फरासिली स्वभावकी छिन् क्रिकेटर तिर्सना विश्वकर्मा। ७ कक्षामा पढ्दा नै क्रिकेट खेल्न थालेकी उनी अहिले १२ मा पढ्दै छिन्। तिर्सनाको खेलाडी र विद्यार्थी जीवन सँगसँगै चलिरहेको छ।
सानोमा स्कुलका साथीहरू क्रिकेट खेल्थे। उनी पनि प्लास्टिकको बलसँग खेल्थिन्। क्रिकेट भन्ने थाहासम्म थिएन। एक दिन साथी इसु हितानले क्रिकेट खेल्ने हो भनेर सोधेपछि लहडैमा उनले ‘हुन्छ’ भनिन्।
त्यही ‘हुन्छ’बाट अघि बढेको क्रिकेट करिअर अहिले प्रदेशस्तरीय खेलाडीसम्म पुगेको छ। उनी कर्णाली प्रदेशको प्रतिनिधित्व गरिरहेकी छन्। क्रिकेटर शक्ति गौचनसँग क्रिकेट सिकिरहेकी उनले खेल जीवनको ५ वर्ष कटाइसकिन्। यसलाई अझै गति दिन चाहन्छिन्।
उनमा गज्जबको क्रिकेट भोक छ। त्यसैलाई मेटाउन तिर्सना भैरहवास्थित गौचनको स्टार क्रिकेट एकेडेमी पुगेकी हुन्। एकेडेमीमा उनलाई शक्तिले निःशुल्क प्रशिक्षण दिँदै आएका छन्।
आवश्यक क्रिकेटका सामान पनि शक्तिले नै जोहो गरिदिएको उनी बताउँछिन्।
‘बेलाबेला उहाँले के चाहिएको छ भनेर सोध्नुहुन्छ’, उनी भन्छिन्, ‘कहिलेकाहीँ मात्र किन्छु, त्यति किन्नु पर्दैन। सर र म्याम दुवै जनाले एकदमै सपोर्ट गर्नुहुन्छ।’
क्रिकेटसँगको साइनो
तिर्सना भैरहवामा बस्छिन्। तर प्रतिनिधित्वचाहिँ कर्णाली प्रदेशको गर्छिन्। गत साता सम्पन्न प्रधानमन्त्री कप महिला टी–२० प्रतियोगिता कर्णाली प्रदेशबाट खेलिन्। कर्णाली प्रदेशको लागि उनले खेल्न थालेको ४ वर्ष भइसकेको छ।
सानोमा क्रिकेटबारे थाहै नपाएकी उनी साथीको माध्यमबाट क्रिकेटसम्म पुगिन्। भन्छिन्, ‘त्यो बेलामा मलाई क्रिकेट के हो भन्नेसम्म थाहा थिएन। साथीले क्रिकेट खेल्छौ भनेर सोधेपछि खेलौँ न त, के रहेछ भन्ने भयो।’
यहीँबाट उनको क्रिकेटसँगको साइनो जोडिएको थियो। साथीहरूले भनेपछि नै उनी स्टार क्रिकेट एकेडेमीमा पुगेकी थिइन्।
‘क्रिकेट खेल्ने भएपछि प्याड लगाऊ न त भने तर म अवाक् भएँ’, सानो किस्सा सुनाउँदै उनी भन्छिन्, ‘त्यो बेलामा प्याड भनेको केटीहरूले महिनावारी हुँदा लगाउने भन्ने मात्र बुझ्थेँ नि त!’
पछि एउटा दाइले योवाला प्याड लगाऊ भनेपछि उनले क्रिकेटको प्याड बुझिन्।
‘अनि त्यसरी नै सिक्दै गएँ’, तिर्सना भन्छिन्।
खेल्दाखेल्दै जागेको क्रिकेट तृष्णा
एकेडेमीमा पुग्दासम्म पनि उनले खेलौँ न त भन्ने मात्र सोचेकी थिइन्। जिल्ला हुँदै प्रदेशको टोलीबाट खेल्छुजस्तो लाग्दैनथ्यो।
तर जब जिल्लाबाट खेल्न थालिन्, अनि मात्र उनमा क्रिकेटप्रति मोह बढ्दै गयो। त्यसपछि प्रदेशबाट खेल्ने रहर बढ्यो। अब उनी महत्वाकांक्षी भइसकेकी छन्।
अब एक दिन नेपालबाट अन्तर्राष्ट्रिय मैदानमा खेल्नुपर्छ भन्ने सोचका साथ अघि बढ्न थालेकी छन्।
‘एक दिन नेपाली राष्ट्रिय टिमको जर्सी लगाउने चाहना छ’, उनी भन्छिन्, ‘त्यसका लागि अझै कठिन मिहिनेत गर्नुपर्छ भन्ने बुझेकी छु।’
परिवारको साथ र स्कुल-कलेजका शिक्षकहरूको सहयोगले नै अहिले प्रदेशबाट खेल्न सकेको उनी बताउँछिन्।
घरमा उनी कान्छी छोरी हुन्। बुबा चन्द्रबहादुर विक भलिबल खेल्थे। आमा दयाकुमारी विक पनि उनको रहर पूरा गराउन चाहन्थिन्।
क्रिकेट सिक्दै जाँदा प्रशान्त मल्लको माध्यमबाट नै कर्णाली प्रदेशको क्रिकेट टोलीको हिस्सा हुन पुगेको उनको भनाइ छ।
सुधारिँदो प्रदर्शन
कर्णालीको टोलीमा उनको भूमिका भनेको मुख्य ब्याटिङ नै हो। त्यसमा पहिलेभन्दा निकै सुधार गरेको उनको अनुभव छ। रन बनाउन नसकेको बेलामा टोलीका साथी र प्रशिक्षकले दिने सान्त्वनाले उनलाई क्रिकेट खेल्न प्रेरणा मिलिरहेको छ।
त्यसो त घरेलु क्रिकेटमा कर्णाली प्रदेशले सबैभन्दा ढिला खेल्न सुरु गरेको हो। त्यसैले टोलीको प्रदर्शन पनि औसत छ। यद्यपि विगतको तुलनामा कर्णालीले आफ्नो प्रदर्शनमा सुधार गर्दै लगेको उनको अनुभव छ।
‘टोलीको प्रदर्शन राम्रै छ। हामीले हेर्ने भनेको फिल्डिङ हो। हाम्रोमा ब्याटरको कमी देख्छु। धेरै बलर छन्। ब्याटिङ सुधार्नुपर्छजस्तो लाग्छ’, उनले भनिन्।
पीएम कप : एक नयाँ अनुभव
काठमाडौंमा भएको पीएम कप तिर्सनाका लागि नयाँ अनुभव रह्यो। यसअघि नाम मात्र सुनिरहेको कीर्तिपुरको टियु मैदान र मूलपानी मैदानमा आफूले पनि खेल्ने कुरा उनी कल्पना मात्र गर्थिन्।
उनी भन्छिन्, ‘टियुमा पहिलो खेल हो। सिनियर दाइहरू खेलेको टिभीमा हेर्दा हामी पनि जान पाए हुन्थ्यो भन्ने हुन्थ्यो।’
काठमाडौँमा खेल हुने त्यो पनि टियु र मूलपानीमा भन्ने सुन्दा उनमा खुसीको सीमा थिएन।
‘कहिले पुगौं र बल फेस गरौं भन्ने थियो, यहाँ आएर खेल्न पाइयो’, उनले भनिन्, ‘धेरैमध्येको एक सपना पूरा हुँदा धेरै कुरा सिक्न पाएँ।’
पीएम कपमा अनुभवी ‘सिनियर’ खेलाडीसँग खेल्न पाउँदा उनले धेरै कुरा सिक्न पाइन्।
यसअघि उनले धनगढी, इटहरी र दाङमा कर्णाली प्रदेशबाट खेलिसकेकी छन्।
तोकिएकै समयमा भए अबको १ वर्षभित्र कर्णाली प्रदेशमा दसौँ खेलकुद प्रतियोगिता हुनेछ। त्यसका लागि कर्णाली प्रदेश पनि तयारीमा जुटिरहेको छ। यसले तिर्सनालाई सुन्दा नै खुसी लागेको छ।
‘हाम्रो प्रदेशमा पहिलोपटक ठूलो स्तरको खेल हुँदै छ। आफ्नो प्रदेशमा हुँदै छभन्दा खुसी छु’, उनी भन्छिन्, ‘बलियो टिम बनाएर ल्याउने हो। आफ्नो कमजोरी सुधार गर्ने हो।’
यसअघि गण्डकी प्रदेशमा भएको नवौं खेलकुदअन्तर्गत क्रिकेटमा सहभागिता जनाउन तिर्सना पोखरासम्म पुगेकी थिइन्। तर उमेर नपुगेपछि फर्किनुपरेको थियो। त्यसले केही निराश भएको उनी सुनाउँछिन्।
Shares
प्रतिक्रिया