वीर गणेशमान सिंह राष्ट्रिय टी २० च्याम्पियनसिप अन्तर्गत मंगलबारको दोस्रो खेलमा मधेश प्रदेशले जित निकालेको छ।
मधेस प्रदेशसँग २ विकेटले पराजित भएको कोसी प्रदेश अंक तालिकाको पुछारमा छ। ५ खेलबाट ६ अंक बनाएको मधेस प्रदेस भने अंक तालिकको तेस्रो स्थानमा छ।
कोसी प्रदेसले दिएको ९१ रनको झिनो लक्ष्य मधेस प्रदेसले १७ बल अगावै ८ विकेट गुमाएर भेट्टायो।
कोसीका लागि सर्वन यादवले एकै ओभरमा ह्याट्रिकसहित ४ विकेट लिए। सवर्नले पाचौँ ओभरको दोस्रो बलमा मयन यादवलाई आउट गरे। लगत्तै तेस्रो बलमा राहुल मण्डल र चौथो बलमा अरनिको यादवलाई आउट गर्दै ह्याट्रिक विकेट लिए।
सर्वनले सोही ओभरको अन्तिम बलमा विशाल सुश्लिंगलाई पभेलियन तर्फको बाटो देखाए।
एक समय २३–६ को अवस्थामा रहेको मधेसलाई ओपनर रोहन विक र विशाल पटेलले सातौँ विकेटका लागि ५९ रनको महत्वपूर्ण साझेदारी गर्दै खेलमा फर्काए। रोहन विक ३१ रनमा नटआउट रहे।
मुलपानी क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गरेको कोसीले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर ९० रनको योगफल तयार पारेको थियो।
समिर कार्कीले २८, सर्वन यादवले २७ र सुजन थपलियाले १६ रन बनाए। अन्य ब्याटरले दोहोरो अंकको स्कोर छुन सकेनन्।
मधेसका लागि विशाल पटेल, अविशेक तिवारी, रंजित कुमार र प्रदिप पासवानले समान २ विकेट लिए।
प्रतियोगितामा बुधवार गण्डकी र कर्णाली प्रदेस तथा दोस्रो खेलमा लुम्बिनी र सुदूरपश्चिम प्रदेश खेल्ने तालिका छ।
Shares
प्रतिक्रिया