ रनमा आउट भइन्।
पहिलो विकेटका लागि काजोल र रुविनाले १ सय १८ रनको शतकीय साझेदारी गरे।
सुदूरपश्चिमका लागि अनु कडायतले २ विकेट लिइन्।
त्यसअघि कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा कोशीले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङ गरेको सुदूरपश्चिमले निर्धारित २० ओभरमा ३ विकेट गुमाउँदै १ सय १८ रनको योगफल तयार पारेको थियो।
सुदूरका लागि ओपनर बिन्दु रावलले सर्वाधिक ३३ रन बनाइन्। सम्झना खड्काले २७ र कविता जोशीले २६ रन थपे। रेवती धामीले २० र रुवि पोदारले २ रन बनाए।
कोशीका लागि सबनम राई र अप्सरी बेगमले समान एक विकेट लिइन्।
यसअघि एपीएफले शीर्ष स्थानमा रहँदै प्लेअफमा स्थान पक्का गरिसकेको छ।
८ टोली सहभागी प्रतियोगिताका शीर्ष चार टोली प्लेअफमा पुग्नेछन्।
शीर्ष दुई टोलीले सोझै क्वालिफायरमा स्थान बनाउनेछन्। त्यसपछिका दुई टोलीले एलिमिनेटर खेल्नेछन्।
Shares
प्रतिक्रिया