ad ad

खेल


गणतन्त्र दिवसमा राखेपद्वारा खेलाडी पुरस्कृत

गणतन्त्र दिवसमा राखेपद्वारा खेलाडी पुरस्कृत

नेपालखबर
जेठ १५, २०८१ मंगलबार १५:४९, काठमाडौँ

राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले गणतन्त्र दिवसका अवसरमा ४ खेलका ८ खेलाडीलाई नगदसहित पुरस्कृत गरेको छ।

राखेपले मंगलबार सातदोबाटोस्थित अन्तर्राष्ट्रिय खेलकुद परिसरमा एक कार्यक्रमको आयोजना गर्दै एथलेटिक्स र शारीरिक सुगठनका समान ३, मुवाँथाई र उसुका समान १ खेलाडीलाई प्रोत्साहन पुरस्कार प्रदान गरेको हो।

एथलेटिक्सका सन्तोषी श्रेष्ठ, राजपुरा पछाईं र राममाया बूढा पुरस्कृत भए।

सन्तोषीले बंगलादेशमा भएको ढाका म्याराथनको दक्षिण एसियाली प्रतिस्पर्धामा स्वर्ण पदक तथा राजपुरा र राममायाले नेपालमा भएको १६ औं एसियाली क्रस कन्ट्रीको व्यक्तिगत र टिम स्पर्धामा रजत पदक जितेका थिए।

शारीरिक सुगठनबाट ललित धिमाल, रजनी श्रेष्ठ र समन मुलगुठीलाई पुरस्कृत भए।

ललितले मालदिभ्समा भएको १३ औं दक्षिण एसियाली शारीरिक सुगठनमा स्वर्ण तथा रजनी र समनले नेपालमा भएको ५५ औं एसियाली शारीरिक सुगठन तथा स्पोट्र्स फिजिक च्याम्पियनसिपमा स्वर्ण पदक जितेका थिए।

मुवाँथाईबाट गुणराज रुचाल तथा उसुबाट विजयी सिंजालीले पुरस्कार पाए।

गुणराजले थाइल्यान्डमा भएको १९ औं विश्व मुवाँथाई च्याम्पियनसिपको सेमी प्रो स्पर्धामा स्वर्ण पदक जितेका थिए। विश्व च्याम्पियनसिपको सेमी प्रोमा गुणराजअघि कुनैपनि नेपाली खेलाडीले पदक जित्न सकेका थिएनन्। विजयीले साउदी अरबमा भएको विश्व कम्ब्याट गेम्समा स्वर्ण पदक जितेका थिए।

राखेपले ८ खेलाडीलाई ६ लाख ५० हजार रुपैयाँ नगद पुरस्कार दिएको हो। राजपुरा र राममायाले समान ५५ हजार नगद पुरस्कार पाए। बाँकीलाई समान ९० हजार रुपैयाँ पुरस्कार प्रदान गरेको हो।

खेलाडीलाई राखेपका उपाध्यक्ष शिव कोइराला, सदस्य–सचिव टंकलाल घिसिङ, नेपाल ओलम्पिक कमिटीका महासचिव निलेन्द्रराज श्रेष्ठले पुरस्कृत गरे।

खेलाडी छनोटका लागि राखेपले तालिम तथा प्रशिक्षण विभागका निर्देशक प्रचण्ड शर्माको संयोजकत्वमा नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघका अध्यक्ष दीपक श्रेष्ठ र संघ संस्था समन्वय शाखाका प्रमुख चन्द्रकुमार राई सदस्य रहने गरी तीन सदस्यीय खेलाडी छनोट कार्यदल गठन गरेको थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .