ad ad

खेल


पहिलो पटक विश्वविद्यालय खेलकुद प्रतियोगिताको सुरुवात

पहिलो पटक विश्वविद्यालय खेलकुद प्रतियोगिताको सुरुवात

नेपालखबर
माघ २१, २०८० आइतबार २०:१७, काठमाडौँ

विश्वविद्यालयमा पनि खेलकुदको विकास गर्ने र त्यहाँका प्रतिभालाई राष्ट्रियस्तरसम्म प्रोत्साहित गर्ने उद्देश्यअनुरूप पहिलोपटक विश्वविद्यालय खेलकुद प्रतियोगिताको शुरुवात हुने भएको छ।

विश्वविद्यालयमा पुगेपछि खेल प्रतिभा हराउने भएकाले उनीहरूको संरक्षण गर्ने र विश्वविद्यालयमा खेलकुदमय बनाउन नेपाली खेलकुदको कार्यकारी निकायले विश्वविद्यालय खेलकुद प्रतियोगिताको सुरुवात गर्न थालेको हो। राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले आइतवार त्रिपुरेश्वरस्थित राखेप भवनमा पत्रकार सम्मेलन आयोजना गर्दै प्रतियोगिताको बारेमा जानकारी दिएको हो। प्रतियोगिता सोमवारदेखि शुरु हुँदैछ। प्रतियोगितामा एथलेटिक्स, भलिबल, टेबलटेनिस र ब्याडमिन्टन गरी चार खेलको प्रतिष्पर्धा हुनेछ।

भलिबलमा छात्र टोलीको मात्र सहभागिता रहने राखेपले जनाएको छ। राखेपका उपाध्यक्ष एवं प्रतियोगिता सञ्चालन तथा व्यवस्थापन कार्यदलका संयोजक शिव कोइरालाले अहिले सुरुवात मात्र गरिएको उल्लेख गर्दै अबको दिनमा निश्चित कार्यतालिकासहित विश्वविद्यालय खेलकुद प्रतियोगिता गर्ने बताए। उपाध्यक्ष कोइरालाले बजेटको आकार र खेल संख्यामा पनि वृद्धि गर्ने विश्वास व्यक्त गरे।

आइतवार नै पत्रकार सम्मेलनका अवसरमा प्रथम विश्वविद्यालय खेलकुद प्रतियोगिताको लोगो तथा रनिङ ट्रफी सार्वजनिक गरिएको छ। राखेपका उपाध्यक्ष एवं प्रतियोगिता सञ्चालन तथा व्यवस्थापन कार्यदलका संयोजक शिव कोइरालाले प्रतियोगिताको लोगो र रनिङ ट्रफी सार्वजनिक गरेका हुन्। एथलेटिक्स त्रिपुरेश्वरस्थित दशरथ रंगशाला, ब्याडमिन्टन त्रिपुरेश्वरस्थित राखेपको कभर्डहल, टेबलटेनिस लैनचौरस्थित राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्र र भलिबल जावलाखेलस्थित राष्ट्रिय खेलकुद प्रशिक्षण केन्द्रमा खेलाइनेछ।

प्रतियोगितामा विभिन्न १० विश्वविद्यालयका दुई सय ८० खेलाडीले प्रतिष्पर्धा गर्नेछन्। एथलेटिक्समा १२ स्वर्ण, भलिबलमा एक स्वर्ण तथा टेबलटेनिस र ब्याडमिन्टनमा समान पाँच गरी जम्मा २३ स्वर्णका लागि प्रतिष्पर्धा हुनेछ। पत्रकार सम्मेलनमा राखेप उपाध्यक्ष कोइरालाले सम्बन्धित विश्वविद्यालयका प्रतिनिधिसँगको छलफलपछि ४ खेल समावेश गरिएको उल्लेख गर्दै विश्वविद्यालयहरूले पनि खेलकुदलाई महत्व दिउन् भन्ने उद्देश्यले राखेपले प्रतियोगिताको थालनी गरेको धारणा राखे।

दुईदिने प्रतियोगिता सञ्चालन गर्न करिब ४० लाख रुपैयाँ खर्च हुनेछ। आइतवार पत्रकार सम्मेलनमा राखेपका निमित्त सदस्यसचिव प्रकाशकुमार कसारी, राखेपका सदस्य अञ्जन धमला र प्रशासन विभाग प्रमुख प्रेमबहादुर मल्ललगायतको उपस्थिति रहेको थियो। सो अवसरमा खेलकुद प्रतियोगिता तथा योजना विभागका प्रमुख मिनकुमार शर्माले सहभागी सबै विश्वविद्यालयले छनोट प्रतियोगिता सम्पन्न गरिसकेको बताए। यो प्रतियोगितामा सहभागी हुने खेलाडीको उमेर २८ वर्षभन्दा कम हुनुपर्ने प्रावधान पनि राखिएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .