ad ad

खेल


भारतसँग पराजयसँगै नेपाली युवाटोलीको विश्वकप यात्रा टुंगियो

भारतसँग पराजयसँगै नेपाली युवाटोलीको विश्वकप यात्रा टुंगियो

नेपालखबर
माघ १९, २०८० शुक्रबार २२:१, काठमाडौँ

आईसीसी यू–१९ विश्वकपको सुपर सिक्सको आफ्नो अन्तिम खेलमा भारतसँग पराजित हुँदै नेपाली युवा टोलीले विश्वकप यात्रा टुङ्ग्याएको छ।

यू१९ विश्वकपमा नेपाल लगातार तेस्रो पटक भारतसँग पराजित भएको हो। यसअघि सन् २००० मा भएको पहिलो भेटमा नेपाल नेपाल ८ विकेटले पराजित भएको थियो। त्यस्तै सन् २०१६ मा भएको दोस्रो भेटमा नेपाल ७ विकेटले पराजित भएको थियो।

शुक्रबार भएको सुपर सिक्सको अन्तिम खेलमा नेपाल भारतसँग १ सय ३२ रनको फराकिलो अन्तरले पराजित हुँदै विश्वकप यात्रा सकाएको हो।
नेपालमाथिको जितसँगै भारतिय युवा टोली भने समुह ए को शीर्ष स्थानमा रहँदै सेमिफाइनलमा पुगेको छ।

यता नेपालको भने सुपर सिक्स खेल्नु अघि नै सेमिफाइनल सम्भावना सकिसकेको थियो। नेपालले समूह चरणको पहिलो र दोस्रो खेलमा न्युजिल्यान्ड र पाकिस्तानसँग हार भोगेको थियो। सुमह चरणको अन्त्मि खेलमा अफगानिस्तानलाई हराउँदै नेपाल तेस्रो स्थानमा रहेर सुपर सिक्समा पुगेको थियो।

सुपर सिक्सको पहिलो खेलमा नेपाल बंगलादेशसँग ५ विकेटले पराजित भएको थियो।

भारतले दिएको २ सय ९८ रनको विशाल लक्ष्य पछ्याएको नेपालले ५० ओभरमा ९ विकेट गुमाउँदै १ सय ६५ रन मात्र बनाउन सक्यो।  

कप्तान देव खनालले बनाएको ३३ रन नै नेपालका लागि सर्वाधिक रह्यो। ओपनर अर्जुन कुमालले २५ रन थपे। अर्का ओपनर दिपक बोहोराले २२ रन बनाए।

अन्तिम विकेटका लागि आकाश चन्द र दुर्गेस गुप्ताले ४५ रनको अविजित साझेदारी गरे। दुर्गेस गुप्ता २९ र आकाश चन्द १८ रनमा नटआउट रहे।

भारतको घातक बलिङसामु नेपालका ब्याटर लामो समय क्रिजमा टिक्न सकेनन्। ५ खेलाडीले दोहोरो अंकको स्कोर छुदा ५ खेलाडी सजिलै आउट भए।

उत्तम मगरले ८ र सुवास भण्डारीले ५ रन बनाउँदै पेभेलियन फर्के। गुल्सन झा र विशाल विक्रम केसीले समान १ रन बनाउँदै आउट भए। दिपेश कँडेल र दिपक डुम्रे शुन्य रनमा आउट भए।

नेपाललाई कम स्कोरमा रोक्न सोमी पाण्डेले चार विकेट लिए। अर्शिन कुलकर्नीले २ विकेट लिए। राज लिवानी, आराध्या शुक्ला र मुरुगान अविशेखले समान १ विकेट आफ्नो नाममा गरे।

त्यसअघि दक्षिण अफ्रिकाको ब्लुमफोन्टिनस्थित मनगाउङग ओभलमा टस जितेर ब्याटिङ गरेको भारतले निर्धारित ५० ओभरमा ५ विकेट गुमाउँदै २ सय ९७ रनको योगफल तयार पारेको हो।

चौथो विकेटका लागि कप्तान उदय सहरान र सचिन दासले २ सय १५ विशाल साझेदारी गरेपछि भारतले नेपालसामु विशाल योगफल खडा गरेको हो।

१०१ बलमा ११ चौका र ३ छक्का प्रहार गर्दै १ सय १६ रन बनाएका सचिन गुल्शन झाको बलमा क्याच आउट भए। सचिनले ९३ बलमा १० चौका र २ छक्का मद्दतमा शतक पूरा गरेका थिए।

उता उदयले पनि १०७ बलमा ९ चौका मद्धतमा शतक पूरा गर्दै क्याच आउट भए।

सचिन र उदयको साझेदारी नेपालका लागि घातक बन्न पुग्यो। गुल्शनले सचिनको विकेट लिँदै भारतको विशाल साझेदारी तोडे। उदयलाई पनि गुल्शन झाले सुवास भण्डारीको हातबाट क्याच आउट गराए।

त्यसअघि १४ ओभरको समाप्तीमा भारत ३–६२ को अवस्थामा थियो। तेस्रो विकेटका रुपमा ओपनर कअर्शिन कुलकर्नी १८ रनमा क्याच आउट भए।

३० बलमा २ चौका हानेका अर्शिनलाई आकाश चन्दले विकेट किपर उत्तम मगरको हातबाट क्याच आउट गराउँदै पेभेलियनको बाटो देखाए।

दोस्रो विकेटका रुपमा भारतले १४ ओभरको पाचौँ बलमा प्रियांशु मोलियोलाई गुमाएको थियो। ३६ बलमा १ चौका हानेका प्रियांशु १६ रन बनाउँदै रन आउट भए।

नेपालका लागि पहिलो विकेट गुल्शन झाले लिए। अलराउण्डर गुल्शन झाले भारतीय युवा टोलीका ओपनर आर्दश सिंहलाई २१ रनमा उत्तम कै हातबाट क्याच आउट गराउँदै पेवेलियको बाटो देखाएका थिए।

भारतविरुद्ध गुल्सन झाले ३ विकेट लिए। आकाश चन्दले एक विकेट आफ्नो नाममा गरे।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .