ad ad

खेल


घरेलु मैदानमा १५ औँ खेलपछि नेपाल पराजित, नामिबिया ४ विकेटले विजयी

घरेलु मैदानमा १५ औँ खेलपछि नेपाल पराजित, नामिबिया ४ विकेटले विजयी

तस्बिर : सरोज नेपाल


नेपालखबर
फागुन ३, २०८० बिहिबार १५:२०, काठमाडौँ

नामिबियासँग पराजित हुँदै नेपाली राष्ट्रिय क्रिकेट टोलीले आईसीसी विश्वकप लिग–२ त्रिकोणात्मक सिरिज हारबाट सुरुवात गरेको छ। 

टोलीका मुख्य प्रशिक्षक मोन्टी देसाईको आगमनपछि नेपाली टोलीले लिग २ मा १३ औँ खेलपछि पहिलो हार व्यहोरेको हो। 

घरेलु मैदानमा भने नेपालले १५ औँ खेलसम्मको अपराजित यात्रालाई पूर्णविराम लगाएको छ। 

बिहिबार भएको खेलमा नेपाल नामिबियासँग ४ विकेटले पराजित भयो। 

नेपालले दिएको १ सय ३३ रनको लक्ष्य नामिबियाले ३३.१ ओभरमा ६ विकेटको क्षतिमा भेट्टायो। 

नामिबियालाई रोक्न तीव्र गतिका बलर सोमपाल कामीले ३ विकेट लिए। ललित राजवंशीले २ विकेट लिए। रोहित पौडेलको नाममा एक विकेट रह्यो। 

सोमपालले २५ औँ ओभरको पहिलो बलमा विकेट किपर जान ग्रिनलाई २ रनमा आउट गराउँदै पेभेलियनको बाटो देखाए। 

त्यसअघि सोमपालले २१ औँ ओभरमा दुई विकेट लिएका थिए। सोमपालले २१ औँ ओभरको तेस्रो बलमा कप्तान जिहार्ड इरासमसलाई ८ रन बनाउँदा पवन सर्राफको हातबाट क्याच आउट गराए। 

सोही ओभरको अन्तिम बलमा जान फ्राइलिंकलाई ३४ रनमा क्याच आउट गराए। ५३ बलमा ४ चौका हानेका जान ३४ रन बनाउँदा कुशल भुर्तेलको हातबाट क्याच आउट गराए। 

त्यसअघि ललित राजवंशीले नामिबियाका दुवै अ‍ोपनरलाई पेभेलियनको बाटो देखाएका थिए।   

ललितले १४ औँ ओभरको पहिलो बलमा माइकल भान लिंगेनलाई २३ रनमा क्याच आउट गराउँदै पेभेलियनको बाटो देखाए।  

ओपनर माइकबलले ३३ बलमा ३ चौका हान्दै २३ रन बनाउँदा अनिल शाहको हातबाट क्याच आउट भए।  

ललितले नै छैटौं ओभरको तेस्रो बलमा ओपनर निकोलस डेभिनलाई १५ रन बनाउँदा कुशल भुर्तेलको हातबाट क्याच आउट गराए। 

जोन निकोल ३१ रन बनाउँदा रोहित पौडेलको शलमा एलबीडब्लु धरापमा परे। 

जोहानत जोनाथन स्मिथ १७ र रुवेन १ रनमा अविजित रहे। ३४ ओभरको पहिलो बलमा स्मिथले छक्का हान्दै टोलीलाई जित दिलाए। 

त्यसअघि कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा नामिबियाले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङ गरेको नेपाल ४१.१ ओभरमा १ सय ३२ रन बनाउँदा अलआउट भयो।

नेपालले घरेलु मैदानमा बनाएको यो अहिलेसम्म कै कम योगफल हो। 

नामिबियाविरुद्ध नेपालका लागि भिम सार्कीले बनाएको ४४ रन नै सर्वाधिक रह्यो। ६ बलमा २ चौका र १ छक्का प्रहार गरेका भिम २ औँ ओभरको चौथो बलमा जेहार्ड इरासमसको बलमा एलबीडब्लु धरापमा पर्दै पेभेलियन फर्के। 

नेपाल एक समय ९.३ ओभरमा ४–२१ को अवस्थामा थियो। कुशल मल्ल र भिम सार्कीले पछिल्लो १० ओभरमा ४६ रनको साझेदारी गर्दै इनिङ्स सम्हालेका थिए। 

पाँचौँ विकेटका रुपमा नेपालले कुशल मल्ललाई गुमायो। कुशल २० औँ ओभरको पाचौँ बलमा १५ रन बनाउँदा क्याच आउट भए। 

पवन सर्राफ २१ रनमा इरासमसको बलमा बोल्ड आउट भए। इनिङस्को पहिलो बलमा नै ओपनर कुशल भुर्तेल रोयल डक आउट भए।

कुशल रुवेन ट्रम्पलम्यानको बलमा स्मिथको हातबाट पहिलो बलमा नै क्याच आउट भएका थिए। 

तेस्रो ओभरको पहिलो बलमा अनिल शाह ८ रनमा क्याच आउट भए। ६ बलमा २ चौका हान्दै ८ रन बनाएका अनिल रुवेन ट्रम्पलम्यानकै बलमा एलबीडब्लु धरापमा परे। 

ओपनर आशिफ चौथो ओभरको पाँचौँ बलमा ४ रन बनाउँदा क्याच आउट नै हुन पुगे। ११ बलमा १ चौका हानेका आशिफ ज्याब ब्रासेलको बलमा स्मिथकै हातबाट क्याच आउट भएका हुन्। 

१० औँ ओभरको तेस्रो बलमा कप्तान रोहित पौडेल १ रनमा बोल्ड आउट भए। १३ बलमा १ रन बनाएका रोहित ज्याक ब्रसेलको बलमा बोल्ड आउट भए। 

करण केसी १६ रन बनाउँदा इरासमसको बलमा एलबीडब्लु धरापमा परे। 

ललित राजवंशी शुन्य रनमा नटआउट रहे। 

नामिबियाका लागि जेहार्ड इरासमसले ५ विकेट लिए। उनले .१ ओभरमा २ रन खर्चेका थिए। रुवेन, ब्रसेल्सले समान २ विकेट लिए। जान निकोलले एक विकेट आफ्नो नाममा गरे। 

त्रिकोणात्मक सिरिजको दोस्रो खेलमा नेपालले भोलि शुक्रबार नेदरल्याण्डस्सँग खेल्नेछ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .