पुस १९ गते नेपाल आएका भारतीय विदेशमन्त्री सुब्रमण्यम (एस) जयशंकरले सबैजसो शीर्ष नेताहरूसँग भेट गरे। करिब २७ घण्टा नेपालमा बिताउँदा उनले नेपाल क्रिकेट संघ (क्यान) र नेपाली खेलाडीहरूसँग समेत भेट्न भ्याए। सो क्रममा उनले नेपाली क्रिकेटलाई दुई ‘उपहार’ दिने वाचासमेत गरेका छन्।
जयशंकरले बिहीबार साँझ क्यान पदाधिकारी र खेलाडीसँग अन्तर्क्रिया गरेका थिए।
क्यान पदाधिकारी र खेलाडीसँग उनले भारत नेपाली क्रिकेटलाई प्रवर्द्धन गर्न तयार रहेको र त्यसका लागि भारतीय क्रिकेट बोर्ड (बीसीसीआई) सँग छलफल गरेर आएको बताएका थिए। नेपाली क्रिकेटप्रति जयशंकरले किन चासो दिए त?
नेपालको तर्फबाट बीसीसीआईसँग सहकार्यको प्रस्ताव आएको र जनस्तरमा सम्बन्ध विस्तार गर्ने आफ्नो नीति रहेकोले विदेशमन्त्री जयशंकरको भ्रमणका क्रममा क्रिकेट टोलीसँग बेग्लै भेटघाटको कार्यक्रम राखिएको काठमाडौँस्थित भारतीय दूतावासका एक अधिकारीले नेपालखबरसँग बताए।
खासगरी राजनीतिक र प्रशासनिक तहमा ‘देखिने गरी’ भएका विगतका कतिपय गतिविधि विवादित र आलोचित भए। कति त प्रत्युत्पादक नै सावित भएको भारतीय पक्षको बुझाइ छ। त्यसैले भारतले सम्बन्ध विस्तारको नयाँ आयामका रूपमा क्रिकेटलाई लिएको देखिन्छ।
नेपालमा क्रिकेटको लोकप्रियतालाई हेरेर पनि यसमा सहकार्यका लागि भारत सकारात्मक भएको हुन सक्ने क्यानका अधिकारीहरू बताउँछन्।
यसअघि क्यानले नेपालको सिनियर टोलीलाई भारतको राष्ट्रिय वा ए टोलीसँग खेल्ने वातावरण मिलाइदिन नेपालस्थित भारतीय दूतावाससँग आग्रह गरेको थियो।
‘हामीले राजदूत (नवीन श्रीवास्तव) मार्फत् नेपालको सिनियर टिमलाई त्यहाँको राष्ट्रिय टिम होस् वा ए टिमसँग अभ्यास वा खेलका लागि वातावरण बनाइदिनुपर्यो भनेर एउटा प्रस्ताव बुझाएका थियौँ,’ क्यानका कोषाध्यक्ष पदम खड्काले भने, ‘त्यस विषयमा उहाँ (विदेशमन्त्री जयशंकर) बीसीसीआईसँग छलफल गरेर नै आउनु भएको रहेछ।’
कोषाध्यक्ष खड्काका अनुसार, जयशंकरसँगको भेटमा मुख्य गरी दुई विषयमा छलफल भएको थियो। त्यस क्रममा विदेशमन्त्री जयशंकरले विश्वकपको पूर्वसन्ध्यामा नेपाली टोलीलाई भारतीय राष्ट्रिय टोली र ए टोलीमध्ये एकसँग अभ्यास खेलका लागि वातावरण बनाइदिने आश्वासन दिएका छन्।
त्यसबाहेक भारतले नेपालको क्रिकेट पूर्वाधारमा पनि लगानी गर्ने उनको प्रतिबद्धता छ।
१० वर्षपछि टी–२० विश्वकपमा पुगेको नेपाली टोलीलाई बधाई दिँदै जयशंकरले नेपाली क्रिकेटको विकासमा छिमेकी राष्ट्रका नाताले सक्दो सहयोग गर्ने प्रतिबद्धता जनाएका हुन्।
विश्वकपका तयारीका लागि समय थोरै रहेकाले छिटो तयारी गर्न पनि जयशंकरले सुझाव समेत दिएका थिए। उनले नेपाली क्रिकेटलाई आवश्यक सहयोग गर्ने मौखिक प्रतिबद्धता जनाएका छन्।
जयशंकरले लखनउ, नोयडालगायत चार-पाँच स्थान अभ्यासका लागि उपलब्ध गराउने बताए। उनले तीमध्ये नेपाली टोलीलाई अनुकूल हुने स्थान रोज्न र तयारीका लागि आवश्यक पर्ने यातायात तथा आवासका बारेमा पूर्ण विवरण पठाउन पनि क्यानलाई आग्रह गरेका छन्।
त्यस्तै, क्यानले जयशंकरसँग नेपालमा रंगशाला निर्माणमा सहयोग गर्न पनि प्रस्ताव गरेको थियो। जसमा जयशंकरले सहमति व्यक्त गरेका छन्।
‘हामीले हाम्रो ठूलो स्टेडियम छैन भनेका थियौँ। त्यसका लागि नेपालमा जग्गा उपलब्ध हुन्छ त भन्नुभएको थियो। हामीले जग्गाको समस्या नहुने भनेको टीयू मैदान हो। त्यसलाई अपग्रेड गर्न सकिन्छ भनेपछि उहाँले त्यसको डिटेल पठाउनुहोस्, म हेर्छु भन्नुभएको छ,’ कोषाध्यक्ष खड्काले सुनाए।
क्यानले यसअघि पनि टीयू मैदानको विस्तृत परियोजना प्रतिवेदन भारतलाई बुझाएको थियो।
जयशंकरले पुनः पठाउन भनेपछि क्यानले यसको तयारी सुरु गरेको छ। एक साताभित्र ती विवरण भारतीय दूतावासमा बुझाइने उनले बताए।
भेटका क्रममा जयशंकरले नेपालको क्रिकेट विकासमा सहकार्यका लागि नेपाल सरकारको तर्फबाट पनि पहल हुनुपर्ने बताएका थिए।
क्यानका खेलाडी र पदाधिकारीसँगको भेटअघि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँगको भेटका क्रममा जयशंकरले क्यान र खेलाडीसँग भेट्न लागेको जानकारी गराएका थिए।
नेपालको क्रिकेट विकास लागि भारतीय सहयोग लिन प्रधानमन्त्री प्रचण्ड पनि सकारात्मक रहेको जयशंकरले बताएका थिए।
टी–२० विश्वकपअघि नेपालले विश्वकप लिग २, त्रिकोणात्मक सिरिज लगायतका खेल खेल्नेछ। विश्वकपमा नेपाल दक्षिण अफ्रिका, श्रीलंका, बंगलादेश र नेदरल्यान्ड्स रहेको समूह डी मा छ।
विश्वकपका खेलहरू अमेरिका र वेस्ट इन्डिजमा हुनेछन्। यीमध्ये नेपालले दुई खेल वेस्ट इन्डिजमा र दुई खेल अमेरिकामा खेल्नेछ।
पहिलो खेलमा नेपालले नेदरल्यान्ड्ससँग ४ जुनमा डलासमा खेल्नेछ। समूहको दोस्रो खेलमा नेपालले जुन ११ मा फ्लोरिडाको लाउडरहिलमा श्रीलंकाको सामना गर्नेछ। १४ जुनमा दक्षिण अफ्रिकासँग र १६ जुनमा बंगलादेशसँग खेल्ने तालिका छ। यद्यपि, आईसीसीले औपचारिक रूपमा खेल तालिका भने सार्वजनिक गरेको छैन।
Shares
प्रतिक्रिया