ad ad

खेल


कीर्तिपुरमा क्रिकेटरले कायम गरेका यी दर्जन कीर्तिमान

कीर्तिपुरमा क्रिकेटरले कायम गरेका यी दर्जन कीर्तिमान

लक्ष्मी जि.सी
माघ २९, २०७६ बुधबार १३:४८,

आइसीसी विश्वकप त्रिकोणात्मक शृंखलाअन्तर्गत अमेरिकासँगको दोश्रो खेलमा बुधबार नेपालले ८ विकेटको कीर्तिमानी जित हासिल गर्‍यो। यससँगै नेपालले घरेलु मैदानमा भएको सो शृंखलाको सुखद् समापन गरेको छ।

लिग २ मा ४ खेल खेलेको नेपालले होम एन्ड अवे (देशभित्र र बाहिर) गरेर अझै ३२ वटा खेल खेल्न बाँकी छ। ओमानसँग दुवै खेल हारेको नेपालले अमेरिकालाई भने दुवै खेलमा पराजित गर्‍यो।

लिग २ मा नेपाल, ओमान, अमेरिका, स्कटल्यान्ड, नामिबिया, संयुक्त अरब इमिरेटस् (यूएई) र पपुवा न्युगिनीसहित ७ देश सहभागी छन्।

बुधबार भएको शृंखलाको अन्तिम खेलमा नेपालले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङ गरेको अमेरिकाले १२ ओभरमा अल आउट हुँदै मात्र ३५ रन जोेड्न सक्यो। योसँगै एक दिवसीय इतिहासमा विपक्षीलाई सबैभन्दा कम बलमा अलआउट गर्ने कीर्तिमान नेपालले बनाएको छ।

नेपालले ७२ बलमै अमेरिकालाई अल आउट गर्दै दुर्लभ कीर्तिमान आफ्नो नाममा गरेको हो। यसअघि सन् २००४ मा श्रीलंकाले जिम्बावेलाई ३५ रनमै अल आउट गरेको थियो।

तर त्यसका लागि श्रीलंकाले १८ ओभर खर्चेको थियो। 

यसअघि अफगानिस्तानले २०१७ मा जिम्बावेलाई १३.५ ओभर अर्थात् ८३ बलमा ५४ रनमा अल आउट गरेर कीर्तिमान कायम गरेको थियो भने नेपालले अमेरिकालाई १२ ओभरमै अलआउट गरी सबैभन्दा छिटो अलआउट गर्ने नयाँ कीर्तिमान कायम गरेको छ।

cricket audience

खेलमैदानलाई मान्यता
विश्वकप लिग २ अन्तर्गत त्रिकोणात्मक शृंखलाको आयोजनासँगै कीर्तिपुरको त्रिवि क्रिकेट मैदानले एक दिवसीय खेल मैदानको मान्यता पाएको छ।

अन्तर्राष्ट्रिय स्तरका क्रिकेट खेल खेलाउनका लागि नेपालमा अहिलेसम्म यहि एकमात्र खेलमैदान छ भने मुलपानीमा वर्षौंदेखि निर्माणाधीन क्रिकेट मैदान अझै सम्पन्न भएको छैन। त्रिवि मैदानमा अन्तर्राष्ट्रिय स्तरका खेलहरु खेलाइने गरेको भए पनि एकदिवसीय मैदानको औपचारिक मान्यता पाएको यो पहिलोपटक हो।

त्रिवि मैदानले त्यहाँ पहिलो अन्तर्राष्ट्रिय खेल आयोजना गरेको २२ वर्षपछि सो मान्यता पाएको हो।

kamal Airee
क्याप्टेन मल्लबाट एक दिवसीय खेलकाे क्याप लिँदै कमल ऐरी। 

४ खेलाडीको डेब्यु
नेपालले आईसीसी विश्वकप लिग २ त्रिकोणात्मक शृंखलामा नेपालका ३ बलरहरु सुसन भारी, अविनाश बोहोरा, कमल ऐरी र अलराउन्डर कुशल मल्लले एक दिवसीयमा डेब्यु गरे। बुधबार ओमानविरुद्धको पहिलो खेलमा तीव्र गतिका बलर अविनाश बोहोरा र स्पिनर सुशन भारीले डेब्यु गरे। अविनाश नेपालबाट एक दिवसीयमा डेब्यु क्याप लगाउने २०औं खेलाडी हुन्।

योसँगै अविनाश घरेलु मैदानमा ओडीआईमा डेब्यु गर्ने पहिलो खेलाडी बनेका छन्।

गतवर्ष यूएईसँगको टी–ट्वान्टी शृंखलाबाट नेपाली क्रिकेटमा डेब्यु गरेका अविनाशले हालसम्म नेपालबाट १७ टी–ट्वान्टी अन्तर्राष्ट्रिय र १ लिस्ट–ए खेल खेलेका छन्।

उनले गत नोभेम्बरमा बंगलादेशमा भएको इमर्जिङ एक दिवसीय एसिया कपमा हङकङविरुद्ध लिस्ट–ए मा डेब्यु गरेका थिए।

त्यस्तै बायाँ हाते युवा स्पिनर सुशन भारीले पनि एक दिवसीयमा डेब्यु गर्दै नेपालको २१औं ओडीआई क्याप लगाएका हुन्। भारीले नेपालबाट ६ वटा टी–ट्वान्टी अन्तर्राष्ट्रिय र ४ लिस्ट–ए खेल खेलिसकेका छन्।

नियमित अनुभवी स्पिनर वसन्त यसपटक टोलीमा नहुँदा सुशनले मौका पाएका हुन्। सुशनले सन् २०१७ को अक्टोबरमा हङकङविरुद्ध अन्तर्राष्ट्रिय खेलको डेब्यु गरेका थिए।

डेब्युमै कुशलको कीर्तिमान
बायाँ हाते युवा अलराउन्डर कुशल मल्लले आईसीसी विश्वकप लिग २ त्रिकोणात्मक शृंखलाअन्तर्गत माघ २५ गते अमेरिकासँगको खेलमा डेब्यु गरेका हुन्। कुशल नेपालबाट एक दिवसीय खेल्ने २२औं खेलाडी हुन्।

कुशललाई नेपालका प्रशिक्षक जगत टमाटाले डेब्यु क्याप दिएका थिए। आईसीसी विश्वकप लिग–२ त्रिकोणात्मक शृंखलाअन्तर्गत दोस्रो खेलमा अमेरिकासँग डेब्यु गर्दै अर्धशतकीय इनिङ खेलेपछि सबैभन्दा कम उमेरमा अर्धशतक पूरा गर्ने उनी विश्वकै पहिलो खेलाडी बनेका हुन्।

यो रेकर्ड कायम गर्दा कुशलको उमेर १५ वर्ष ३ सय ४० दिन थियो। ४९ बलमा कुशलले ३ छक्का र ४ चौका प्रहार गर्दै ५० रनको कीर्तिमान कायम गरे।

यसअघि गतवर्ष रोहित कुमार पौडेलले यूएईसँग दोस्रो एकदिवसीय खेलमा अर्धशतक प्रहार गर्दै भारतीय क्रिकेटका पूर्वकप्तान सचिन तेन्दुलकरले बनाएको रेकर्ड तोडेका थिए।
रोहितले उक्त खेलमा ५८ बलमा ५५ रन जोडेका थिए। जुन एकदिवसीय क्रिकेटमा सबैभन्दा कान्छो उमेरमा अर्धशतक पुरा गर्ने कीर्तिमान रचेका थिए।

सो अर्धशतक प्रहार गरेको दिन रोहित १६ वर्ष १ सय ४६ दिनका थिए। यसअघि सचिनले टेस्टमा १६ वर्ष २ सय १३ दिन र त्यसअघि पाकिस्तानका सहिद अफ्रिदीले १६ वर्ष २ सय १७ दिनको हुँदा अर्धशतक प्रहार गरेका थिए। नेपाली खेलाडी रोहितको कीर्तिमान एक वर्षभित्रै अर्का कान्छा क्रिकेटरले तोडेका छन्।

Sandeep Lamichhaneएक्सनमा सन्दीप लामिछाने

एकै खेलमा ६ विकेट
अमेरिकासँगको दोश्रो खेलमा लेग स्पिनर सन्दीप लामिछानेले एकै खेलमा ६ विकेट लिँदै नेपालबाट एउटै एक दिवसीय शृंखलामा सर्वाधिक विकेट लिने खेलाडी बनेका छन्।

ओमानसँगको खेलमा सन्दीपले ६ ओभर बलिङ गर्दै १ मेडनसहित ६ विकेट लिए। बुधबारको खेलमा म्यान अफ दि म्याच समेत बनेका सन्दीपले यसअघि अमेरिकासँगकै खेलमा २ विकेट लिएका थिए।

समग्रमा उनले त्रिकोणात्मक शृंखलामा ८ विकेट लिएका छन्। अमेरिकासँगको पहिलो खेलमा सन्दीपले आफ्नो स्पेलमा २ मेडनसहित २७ रन खर्चेर २ विकेट लिएका थिए।

यसअघि एकै शृंखलामा सर्वाधिक विकेट लिने कीर्तिमान सोमपाल कामीको नाममा थियो। सोमपालले गत वर्ष यूएईसँगको तीन एक दिवसीय शृंखलामा २१.३ ओभर बलिङ गर्दै ४ मेडन सहित १ सय १४ रन खर्चेर कुल ७ विकेट लिएका थिए।

अमेरिकासँगकै पहिलो खेलमा तीब्र गतिका बलर करण केसीले ७.१ ओभरमा १ मेडन राख्दै १५ रन खर्चेर ४ विकेट लिदै म्यान ‘अफ द म्याच’ बने। पहिलो खेलमा करणले ओमानविरुद्ध ९ ओभरमा ४७ रन खर्चेर ४ विकेट लिएका थिए। जारी शृंखलामा करण केसी र सन्दीप लामिछानेले समान ८ विकेट लिए।

सुसान भारीले ३ ओभरमा १ मेडनसहित ५ रन खर्चेर ४ विकेट लिए। यसअघि ओमानसँगको खेलमा उनले १ विकेट लिएका थिए।

Sharad Bheswakarशरद भेषावकर

शरदको अर्धशतक
भरपर्दा ब्याट्सम्यान शरद भेषावकरले आईसीसी विश्वकप लिग २ त्रिकोणात्मक शृंखलाअन्तर्गत ओमानविरुद्ध अर्धशतक पुरा गरे। शरदले ९६ बलमा अर्धशतक पुरा गरेका हुन्।

योसँगै शरद घरेलु मैदानमैं एक दिवसीयमा अर्धशतक पुरा गर्ने पहिलो ब्याट्सम्यान बनेका छन्। यसअघि नेपालबाट एक दिवसीयमा ज्ञानेन्द्र मल्ल, पारस खड्का, सोमपाल कामी, रोहित कुमार पौडेल र सुवास खकुरेलले अर्ध शतक प्रहार गरेका थिए।

ज्ञानेन्द्रको अर्धशतक
राष्ट्रिय टोलीका कप्तान ज्ञानेन्द्र मल्लले आईसीसी विश्वकप लिग २ त्रिकोणात्मक शृंखलाअन्तर्गत तेस्रो खेलमा अर्धशतक प्रहार गरे।

ओमानविरुद्धको खेलमा ज्ञानेन्द्रले ७० बलमा आफ्नो दोस्रो एक दिवसीय अर्धशतक पुरा गरेका हुन्। २५ ओभरको चौथो बलमा मोहम्मद नदीमलाई चौका प्रहार गर्दै ज्ञानेन्द्रले अर्धशतक पुरा गरेका थिए।

यसअघि ज्ञानेन्द्रले २०१८ अगष्ट १ मा नेदरल्यान्डसँगको पहिलो एक दिवसीय डेब्यु खेलमा ५१ रन जोडेका थिए।

Binod Bhandariविनाेद भण्डारी

विनोदको अर्धशतक
विकेटकिपर विनोद भण्डारीले आईसीसी विश्वकप लिग २ त्रिकोणात्मक शृंखलाअन्तर्गत अमेरिका विरुद्धको खेलमा अर्धशतक पुरा गरे। विनोदले ६२ बलमा अर्धशतक पुरा गर्दै आफ्नो एक दिवसीय करिअरको पहिलो अर्धशतक पुरा गरेका हुन्।

अविजित ओमान
त्रिकोणात्मक शृंखलामा ओमानले ४ वटै खेल जित्दै शतप्रतिशत नतिजा हासिल गर्‍यो। ओमानले नेपाललाई पहिलो खेलमा १८ रनले तथा दोस्रो खेलमा ८ विकेटले पराजित गरेको थियो भने अमेरिकालाई पहिलो खेलमा ६ विकेटले तथा दोस्रो खेलमा ९२ रनले पाखा लगाएको थियो।

नेपालसँगको अन्तिम खेलमा ओमानले तेस्रो विकेटका लागि उपकप्तान अकीब इलियास र कप्तान जिशान मकसुदले १ सय ६७ रनको नटआउट शतकीय साझेदारी गरेका थिए।

यो साझेदारी नेपालविरुद्ध एक दिवसीयमा विपक्षी टोलीले बनाएको उच्च हो भने ओमानले एक दिवसीयमा कुनै पनि विकेटका लागि गरेको उच्च साझेदारी।

नेपालले एक दिवसीय मान्यता पाएको २ वर्ष पुग्न लाग्दा १० खेल खेलिसकेको छ। १० खेलमा नेपालविरुद्ध शतक प्रहार गर्ने अकीब पहिलो ब्याट्सम्यान हुन्।

उनले १ सय ८ बलमा १२ चौका र १ छक्कासहित १ सय ९ रनमा अविजित रहेका थिए। यसअघि गतवर्ष यूएईसँगको तेस्रो खेलमा शैमान अनवारले ७० बलमा ९ चौका र २ छक्का सहित ८७ रनको इनिङ खेलेका थिए।

ओमानसँगको ८ विकेटको हार एक दिवसीयमा विकेटका हिसाबले नेपालले भोगेको ठूलो हार हो। नेपालले एक दिवसीयमा १० खेलमध्ये ५ खेल हारेको छ।

जसमा विकेटका हिसाबमा यो ठूलो हार हो। नेपाल नेदरल्यान्ड्ससँग पहिलो खेलमा ५५ रन, यूएईसँग एसिया कपमा ७८ रन, यूएईसँगको तीन शृंखलाअन्तर्गत पहिलो खेलमा ३ विकेटले पराजित भएको थियो। त्यस्तै त्रिकोणात्मक सिरिजमा नेपाल गत बुधबार ओमानसँग १८ रनले पराजित भएको थियो।

ओमानसँगको दोस्रो खेलमा गत आइतबार टस हारेर ब्याटिङ गरेको नेपालले निर्धारित ५० ओभरमा ८ विकेट गुमाउँदै २ सय ४९ रन बनाएको थियो, जुन नेपालले एक दिवसीयमा विपक्षलाई दिएको सर्वाधिक ठूलो लक्ष्य हो।

नेपालले गतवर्ष यूएईलाई दोस्रो खेलमा २ सय ४३ रनको लक्ष्य दिएको थियो। लक्ष्य पक्ष्याउने क्रममा युएई ९७ रनमा अल आउट भएपछि नेपाल १ सय ४५ रनको फराकिलो जित हात पारेको थियो।

कुशल र विनोदको साझेदारी
गत शनिबार अमेरिकासँगको खेलमा छैटौं विकेटका लागि कुशल मल्ल र विनोद भण्डारीले ८४ रनको महत्वपूर्ण साझेदारी गरे। जुन नेपालले एक दिवसीयमा गरेको कुनै पनि विकेटका लागि उच्च साझेदारी हो। यसअघि नेपालको एक दिवसीयमा उच्च साझेदारी ८२ रन थियो।

गतवर्ष यूएईसँगको दोस्रो एक दिवसीय खेलमा आरिफ शेख र रोहित कुमार पौडेलले छैटौं विकेटका लागि ८२ रनको साझेदारी गरेका थिए।

अम्पायर सुवेदीको एक दिवसीयमा डेब्यु
घरेलु मैदानमा भएको एकदिवसीय अन्तराष्ट्रिय क्रिकेटमा अम्पायर दुर्गानाथ सुवेदीले डेब्यु गरेका छन्। कीर्तिपुरस्थित त्रिवि मैदानमा बिहीबार ओमान र अमेरिकाबीचको खेल खेलाउँदै सुवेदीले एक दिवसीयमा डेब्यु गरेका हुन्।

एक दिवसीय खेलाउने उनी दोस्रो नेपाली अम्पायर हुन् भने पहिलो नेपाली अम्पायर हुन् बुद्धिबहादुर प्रधान।

सुवेदीले यसअघि विभिन्न एसोसिएट राष्ट्र सम्मिलित लिस्ट ए र टि–२० प्रतियोगितामा अम्पायरिङ गरिसकेका छन्। सुवेदीले सन् २००६ देखि अन्तराष्ट्रिय क्रिकेटमा अम्पायरिङ गर्दै आएका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .