नेपाली यू-१९ का स्पिनर सुवास भण्डारीलाई अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) ले कारबाही गरेको छ।
दक्षिण अफ्रिकामा जारी यू–१९ विश्वकपअन्तर्गत बुधबार दोस्रो खेलमा नेपाल पाकिस्तानसँग भिडेको थियो। सो क्रममा गरेको गल्तीका कारण स्पिनर भण्डारीलाई आईसीसीले कारबाही गरेको हो।
उनलाई आईसीसीले एक डेमेरिट प्वाइन्ट दिएको हो। एक डेमेरिट प्वाइन्ट आगामी २४ महिनासम्म रेकर्डमा हुनेछ।
पाकिस्तानविरुद्धको खेलमा १४औँ ओभरमा भण्डारीले शाहजैब खानलाई अनावश्यक रूपमा बल फ्याँकेपछि उनको काँधमा लागेको थियो।
सोही कारण आईसीसीको आचारसंहिता २.९ अनुसार भण्डारीलाई कारबाही गरिएको हो।
कुनै खेलाडीले २४ महिनाभित्र चार डेमेरिट प्वाइन्ट हुनेगरी गल्ती गरेमा दुई खेलमा प्रतिबन्ध लाग्नेछ।
नेपाल पाकिस्तानसँग ५ विकेटले हारेको थियो भने पहिलो खेलमा न्युजिल्यान्डसँग ६४ रनले।
शुक्रबार अफगानिस्तानलाई १ विकेटले हराउँदै नेपाल सुपर सिक्समा पुगेको छ।
अब सुपर सिक्समा नेपाल भारत र बंगलादेशसँग भिड्ने छ।
Shares
प्रतिक्रिया